छोसेर प्रहरी चौकी मर्ज

समाधान संवाददाता २०७७ पुष २६ गते १४:३७

एसके थकाली, जोमसोम

अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको १ प्रहरी चौकी जिल्लामा अस्थायी रुपमा मर्ज भएको छ ।

लोमान्थाङ गाउँपालिका ४ छोसेरको प्रहरी चौकीलाई जिल्लामा मर्ज गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

Advertisement

समुन्द्री सतहदेखि ४ हजार २ सय मिटरमा अवस्थित उक्त प्रहरी चौकीमा १० जनाको दरबन्दी छ । तर, त्यहाँ ५ प्रहरीमात्र कार्यरत छन् ।

हिउँद यामसँगै हिमपात हुने, हावाहुरी चल्ने, धारा तथा सेफ्टी ट््याङकी जम्ने र अत्यधिक चिसोले जनजीवन कष्टकर हुने हुँदा त्यहाँ प्रहरीलाई जिप्रकामा ल्याइएको हो । चिसोले मर्ज गरिएको चौकीका सुरक्षाकर्मीलाई बैशाखपछि साबिककै स्थानमा पठाइनेछ ।

Advertisement

उपल्लो मुस्ताङको छोसेर प्रहरी चौकी नेचुङ भन्सार कार्यालयको भवनमा छ । त्यहाँ कार्यरत प्रहरी बसेको भवनको भौतिक संरचना जीर्ण छ ।

सुरक्षाकर्मीलाई जाडो छल्न आवश्यक उपकरण, लत्ताकपडा र अत्यावश्यकीय सामाग्री अभावले सुरक्षाकर्मीलाई बेसी झारिएको जिप्रका मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङमा अवस्थित प्रहरी चौकी छोनुप, सुर्खाङ, चराङ र घमीका सुरक्षाकर्मी बर्सेनि हिउँद याममा जिल्ला प्रहरी कार्यालय जोमसोममा झारिन्थ्यो ।

तर, उपल्लो मुस्ताङको छोनुप, सुर्खाङ र घमी प्रहरी चौकीमा प्रहरी जनशक्तिको अभाव र प्रहरी बस्ने आवास संरचना गतिलो नहुँदा सुरक्षाकर्मी बसेका थिएनन् ।

उपल्लो मुस्ताङमा अधिकांश प्रहरी चौकीको आफ्नै भवन छैन । छोनुप र सुर्खाङमा साविक गाविस भवनका कार्यालयमा प्रहरीलाई राखिएको छ । घमी प्रहरी चौकी भने भाडाको घरमा छ ।

मुस्ताङका ५ स्थानीय तहमा प्रहरीका १९ इकाइ छन् । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा १ चराङको प्रहरी चौकी र लोमान्थाङ गापा ५ को सीमा प्रहरी चौकी भने साविककै स्थानमा छन् ।

चराङ प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहे पनि ५ जना र सीमा प्रहरी चौकी लोमान्थाङमा २४ प्रहरीको दरबन्दी रह ेपनि हाल ८ जनामात्र सुरक्षाकर्मी खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्रहरी नायब उपरीक्षकसहित ३ सय १३ प्रहरीको दरबन्दी रहे पनि हाल १ सय ८२ सुरक्षाकर्मी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया