बोर्डिङ स्कुल भवन पालिकालाई

तत्कालीन जोमसोम गाउँ परिषदको पूर्ण बैैठकको निर्णय अनुसार सार्वजनिक जग्गामा निर्माण भएको स्कुल भवन मुद्दा परेपछि स्थानीय सरकारलाई हस्तान्तरण
एसके थकाली
जोमसोम, २६ पुस
मुस्ताङको जोमसोममा अवस्थित १ निजी विद्यालयले करोडौंको भवनसहितको संरचना स्थानीय तहलाई हस्तान्तरण गरेको छ । लगातार ४ वर्षसम्म अख्तियारको ताकेतामा परेको धौलागिरि आवासीय मावि जोमसोमले संरचना हस्तान्तरण गरेको घरपझोङका शिक्षा अधिकृत हिमलाल शर्माले जानकारी दिए ।
यसअघि विद्यालय व्यवस्थापन समिति, विद्यालयका सेयर सदस्य तथा विद्यालयको गत साउन १६ गते बसेको बैठकबाट भौतिक संरचना हस्तान्तरण गर्ने सहमत भएको थियो । भौतिक संरचना गाउँ कार्यपालिकाले जिम्मा लिइसकेको छ । हस्तान्तरण गरेको भौतिक संरचना लिजमा लिएर विद्यालय सञ्चालन गरिने भएको छ ।
धौलागिरि आवासीय मावि व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर थकालीले सार्वजनिक जग्गा अतिक्रमण गर्ने मनसाय नभएको र तत्तकालीन समयमा सबैको साथ, सहयोग र आत्मविश्वासले ठूलो रकम खर्चिएर संरचना निर्माण गरेको बताए ।
विद्यालय रहेको जग्गा सबै प्रक्रिया र मापदण्ड पूरा नहुँदासम्म स्थानीय तहले भाडामा दिने कार्यपालिका बैठकले निर्णय गरेको छ । २८ वर्ष पुरानो माध्यमिक तहको १ मात्र जोमसोम स्थित धौलागिरि आवासीय माविमा ४ सय ३ विद्यार्थी छन् ।
धौलागिरि स्कुल २०४९ साल फागुन १७ गते स्थापना भएको हो । तत्कालीन जोमसोम गाउँ परिषदको पूर्ण बैैठकले जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र उत्तर, पूर्वको खाली जमिन उपयोग गरी विद्यालयलाई भौतिक संरचना निर्माण गर्न अनुमति दिएको थियो । विद्यालयले २०७० मा त्यहाँ २ तले २८ कोठे भवन बनाएको थियो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी विद्यालयले भौतिक संरचना निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी प¥यो । भौतिक संरचना निर्माण भएको ३ वर्षपछि अख्तियारमा मुद्धा परेको थियो । विद्यालय रहेको जग्गा ३ महिनाभित्र खाली गराउन २०७३ साल वैशाख २७ गते अख्तियारले जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई पत्राचार गरेको थियो ।
अख्यिारको पहिलो अल्टिमेट र जिल्ला प्रशासन कार्यालय विरुद्ध विद्यालयले जिल्ला अदालत मुस्ताङमा रिट दायर गर्यो । अदालतले २०७३ साउन २७ गते विद्यालयलाई कारवाही प्रक्रिया अघि नबढाउन आदेश गर्यो । २०७५ पुस २० गते जिल्ला अदालत मुस्ताङले रिटको अन्तिम फैसला सुनायो ।
फैसलापछि विद्यालय झन् तनाव पर्यो । संरचना हटाएर जग्गा खाली गर्न अख्तियारको परिपत्रको निरन्तरता रोकिएन । पछिल्लो पल्ट अख्तियारले पुस १३ गते विद्यालय खाली गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई पत्र पठाएको थियो ।
घरपझोङ गाउँपालिकालाई हस्तान्तरण भएको विद्यालयको भौतिक संरचना ।
तस्बिर ः एसके थकाली
तपाईको प्रतिक्रिया