प्रदेश सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

समाधान संवाददाता २०७७ पुष २६ गते २१:२८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभामा आइतबार बजेट कार्यान्वयनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसकी सांसद ललितकला गुरुङले प्रस्ताव दर्ता गराएकी हुन् । प्रस्तावको समर्थक कांग्रेसकै मेखलाल श्रेष्ठ र जनता समाजवादी पार्टीकी धनमाया लामा पोखरेल छन् ।

अहिले प्रदेशसभाको विशेष अधिवेशन चलिरहेको छ । अधिवेशनमा सत्ता र प्रतिपक्षबीच जरुरी सार्वजनिक महत्वका संकल्प प्रस्ताव ल्याउने सहमति भएको थियो ।

Advertisement

सहमति अनुसारै आइतबार बजेट कार्यान्वयनसम्बन्धी प्रस्ताव आएको हो । सोमबार भने रोजगारीसम्बन्धी प्रस्ताव आउनेछ । त्यसपछि कोभिड १९ नियन्त्रण र रोकथाम एवं उपचारसम्बन्धी संकल्प प्रस्ताव ल्याउने सहमति छ ।

सभामा आइतबार नेकपाका सांसदहरु मायानाथ अधिकारी, धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, आशा कोइराला, दीपक कोइराला, चन्द्रबहादुर बुढा, राजीव पहारी लगायतले जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा भाग लिए ।

Advertisement

प्रस्तावक ललितकला गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको भनाइ राखेकी थिइन् । ‘बजेट कार्यान्वयन नहुनुमा कोरोनालाई कारण देखाइए पनि त्यो अर्धसत्य हो,’ उनले भनिन् ।

प्रस्तावको समर्थन गर्दै अर्का सांसद मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारलाई नीतिगत, नैतिक हरेक विषयमा समर्थन गर्दै आएको सुनाए ।

हालसम्म सडक, पुल, झोलुंगे पुल, सहरी विकासमा जम्मा १४ प्रतिशत काम भएको उनले बताए । अर्का सदस्य धनमाया पोखरेलले बजेट पास भएको सातौँ महिनामा आइपुग्दा कार्यान्वयको अवस्था कमजोर भएको औंल्याइन् ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले कोरोना महामारी सामना गर्दै सरकार विकास, निर्माणमा अघि बढेको विचार राखे । अर्का सदस्य आशा कोइरालाले बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक भए पनि कोरोना र बाढी, पहिरोलगायत कारणबाट कतिपय योजना प्रभावित भएको बताइन् ।

नेकपा सांसद धनञ्जय दवाडीले ध्वंसको आँखाले निर्माण देख्न नसकिने तर्क गरे । उनले अस्पताल, सडक लगायत पूर्वाधार प्रदेश सरकारले बनाइरहेको बताए ।

प्रदेश सरकार भर्खर गठन भएकोतर्फ इंगित गर्दै उनले भने, ‘३ वर्षको बच्चालाई ३० किलोको भारी बोकाएर ३० किलोमिटर हिँड भनेर हुँदैन ।’

बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले लक्षित योजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको सुनाए । आर्थिक वर्षको बाँकी अवधिमा लक्षित कार्यक्रम सम्पन्न हुने उनले प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया