१५ महिनामा गण्डकीका ६ सय पसल अनुगमन

समाधान संवाददाता २०७७ पुष २८ गते १७:२३

अनुप पौडेल, पोखरा

गण्डकी सरकार मातहतको प्रदेश बजार अनुगमन टोलीले ६ सय ९ पसल तथा फर्ममा अनुगमन गरेको छ ।

गत वर्ष असोजमा प्रदेश बजार अनुगमन नियमावली २०७६ प्रदेश राजपत्रमा प्रकाशित भएपछि काम थालेको टोलीले त्यसयता ६ सय ९ पसल तथा फर्ममा अनुगमन गरेको हो । नियमावली बनेपछिको १५ महिनामा आफूहरु ७९ दिन अनुगमनमा निस्किएको बजार अनुगमन टोली संयोजक नारायण आचार्यले जानकारी दिए ।

Advertisement

आचार्य निर्देशक रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले २३ दिनमा ७८ पसल अनुगमन गरेको छ । सोमबार आयोजित उपभोक्ता जागरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक आचार्यले जिल्ला बजार अनुगमन समितिसहितको तथ्यांक सार्वजनिक गरेका हुन् ।

सबैभन्दा धेरै बागलुङमा १ सय २० पसलमा अनुगमन गरिएको छ । गोरखामा १ सय १०, लमजुङमा ८५, पर्वतमा ७२, स्याङ्जा र म्याग्दीमा ३६÷३६, तनहुँमा ३१, नवलपुरमा २३, मुस्ताङमा १८ पसलमा अनुगमन गरिएको निर्देशक आचार्यले जानकारी दिए । मनाङमा भने समिति नभएकाले अनुगमन भएको छैन । कास्कीमा निर्देशनालयको टिम नै अनुगमनमा निस्किने गरेको छ ।

Advertisement

निर्देशक आचार्यले अनुगमनको प्रभावकारितामा कुनै शंका नरहेको दाबी गरे । पछिल्लो १५ महिनामा पानी, मासु र प्याजको मूल्य घटाउन आफूहरु सफल भएको उनले बताए ।

साथै लकडाउनको बेलामा पोखराको एउटा निजी अस्पतालले इन्डोस्कोपीको मूल्य मनपरी गरेकोमा आफूहरुले त्यसलाई नियन्त्रण गरेको निर्देशक आचार्यले बताए । ‘अस्पतालले ५ हजार लिइरहेको थियो । अरु अस्पतालकै जति हुनुपर्छ भनेर अस्पताल व्यवस्थापनसँग छलफल गरेर २ हजार कायम गर्न सफल भयौं,’ उनले भने ।

दसैंमा प्याजको मूल्य डेढ सयसम्म लिएको थाहा पाएपछि अनुगमन टोली पोखराका प्याज गोदाम र तरकारी बजार पुगेको थियो । त्यसपछि समितिले पोखरामा प्याज ७० रुपैयाँभन्दा बढीमा बेच्न नपाइने गरी कडाइ गरेको थियो ।

बोतलको पानी र जारको पानीको मूल्य घटाउन पनि बजार अनुगमन समिति सफल भएको थियो । टोलीले पानी उद्योगीसँग जारको पानी ५० रुपैयाँ र बोतलको १६ रुपैयाँ कायम गर्ने सम्झौता गरेको थियो । ‘उहाँहरुसँग भएको सम्झौता हामीसँग छ । पानीको मूल्यबारे गुनासो सुनिन थालेको छ । हामी फेरि अनुगमनमा जान्छौं,’ निर्देशक आचार्यले भने ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ता सचेत भएमात्रै बनेका कानुनको अर्थ हुने बताए । ‘आफ्नो अधिकारबारे उपभोक्ता आफैं सचेत हुनुपर्छ । आफूलाई ठगेको पाए, गुणस्तर नभएको वस्तु बिक्रीमा राखेको देखे प्रहरी वा अनुगमन गर्ने निकायलाई खबर गर्नुपर्छ,’ उनले भने ।

पोखराका ५ वटा वडा (वडा नम्बर १ देखि ५ सम्म) का प्रतिनिधि उपभोक्तासँग सोमबार निर्देशनालयले उपभोक्ताको अधिकार, विक्रेताले पालना गर्नुपर्ने नियमबारे जानकारी गराइएको थियो । कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय पोखरा प्रमुख तिलक केसी र खाद्य तथा गुणस्तर डिभिजन कार्यालय प्रमुख शिवजी बरालले आआफ्नो कार्यालयसँग सम्बन्धी प्रस्तुति राखेका थिए ।

तपाईको प्रतिक्रिया