हिउँचितुवाले मार्यो भेडा, च्यांग्रा

समाधान संवाददाता २०७७ पुष २९ गते ११:३९

एसके थकाली, जोमसोम

पछिल्लो समय हिउँचितुवा आंतकले मुस्ताङका किसान पीडित भएका छन् ।

राति हिउँचितुवा खोरमै पसेर भेडा, च्यांग्रा मार्न थालेको छ ।

Advertisement

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको संरक्षित क्षेत्र अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा २ दिनमा हिउँचितुवाले ५ भेडा, च्याङ्ग्रा मारेको छ ।

गत शनिबार सुमन तामाङका ३ र सोमबार र्इंन्द्रबहादुर रसाईलीका २ भेडा, च्यांग्रा हिउँचितुवाले मारेको स्थानीय भीमबहादुर रसाइलीले जानकारी दिए ।

Advertisement

मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्रको निलगिरि हिमालको आधार शिविर आसपास हिउँचितुवाको मुख्य बासस्थान हो ।

गत असारमा मुस्ताङको घरपझोङ ५ ठिनी गाउँमा दर्जनौं भेडा, च्यांग्रा हिउँचितुवाले खोरभित्रै पसेर मारेको थियो ।

स्थानीय च्याङबहादुर थकालीका अनुसार त्यस बेला उनका ११, भीमकुमार थकालीका ८ वटा र पलडिसी थकालीका ५ पशु हिउँचितुवाले मारेको थियो । दलित समुदायका ६ वटा र जमुना थापामगरका २ भेडा, च्यांग्रा पनि हिमचितुवाको आक्रमणमा परेका थिए ।

हिउँचितुवाले दिनहुँ पशु मार्न थालेपछि स्थानीय आंतकित बनेको स्थानीय ईन्द्रबहादुर बताउँछन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्र तथा स्थानीय तहले यसलाई रोक्न आवश्यक प्रबन्ध गर्नुपर्ने माग गरे ।

यहाँका किसानले पशुको क्षति अनुसार क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

मुस्ताङको मुख्य आम्दानी र जीविकोपार्जनको स्रोत पशुपालन हो । यहाँका ५ वटै स्थानीय तहमा पशुपालन हुन्छ । जिल्लाका ४० प्रतिशत बासिन्दाले ५० देखि ५ सय पशु पालेका छन् ।

बर्सेनि हिउँदको हिमपात र अत्यधिक चिसो बढेपछि हिउँचितुवा बस्ती नजिक झर्ने गरेको छ । तापक्रम बढेपछि हिउँचितुवा उकालो लाग्छन् । हिउँचितुवाले बासस्थान सरेझैं पशुपालक किसानले पनि जाडोमा चौपाया बस्तीमा र गर्मी बढेपछि लेकको गोठमा लैजान्छन् ।

हिउँचितुवाले पटक पटक आक्रमण गरी स्थानीयलाई दुःख दिदा मानव र हिउँचितुवाबीच द्वन्द्व बढेको हो । हिउँचितुवाले याकचौरी समेत मार्ने गरेको छ । यो समस्याको दीर्घकालीन समाधान गर्न एक्यापले वैज्ञानिक उपाय अवलम्वन गर्नुपर्ने स्थानीयको माग छ ।

मुस्ताङको अन्नपूर्ण क्षेत्रको घरपझोङ ५ र १ को लेकमा विज्ञहरुले ४ वटा हिउँचितुवा रहेको जनाएका छन् । यो तथ्यांक २०७० तिरको हो । अहिले हिउँचितुवाको संख्या दोब्बर भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

तपाईको प्रतिक्रिया