पोखराबाट उदाएको रेडियो संस्था ‘बान’

समाधान संवाददाता २०७७ माघ २ गते १४:३८

रमेश पौडेल

एफएम रेडियोका बारेमा जान्नु पूर्व हामी सबैले रेडियो विकासको इतिहास जान्नु आवश्यक हुन्छ । सन् १८६० को दशकमा स्कटल्यान्डका वैज्ञानिक जेम्स् सी म्यास्वेलले रेडियो प्रसारणको आविष्कार गरको इतिहास पढ्न पाइन्छ ।

वायुमण्डलमा रेडियो तरंग हुन्छ भन्ने सिद्धान्त पत्ता लागेपछि जर्मन वैज्ञानिक हेनेरिकल हर्जले थप अनुसन्धान गरी रेडियोको फ्रिक्वेन्सी पत्ता लगाई यसै सिद्धान्तलाई लिएर इटालीका वैज्ञानिक जी मार्काेनीले सन् १८९५ मा तार प्रयोग नगरी रेडियो तरंगको माध्यमबाट सन्देश प्रसारण गर्ने कार्यले ऐतिहासिक सफलता प्राप्त गरेपछि रेडियोका आविष्कारकका रुपमा समेत मार्काेनी स्थापित भए ।

Advertisement

प्रथम विश्वयुद्धका समयमा रेडियो सूचनाको संवाहक बन्न सफल भएकाले यसको व्यापकता झनै बढेको देखिन्छ ।

छापा पत्रकारिताको लामो र प्रभावकारी इतिहास हँुदाहुँदै पनि रेडियो पत्रकारिताले यसपछिका दिनमा आफूलाई स्थापित गर्दै आयो । सन् १९१२ मा आन्ध्र महासागरमा डुब्न लागेको टाइटेनिक जहाजका बारेमा जानकारी दिन मात्र नभई सन् १९६९ मा निल आर्मस्टङले चन्द्रमामा टेकेको जानकारी दिन पनि रेडियोको प्रयोग गरियो ।

Advertisement

त्यस कारण रेडियोको महत्त्व निकै प्रभावकारी बन्यो । त्यस्तै सोभियत संघ र संयुक्त राज्य अमेरिकाको शीतयुद्ध भएको समयमा रेडियोले छाडेको प्रभाव अविश्मरणीय छ ।

यसले गर्दा युद्ध कालमा पनि रेडियोको लोकप्रिय निकै बढेको तथ्य हाम्रा सामु छँदै छ । नेपालमा पनि ओवादीको जनयुद्धको समयमा माओवादीले यसलाई युद्ध सामग्रीका रुपमा अर्थात् युद्धको सूचना दिने सञ्चार माध्यमको रुपमा प्रयोग गरे ।

नेपालमा स्वतन्त्र रेडियोको विकासको कुरा गर्ने हो भने दक्षिण एसियामै उत्कृष्ट रुपमा लिन सकिन्छ ।

नेपालमा विसं २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै नेपाली कांग्रेसका केही योद्धाहरुले २००७ साल चैत २० गते ‘प्रजातन्त्र नेपाल रेडियो’ को उद्घोष गरेका थिए । २०१७ सालको राजनैतिक परिवर्तनपछि रेडियोले थप इतिहास रचेको थियो ।

नेपालमा प्रजातान्त्रिक संविधानको स्थापना पछि सञ्चार क्षेत्रमा निकै क्रान्ति आयो । रेडियोको विकासक्रम हेर्ने हो भने २००७ देखि २०५४ सालसम्म रेडियो नेपाल एउटा मात्र थियो ।

२०५४ साल जेठ ९ गते रेडियो सगरमाथा प्रसारणमा आएपछि रेडियो नेपालको एकाधिकार तोडियो । एफएमको विकास सन् १९१० मा अमेरीकी प्राध्यापक एडविन होवार्ड आर्मस्ट्रङले गरे पनि नेपालमा यसको आरभ्म निकै ढिलो हुन पुग्यो ।

यसकै कारण व्यवसायिक प्रसारणमा व्यापकता आउन सकेन । त्यसपछिका दिनमा निजी क्षेत्रले एफएम सञ्चालनको अनुमति लिन थाले ।

निजी क्षेत्रबाट संचालन हुन थालेपछि व्यावसायिक हकहित र दक्षताका लागि व्यावसायिक एफएम स्टेसनको स्थापना पोखराबाटै सुरु भयो । एफएमको तुलनामा अन्य ब्यान्डहरु महँगो भएकाले पनि यसको लोकप्रियता बढ्दै गयो ।

अहिले सर्ट वेभ, मिडियम वेभ र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरु प्रयोगमा छन् । एफएम निकै सहज र गुणस्तरीय हुने हुँदा यसको प्रभाव बढ्दै गएको मान्न सकिन्छ ।

साठीको दशकमा पोखरामा खुलेका ४ वटा एफएमले ‘एफएम एसोसिएसन अफ नेपाल’ नामकरण गरी सञ्चारगत संस्था खुल्यो । तर त्यो नाममा सबै ब्रोडकास्टिङ सदस्यहरु समेट्न नसकिने भएपछि सो संस्थालाई परिमार्जन गरी शिवलाल मल्लको संयोजकत्वमा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) जन्मियो ।

ब्रोडकास्ट अन्तर्गतका रेडियो तथा टेलिभिजनहरु समेट्ने गरी संस्थाको नामकरण गरिएको थियो । संस्थाको प्रमुख उद्देश्य रेडियोको व्यावसायिक हकहित प्रवद्र्घन र विकास गराउँदै शिक्षा, जागरण र सचेतनाका साथ सूचना र मनोरञ्जनलाई जनस्तरसम्म पु¥याउनु थियो ।

यस्तै उद्देश्य भएको संस्था काठमाडौंमा भरत शाक्यको संयोजकत्वमा उपत्यका प्रसारक संघ पनि जन्मियो । सो समयमा वानको केन्द्रीय कार्यालय पोखरानै रह्यो तर अहिले काठमाडौँमा छ ।

रेडियोको लोकप्रियता बढ्दै गएसँगै बानको संगठन पनि मजबुत हुन थाल्यो । यसरी पोखराबाट स्थापना भएको बान अहिले देशभरि रहेको छ । देशको संरचनाअनुरुप सातै प्रदेशमा बानको संगठन विस्तार भएको छ ।

हाल बानअन्तर्गत झण्डै २ सय ७५ एफएम रेडियोहरु सञ्चालनमा छन् । सरकारी तथ्यांकअनुसार १ हजार बढी एफएम रेडियो दर्ता भए पनि ७ सयभन्दा बढी रेडियो हाल सञ्चालनमा छैनन् ।

आवश्यकताभन्दा पनि राजनीतिक पहुँच, इगो र प्रतिस्पर्धा एवं देखासिकीले रेडियोसहित अन्य सञ्चार माध्यम खुलिरहेका छन् । यसको दिगोपन र स्थायित्वका लागि नीतिगत रुपमा कहीँ कतैबाट पनि सम्बोधन भएको पाइँदैन ।

यस्तै २ सय ५० जति सामुदायिक रेडियो (एकोर्‍याब)मा छन् । २०५७ सालतिरै रघु मैनालीको संयोजकत्वमा सामुदायिक सेवा प्रसारक संघ (एकोर्‍याब) स्थापना भइसकेको थियो ।

मैनालीदेखि लिएर राजेन्द्र दाहाल, भारतदत्त कोइराला, कनकमणि दीक्षित, उपेन्द्र अर्यालजस्ता सञ्चार विज्ञहरुले एफएम रेडियोको लाइसेन्स सहज बनाउनका लागि लोकतान्त्रिक सरकारसँग पनि लडेका थिए ।

सामुदायिक रेडियोका आफ्नै नीति र उद्देश्य थिए भने वानअन्तर्गतका रेडियोहरुको पनि व्यावसायिक पक्ष र सञ्चार जगतको विकास गराउने उद्देश्य थियो ।

सरकारको उचित सञ्ंचार नीति नहुनु, भएका नीतिहरु पनि कार्यान्वयनमा आउन नसक्नु र सरकार परिवर्तनसँगै यसको प्रभाव रेडियोमा पर्नु रेडियो सञ्चालक र रेडियोसँग आबद्ध संचारकर्मीहरुको टाउको दुखाइ बनेको छ । यस्तो विषमतालाई चिर्नु पनि वानको अर्को कार्य हो ।

अहिले जनसंख्या, भूगोल र आवश्यकताअनुसार रेडियोका फ्रिक्वेन्सी वितरण भएका छैनन् । आवश्यकताभन्दा पनि राजनीतिक पहुँच, इगो र प्रतिस्पर्धा एवं देखासिकीले रेडियोसहित अन्य सञ्चार माध्यम खुलिरहेका छन् । यसको दिगोपन र स्थायित्वका लागि नीतिगत रुपमा कहीँ कतैबाट पनि सम्बोधन भएको पाइँदैन ।

निजी क्षेत्रले नाफा मात्र खोज्नु, सरकारले नीति र नियम मात्र हेर्नु, अनुगमन पक्ष फितलो हुनु वानका मुख्य चुनौती हुन् । एकातर्फ अनावश्यक रुपमा मिडिया खुलेका छन् । अर्कोतर्फ यसमा काम गर्ने गुणस्तरीय जनशक्तिको अभाव टड्कारो छ ।

यसै सन्दर्भमा विश्वमा देखिएको कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई प्रभावित पारेकोमा नेपालको सञ्चार माध्यम अछुतो रहने कुरै भएन । यसमा पनि रेडियो, टेलिभिजन र पत्रिकाको आम्दानीको स्रोत ठप्पै भयो । लकडाउनको बेला बन्द भएका झण्डै एक सय रेडियो अहिलेसम्म पनि खुल्न सकेका छैनन् भने पत्रिकाको अवस्था पनि त्यस्तै छ ।

नेपालको विज्ञापन बजार १२ सय करोडभन्दा बढी भएको आकलन छ । अहिले कोभिडका कारण यसमा निकै असर परेको छ ।

सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिमा पनि मिडियालाई समेट्न सकेको छैन । सञ्चार व्यवसायी, सञ्चारकर्मी र स्रोताको हकप्रति सरकारको दृष्टिकोण पुग्न सकेको छैन । एफएम रेडियोमा लाइसेन्स नवीकरणका लागि सरकारले केही छुट गर्‍यो गरे पनि आशातीत होइन ।

८० प्रतिशतभन्दा बढी विज्ञापन पत्रिकामा कटौती भयो भने ७० प्रतिशत रेडियो र ६० प्रतिशत टेलिभिजनमा विज्ञापन कटौती हुनाले सञ्चारमाध्यममा कार्यरत १५ सय बढी सञ्चारकर्मीहरुको जागिर गुमेको छ । नेपालकै कुरा गर्ने हो भने ५ सय बढी सञ्चारकर्मी कोरोनाबाट प्रभावित बने ।

विश्वमा ६०५ जनाभन्दा बढी सञ्चारकर्मीले ज्यान गुमाए भने नेपालमा ५ जनाले ज्यान गुमाउनु पर्‍यो । पोखरामा ३३ जना सञ्चारकर्मी संक्रमित भएर अहिले आफ्नो काममा फर्किसकेका छन् ।

यो विषम अवस्थामा सरकारले हरेक क्षेत्रलाई सम्बोधन गरे पनि सञ्चार क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र सञ्चार क्षेत्रमा काम गर्नेलाई भने सम्बोधन गर्न सकेको छैन ।

सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिमा पनि मिडियालाई समेट्न सकेको छैन । सञ्चार व्यवसायी, सञ्चारकर्मी र स्रोताको हकप्रति सरकारको दृष्टिकोण पुग्न सकेको छैन । एफएम रेडियोमा लाइसेन्स नवीकरणका लागि सरकारले केही छुट गर्‍यो गरे पनि आशातीत होइन ।

अर्कातिर सरकारले बनाएको कानुन र गरेको निर्णय समयमा कार्यान्वयन हुन नसक्दा मिडिया क्षेत्र प्रभावित बनेको छ ।

यसकै कारण कतिपय सन्दर्भमा रेडियोको लाइसेन्स नवीकरण नहुने अवस्था पनि नआएको होइन । सरकारले रक्सी उद्योगलाई उद्योग मानेर विद्युतमा छुट दिन्छ भने मिडियालाई अहिलेसम्म उद्योग मान्न नसक्नु दुर्भाग्य हो ।

मुलुक कोभिडबाट आक्रान्त भएपछि उद्योग व्यवसाय फस्टाउन नसक्दा विज्ञापन बजार स्वतः घटेकाले पनि रेडियोको भविष्य धर्म¥याएको छ । यसतर्फ बानलगायत संस्थाहरु तदारुकताका साथ लाग्नु पर्ने देखिन्छ ।

समग्रमा रेडियो सूचनाको प्रमुख माध्यम हो । जनताको सूचना पाउने मौलिक हकलाई स्थापित गर्न यसले सबैभन्दा बढी भूमिका खेलेको कुरालाई सायदै कसैले नकार्न सक्छ ।

लोकतन्त्रमा सुसूचित हुन पाउने अधिकारलाई रेडियोले सशक्त माध्यमको काम पनि गरेको छ । व्यक्ति, समुदाय र राज्यलाई ठूलो सेवा दिलाउने माध्यम रेडियो बन्न पुगेको छ ।

रेडियो सञ्चालनका अनेकौँ चुनौतीहरुका बिच पनि यसको सान्दर्भिकतालाई भने कम आँक्न सकिँदैन । भनिन्थ्यो, विवेक नै शक्ति हो, ज्ञानमा पनि त्यत्तिकै शक्ति हुन्छ तर अहिले आएर ज्ञानका लागि हामी अध्ययन अवलोकन गर्छौँ भने शक्तिका लागि हामी सूचना खोज्ने गर्छौं ।

खास गरी जनताको शक्तिका रुपमा रेडियोले उल्लेख्य भूमिका खेलेको छ । कतिपय शासकहरुले रेडियोलाई आफ्नो अनुकूल हुने गरी प्रयोग गरे पनि नागरिक शासनका लागि नागरिकले नै रेडियोको प्रयोग गर्ने मौका पाएका हुनाले यसको महत्त्वसँगै लोकप्रियता बढ्दै गएको हो ।

आँखा देख्न सक्ने वा नसक्ने, साक्षर वा निरक्षर, पहुँचवाला वा पहुँचविहीन सबैका लागि रेडियो सर्वसुलभ साधन बनेको छ ।

जस्तोसुकै बन्द, हड्ताल भए तापनि बन्द गरिएको कोठाभित्र पनि रेडियोको आवाजलाई कसैले बन्द गर्न सक्दैन । ध्वनि तरंगको यही विशेषताले गर्दा पनि रेडियो सबै तह र तप्काका जनताको साथी बनेको मानिन्छ ।

बानका निवर्तमान उपाध्यक्ष पौडेल रेडियो बाराहीका कार्यकारी निर्देशक हुन् ।

तपाईको प्रतिक्रिया