लेबी नकाट्न नेकपाको पत्र, मनाङेले फिर्ता मागे

समाधान संवाददाता २०७७ माघ ३ गते ११:५४

अमृत सुवेदी, पोखरा

नेपाल कम्युस्टि पार्टी (नेकपा) नेकपा गण्डकी प्रदेश संसदीय दलले संसद सचिवालयमा अर्को व्यवस्था नभएसम्मका लागि सांसदको पारिश्रमिकबाट लेबी रकम कट्टा गरी पठाउने कामलाई रोक्का गरिदिन पत्र काटेको छ ।

राजनीतिक हिसाबले २ टुक्रा भएपछि प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको आन्तरिक जीवनमा असामान्य अवस्था सिर्जना भएकाले नेकपा सांसदले पाउने पारिश्रमिकबाट लेबी नकाट्न संसद सचिवालयलाई पत्र काटेका हुन् ।

Advertisement

नेकपाले प्रमुख सचेतक, समितिका सभापतिले पाउने ५६ हजार ८ सय ४० र सचेतकले पाउने ५४ हजार ५ सय २० रुपैयाँबाट ७ हजार ५ सय रुपैयाँ लेबी कट्टा गरी सिधै पार्टीको खातामा पठाउने व्यवस्था गरेको थियो ।

पारिश्रमिकबापत प्राप्त गर्ने ५२ हजार २ सयबाट ६ हजार ५ सय रुपैयाँ लेबी पार्टीको खातामा पठाएर बाँकी नेकपा सांसदले बुझ्दै आएका थिए ।
नेकपा विभाजन भएर देशभर सामान्तर कमिटी बनेपछि प्रमुख सचेतक अधिकारीले पुस २४ गते पत्र लेखेर प्रदेश सभा सचिवालयमा लेबी काट्ने काम रोक्का गर्न अनुरोध गरेका थिए ।

Advertisement

नेपाली कांग्रेसका सांसदले पाउने पारिश्रमिकबाट ६ हजार ७ सय ५० रुपैयाँ सिधै पार्टीको खातामा लेबी जम्मा हुन्छ । गण्डकी प्रदेश सभामा सहभागी राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सांसदको भने संसदबाटै सिधै लेबी काट्ने व्यवस्था छैन ।

नेकपामा गएको लेबी फिर्ता दिन मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले माग गरेका छन् । आफू स्वतन्त्र निर्वाचित भएको र संसदमा पनि स्वतन्त्र हैसियतमै रहेकाले संसद सचिवालयबाट नेकपाले लेबी काटेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘म स्वतन्त्र नै हुँ, कुनै पार्टीमा प्रवेश गरेको आधार छैन, समर्थनमात्र हो,’ मनाङले भने, ‘कुनै पार्टीले जबर्जस्ती गरेको रहेछ भने बरु राजीनामा दिन सक्छु ।’ सांसद गुरुङले सचिवालयका सचिव हरिराज पोखरेललाई लेबी काटिएकोबारे आपत्ति जनाउँदै फिर्ता लिने बताएका छन् । पोखरेलले मौखिक जानकारीले नहुने जवाफ दिएका थिए ।

‘मैले सांसदबाट पारिश्रमिक वापत पाएको रकम के÷कसो भयो भनेर बैंकमा हेरिनँ । जुन दिन लेबी काटिएको थाहा पाएँ । मैले आपत्ति जनाएको छु,’ मनाङेले भने, ‘स्वतन्त्र सांसदको लेबी काटेर नेकपालाई दिन मिल्छ ? पार्टीमै नभएको मान्छेबाट गएको लेबी फिर्ता गर्न छिट्टै निवेदन दिन्छु ।’

उनले आफू नेकपाको नभई स्वतन्त्र भएको भन्दै प्रदेश सभाबाट स्वतन्त्र सांसदकै परिचयपत्र लिएका छन् । सांसद मनाङले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचयपत्र बनाएका थिए ।

पोहोर असार १९ गते नेकपा प्रवेश गरेका भनिएका मनाङे प्रदेश सभामा सत्ता पक्षकै लहरमा बस्दै आएका थिए । उनले दुई तिहाई बहुमतका लागि मात्र नेकपालाई समर्थन गरेको बताएका छन् ।

तर, सांसद गुरुङले पाउने पारिश्रमिकबाट नेकपामा लेबी गएको देखिएको छ । संसद सचिवालयको रेकर्डमा राजीवको पारिश्रमिकबाट नेकपालाई १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको भेटिएको छ ।

निर्वाचन आयोगको रेकर्डमा पनि उनी स्वतन्त्र सांसदकै रुपमा रहेको र संसदमा पनि उनी नेकपामा प्रवेश गरेको आधिकारिक जानकारी अझै खुल्न सकेको छैन । संसद सचिवालयमा नेकपाले सांसदको सूची पठाएको भए पनि गुरुङले आधिकारिक प्रवेश गरेको जानकारी नभएको पाइएको छ ।

‘उहाँ सत्ता पक्षकै लहरमा बस्दै आउनुभएको थियो, लेबी पनि काटिएको छ,’ प्रदेश सभा सचिवालयका कानुन उपसचिव राजेन्द्र न्यौपानेले भने, ‘कागजातबारे अध्ययन गर्दै छौं ।’ नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले राजीव सत्ता पक्षकै सांसद भएको दाबी गरे ।

नेपालको दलसम्बन्धी ऐनले कुनै दलको उम्मेवार नभई स्वतन्त्र रुपमा संघीय संसद वा प्रदेश सभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ । तर, आफू नेकपा प्रवेश गरेको कुनै आधार नै नभएको र स्वतन्त्र नै रहेको मनाङेको दाबी छ ।

तपाईको प्रतिक्रिया