बजार अनुगमनमा मन्त्री, व्यापारीलाई भनेः इज्जत राख्दिनुस्

पाँच दिन पहिला संसदमा ‘मानीनयहरुले भनेजस्तो छैन’ भनेर तर्किएका मन्त्री लम्साल आफैं बजार पुगेपछि मूल्य केही बढेको स्वीकारे
अनुप पौडेल, पोखरा
गण्डकी प्रदेशको बजार अनुगमन टोली खाने तेलको मूल्य बुझ्न आइतबार बजार निस्कियो । टोली पोखरा–५ पर्स्याङस्थित नारायणी आयल रिफाइनरी पुग्यो । नारायणी आयल ‘कुन्दन’ खानेतेलको आधिकारिक बिक्रेता हो ।
अनुगमन टोली बिक्रेताको खरिद र बिक्री बिल हेर्दै थियो । अनुगमन भइरहेकै ठाउँमा प्रदेश उद्योगमन्त्री विकास लम्साल आइपुगे । मन्त्री लम्सालले ‘कुन्दन’ तेलका बजार प्रतिनिधि जगत धामीसँग सोधपुछ गरे ।
मन्त्री लम्सालले पहिलो प्रश्न सोधे, ‘मूल्यवृद्धि भएकै हो ?’ प्रतिनिधि धामीले जवाफ फर्काए, ‘हो, तेलको मूल्य बढेकै हो ।’ उनले मन्त्री लम्सालले सोधेको प्रश्न दिने क्रममा १५ वर्षको बजार अनुभव सुनाउँदै अहिले अत्यधिक मूल्य बढेको बताए ।
मन्त्री लम्साल र बिक्रेता धामीबीचको प्रश्नोत्तर
मन्त्री लम्सालः अहिले मिडिया र संसदमा धेरै कुरा उठ्यो । मूल्यवृद्धि भएकै हो ?
धामीः मूल्यवृद्धि तेलमा भएकै हो । हाम्रो डिपोमा तेल नआएको २८ दिन भइसक्यो । १५/१६ सय रुपैयाँको तेल एकाएक २ हजार पुग्यो ।
मन्त्री लम्सालः त्यत्रो ४० प्रतिशत वृद्धि कसरी हुन्छ ?
धामीः त्यही अच्चम देखियो, पहिलापहिला अन्तर्राष्ट्रिय बजारकै मूल्यमा तलमाथि हुने हो । तर १४ वर्षको जागिरमा यतिचाहिँ बढेको थिएन । ५ रुपैयाँ लिटर, १० रुपैयाँ लिटर हुन्थ्यो । कहिलेकाहीँ कार्टुनमा १ सय रुपैयाँ हुन्थ्यो । तर अहिलेको मूल्य अत्यधिक धेरै हो ।
मन्त्री लम्सालः भनेपछि अहिले तेल छैन ?
धामीः२८ दिन भयो । १/२ दिनमा आउँछ भनेछन् ।
मन्त्री लम्सालः उपभोक्ताले गुनासो किन गरे ?
धामीः डिपोहरुमा सामान आएन, ठूलो व्यापारीहरुले सिधै झारे । झार्दाखेरी आफूलाई परेअनुसार उनीहरुले लिए । ठूला व्यापारीको भनाइअनुसार १९ सय ५० देखि २ हजार परेको छ भन्छन् ।
इज्जत राख्दिनुस्ः मन्त्री लम्साल
अनुगमनमा हिँडेका मन्त्री लम्सालले कारबाही गर्नुपर्ने अवस्था सिर्जना नगर्न व्यापारीलाई आग्रह गरे ।
‘व्यापारीहरु नाफाका लागि मात्र काम गर्दैनन्, सेवा पनि गरेका छन् । संसार एउटा संकटमा परेकाबेला नाफा चाहिएको छैन भन्नुभएको छ भनेर सदनमा भनेको छु,’ उनले थपे, ‘कहीँ समस्या भए कारबाही गर्छु भनेको छु, तपाईंले हाम्रो इज्जत राख्दिनुप¥यो ।’
व्यापारीहरु नाफाका लागि मात्र काम गर्दैनन्, सेवा पनि गरेका छन् । संसार एउटा संकटमा परेकाबेला नाफा चाहिएको छैन भन्नुभएको छ भनेर सदनमा भनेको छु,’ उनले थपे, ‘कहीँ समस्या भए कारबाही गर्छु भनेको छु, तपाईंले हाम्रो इज्जत राख्दिनुपर्यो ।’
प्याकेटमै अधिकतम बिक्री मूल्य बढेकाले उद्योगीले चलखेल गरेकोतर्फ उनले संकेत गरे । ‘अब कडाइका साथ अनुगमन गरेर यसलाई नियन्त्रण गर्छौं । सरकार सचेत छ,’ मन्त्री लम्सालले भने ।
५ दिन पहिला सांसदले प्रश्न उठाउँदा ‘मानीनयहरुले भनेजस्तो छैन’ भनेर तर्किएका मन्त्री लम्सालले आफैं बजार पुगेपछि मूल्य केही बढेको स्वीकारे । ‘जति बजार र मिडिया हल्ला आएको छ त्यस्तोपाएनौं । खाने तेलमा केही मूल्य फरक रहेको भेटियो,’ उनले भने । भारतमा किसान आन्दोलन चलेकाले त्यसको प्रभाव नेपालमा देखिएको मन्त्री लम्सालले जिकिर गरे ।
१ महिना अघिसम्म प्रतिलिटर १ सय ८० रुपैयाँ रहेको खाने तेल अहिले प्रतिलिटर २ सय ४० रुपैयाँ पुगेको छ । प्रिन्टमै नयाँ मूल्य आएकाले प्रदेश सरकारले यसमा केही गर्न सक्दैन । अनुगमनमा हिँड्ने सरकारी संयन्त्रसँग खरिद र बिक्री बिलको अन्तर हेर्ने, अधिकतम् बिक्री मूल्य (एमआरपी) भन्दा बढी लिएको पाए कारबाही गर्न सक्ने अधिकार छ ।
प्रिन्ट मूल्यमै किन यसरी ह्वात्तै मूल्य बढ्यो भन्ने जवाफ सरकारी संयन्त्रसँग छैन । उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक एवं प्रदेश बजार अनुगमन टोली संयोजक नारायण आचार्यले मंसिरको अन्तिम र अहिलेको बिल हेर्दा तेलको थोक मूल्य नै १४ रुपैयाँ बढेको पाइएको सुनाए ।
बजारमा एक्कासि तेलको मूल्य किन बढ्यो भनेर काठमाडौंस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारण खोज्ने निर्देशक आचार्यले बताए ।
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष एवं अनुगमन टोली सदस्य कपिलनाथ कोइराला प्रदेशभित्र आएर मूल्य नबढेको भए पनि उद्योगबाटै छोटो अवधिमा मूल्य किन बढ्यो भन्नेमा खोजी हुनुपर्ने बताउँछन् । राजनीतिक अस्थिरता सिर्जना हुँदा मूल्यवृद्धि भएकाले त्यसैको प्रभावले मूल्यवृद्धि भएको उनले आशंका व्यक्त गरे ।
तपाईको प्रतिक्रिया