२० केजीको बोरामा १० केजी चामल कसरी ? व्यापारीको जवाफः मुसाले काट्यो

समाधान संवाददाता २०७७ माघ ५ गते १४:१५

अनुप पौडेल, पोखरा

गण्डकी प्रदेश बजार अनुगमन टोली आइतबार पोखराको तीन वटा गोदाममा छिर्‍यो । टोली पोखरा–५ पस्र्याङस्थित आदर्श स्टोर्स, नारायणी आयल रिफाइनरी र पोखरा–८ फिर्केस्थित दुगड ग्रुपको स्वस्तिक, सनफ्लो तेलको गोदाम पुगेको हो ।

खाने तेल, चामल, चिया लगायतमा मूल्यवृद्धि गुनासो बढेपछि टोली अनुगमनमा निस्किएको हो । अनुगमनको क्रममा नारायणी आयल र दुगड ग्रुपको गोदाममा समस्या भेटिएन ।

Advertisement

खाने तेल र चामलको अवस्था बुझ्न गएको टोलीले तीन वटै गोदामको खरिदबिक्री बिल हे¥यो । बिक्रेता आफैंले पहिलाको भन्दा बढी मूल्य तिरेकाले अनुगमन टोलीले केही गरेन ।

आदर्श स्टोर्सले २० केजीको बोरामा १० केजी चामल बिक्रीलाई राखेको पाइयो । किन यसरी राखेको भन्ने प्रश्नमा सञ्चालक विजय यादवले जवाफ दिए, ‘मुसाले बोरा काट्यो ।’ मुसाले बोरा काटेकाले आफूले त्यसलाई सिलाएर बेच्न राखेको सञ्चालक यादवले सुनाए ।

Advertisement

सृष्टि ब्रान्डको चामल त्यहीँ सिलाएर प्याकेजिङ गरेको पाइयाे । अनुगमन टोली संयोजक नारायण आचार्यका अनुसार कानुनतः पसलेहरुसँग प्याकेजिङ गर्ने अधिकार हुँदैन । स्टोर्स पछाडिपट्टिको गोदाम हेरेपछि अर्कै आशंका जन्मियो । भइँभर चामल थियो ।

‘२० केजीको बोरामा १० केजी बेच्दा त उपभोक्ताले पत्याउँदैनन् । कमसल वस्तु प्याक गरेर कमसलपन लुकाउने, ढाँट्ने छल्ने मनासय हो कि भन्ने आशंका छ,’ संयोजक आचार्यले भने ।

व्यापारीलाई बोरा सिलाउने मेसिन देखाउन भनियो । उनले बिग्रिएकाले बनाउन लगेको बताए । टोलीले उनलाई उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा बनाउन लगेको मेसिन लिएर आउन भनेको छ । व्यावहारिक हिसाबले व्यापारीको जवाफ सही भए पनि कानुनी हिसाबले आफैं प्याकेज गर्नु गलत भएको अनुगमन टोली सदस्य कपिलनाथ कोइरालाले बताए ।

स्टोर्सबाट अनुगमन टोलीले उक्त स्टोर्सबाट भ्याट बिल जफत गरेको छ । भ्याट बिल लगातार काट्नुपर्नेमा स्टोर्सले बीचबीचमा काटेको पाइएकाले जफत गरिएको हो । जफत गरिएको बिल आन्तरिक राजस्व कार्यालय पठाइने र उसैले त्यसको कारण खोज्ने अनुगमन टोली संयोजक आचार्यले जानकारी दिए ।

आफूहरुले अब खाद्यान्नबाहेक फलामे रड, गिट्टी र बालुवाको पनि अनुगमन गर्ने उनले बताए । खाने तेल, चामलसहित निर्माण सामग्रीको भाउ नेकपाभित्रको आन्तरिक विवादसँगै उकालो लागेको छ ।

तपाईको प्रतिक्रिया