‘संसदको छलफल इँटामाथि इँटाथपे जस्तो’

समाधान संवाददाता २०७७ माघ ५ गते २०:१९

विशेष अधिवेशनको ६ दिनसम्म दोहोरी मात्र खेलियो, यो सदनको अपमान हो

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेश सभाको चालु विशेष अधिवेशनमा आइतबारबाट संकल्प प्रस्तावमाथि छलफल भइरहेछ ।

Advertisement

सर्वदलीय सहमतिमा पेस भएको साझा संकल्प प्रस्तावमा छलफलमा सहभागी सबै वक्ता सरकारले काम गरेको, नगरेको भन्नेमा मात्र केन्द्रित छन् ।

प्रतिपक्षी दलका सांसदले सरकारले काम नगरेको, पहिला फेल बनाइएको संकल्प प्रस्ताव अहिले पारित हुन लागेको चर्चा गरेका छन् ।

Advertisement

यता सत्तारुढ दलभित्रै पनि एक समूह सरकारले पूरा काम गरेको र अर्को समूह सरकारले काम नगरेको भन्ने तर्क प्रस्तुत गरिरहेका छन् । सबै सांसदको मत एकैथरि छन् । प्रस्तावमाथिको छलफलमा नयाँ कुरा उठ्न सकेका छैनन् ।

‘विशेष अधिवेशनको ६ दिनसम्म यसका महत्वभन्दा पनि दोहोरी खेल्ने ठाउँ जस्तो बनाइयो । यो सदनको मर्म र भावना होइन, यो सदनप्रतिको अपमान हो,’ नेकपा सांसद रामबहादुर गुरुङले सोमबार सदनमा भने । उनले सदनमा एकैथरि तर्क सुनिरहेको भन्दै भने, ‘इँटामाथि इँटा थपे राम्रो हुन्छ कि भन्ने सवालमा छलफल भएको जस्तो मलाई लाग्छ ।’

गुरुङले आफ्नो सम्बोधनको सुरुमै यस्तो बताए पनि उनी पनि सत्तारुढ दलकै समर्थन र विपक्षीको आलोचना गर्न नै लागे । अहिले प्रदेश सरकार र केन्द्र सरकारले कोभिडको विषयमा जगमात्र नभई घर नै बनाएर काम गरिरहेको बताए । सरकारले काम गरिरहे पनि संकल्प प्रस्तावमा भइसकेका काम दोहो¥याइएको सुनाए ।

बर्खे अधिवेशनमा प्रतिपक्षीले ल्याएको संकल्प प्रस्ताव फेल गराएर सत्तारुढ दलले ‘सही’ गरेको उनले उल्लेख गरे । ‘वास्तवमा सरकारले जे ग¥यो, त्यो ठीक ग¥यो । सरकार परिस्थिति अनुसार अघि बढेको थियो,’ उनले भने । सरकारलाई दोष लगाएर केही ठीक नहुने भएकाले आगामी दिनमा दोषारोपण नगर्न उनको आग्रह थियो । ‘यो दोष लगाएर दोहोरी खेल्ने ठाउँ होइन, समस्याका समाधान गर्ने ठाउँ हो,’ उनले सुनाए ।

साझा सहमतिको संकल्प प्रस्तावमा अरु सांसद पनि सरकारको विरोध र समर्थनमै अल्झिएका थिए ।

कांग्रेस सांसद भागवत्प्रकाश मल्लले सरकार अझै पनि सरकारी अस्पतालको सुदृढीकरण गर्न नसकेको बताए । ‘अझै पनि सरकारी अस्पतालमा ज्यान जाने र जोगाउने अझै पनि निश्चित छैन,’ उनले भने ।

मल्लले सरकार अहिले आफ्नो बोली कार्यान्वयन गर्न चुकिरहेको बताए । स्याङ्जामा पहिरोले ज्यान गुमाएकाको परिवारलाई कानुनमन्त्री हरिबहादुर चुमान गएर बसोबासको सुरक्षा एवं अन्य सुविधाका लागि प्रदेशले प्रतिबद्धता दिए पनि अझै पूरा नभएको बताए ।

नेकपा सांसद जूनादेवी नेपालीले गण्डकी प्रदेश सरकारले कुनै पनि भौतिक पूर्वाधारबिना जनता बचाउन सफल भएको बताइन् । वास्तविकता र धरातलमा उभिएर बहस गर्न उनले विपक्षी समूहलाई आग्रह गरिन् ।

प्रदेश सरकारले बन्दाबन्दीमा सीमान्ताकृत नागरिकलाई स्थानीय तहको समन्वयमा राहत प्रदान गरेर जनता बचाएको उनको तर्क थियो । ‘भइरहेका काम र निरन्तरता दिनुपर्ने कामलाई नै संकल्पका रुपमा ल्याइएको मैले बुझेको छु, अहिले प्रदेशले गरेका काम नकार्न सकिन्न,’ उनले भनिन्, ‘युगान्तकारी काम भइरहँदा पनि केही नेताहरु सरकारविरुद्ध नकारात्मक कुरा मात्र गर्ने र गलत प्रचारबाजी भइरहेका छन् ।’

कांग्रेस सांसद बिन्दुकुमार थापाले आफू सांसद भएर पनि आफ्नी कोभिड संक्रमित सासुलाई बचाउन नसकेको भन्दै अरु साधारण जनताले ज्यान बचाउन सक्ने स्थिति नरहेको बताए । आफ्नी सासुलाई तत्कालै उपचार चाहिएका बेला प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो फोनपनि नउठाएको र मन्त्रीले भोलिपल्ट ‘मिसकल’ मात्र गरेको बताइन् । ‘म यत्तिको सांसद जस्तो पहुँच थियो र पनि गाह्रो थियो, अरुलाई कस्तो भयो होला ?’ उनले भने ।

बर्खे अधिवेशनमा आफूहरुले लगेको संकल्प प्रस्तावलाई सत्तारुढ सांसदले ‘ढोकाबाट नभई झ्यालबाट ल्याइयो’ भनेर दुइतिहाइको दम्भ देखाए पनि अहिले पारित हुन बाध्य भएको थापाले बताए । ‘म दोहोरी खेलेको होइन, तर त्यतिबेलै पारित भएको भए जनताको ज्यान ठूलो संख्यामा जाने थिएन,’ उनले सुनाए ।

प्रदेशको चालु विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्ताव पेस गरेका थिए । सांसदहरु हरिशरण आचार्य, मायानाथ अधिकारी, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनमा प्रस्ताव ल्याइएको थियो ।

स्वास्थ्य प्रवक्ता जस्ता सांसद

गण्डकी प्रदेशमा नेकपा सांसद कृष्णबहादुर थापा संसदमा पेस भएको संकल्प प्रस्तावबारे बोल्न रोस्टम पुगे । कोरोना र स्वास्थ्यसम्बन्धी मौलिक हकका बारे सर्वदलीय साझा संकल्पको प्रस्ताव पेस भएपछि छलफल सुरु भएको थियो ।

नेकपा सांसद थापा रोस्टममा पुगेर बोल्न थालेपछि उनी सांसद कम स्वास्थ्य प्रवक्ताको भूमिकामा रहेझैं प्रस्तुत रहे । उनले सदनमा सुरुमा सोमबार साढे ११ बजेसम्मको नेपालको कोरोना तथ्यांक प्रस्तुत गरे ।

नेपालपछि उनले विश्व कोभिडको तथ्यांक सुनाए । विश्वको समग्र तथ्यांक सुनाएपछि उनले अमेरिका, भारत, ब्राजिलको कोभिडसम्बन्धी तथ्यांक सुनाए । यी तथ्यांक सुनाएपछि मात्र उनी संकल्प प्रस्तावमाथिको छलफलतर्फ लागे । छलफलमा उनले प्रदेश सरकारले सुरुबाट नै कोभिडका सन्दर्भमा लगातार काम गरिरहेको जिकिर गरे ।

प्रदेशले गरेको प्रयत्नले जनतालाई खुसी दिएको र त्यसलाई प्रदेशले उत्साहका साथ अगाडि बढाएको भन्दै थापाले प्रदेश सरकारको सक्दो तारिफ गरे । कोरोना खोप ल्याउने बेलामा प्रदेश सरकारले संकल्प प्रस्ताव ल्याउनु सकारात्मक रहेको थापाको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया