माघ लाग्यो, परेन हिउँ

समाधान संवाददाता २०७७ माघ ८ गते ८:००

एसके थकाली, जोमसोम

Advertisement

हिउँदयाममा मुस्ताङमा पछिल्ला वर्ष असमान हिमपात हुन्थ्यो । सन् २०१६ र २०१८ मा आशिंक हिमपात भएको मुस्ताङमा सन् २०१७, ०१९ र ०२० मा भने अत्यधिक हिमपात भयो ।

यस वर्ष उपल्लो मुस्ताङमा आशिंक हिमपात भए पनि तल्लो मुस्ताङमा अझै हिमपात भएको छैन । विश्वमै बढ्दै गएको हरितगृह ग्याँस उत्सर्जनको प्रभावले मुस्ताङमा जलवायु परिवर्तनको संकेत देखिन थालेको कतिपय बताउँछन् ।

Advertisement

हिउँद याम आधाभन्दा बढी हुँदासमेत हिउँ नपरेपछि यहाँको तापक्रम अघिल्ला वर्षको तुलनामा बढी छ । विगतमा हिउँले सेताम्मे हुने यहाँका डाँडाकाँढा नाङ्गा, फुस्रा र सौन्दर्यविहीन छन् ।

गत कार्तिकमा अत्यधिक जाडो बढेको उपल्लो मुस्ताङमा अहिले तापक्रम बढ्न थालेको लोमान्थाङका टसी आङग्या गुरुङले बताए ।

Advertisement

मुस्ताङको थासाङ पालिकाको लेते, घाँसा, कुञ्जो लगायतका स्थानमा स्याउ फल्ने गरे पनि जलवायु परिवर्तनले त्यस क्षेत्रमा स्याउ फल्न छाडेको छ । स्याउ नफल्ने उपल्लो मुस्ताङमा भने स्याउ सप्रन थालेको छ ।

त्यहाँका किसानले स्याउ रोप्न थालेका छन् । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जलस्रोत तथा जैविक विविधतामा असर पर्न थालेको छ ।

मनसुनमा ढिलाइ, अतिवृष्टि र अनावृष्टि समेत जलवायु परिवर्तनका परिणाम हुन् । थासाङ गाउँपालिकाको कोवाङ, सौरु र टुकुचे र घरपझोङका मार्फा र चिवाङ गाउँमा मौसमी आद्रता र बाक्लो हुस्सुका कारण स्याउँका बोटमा विभिन्न रोग देखिएको छ ।

रोगका कारण यहाँका किसानले ठूलो क्षति व्यवहोर्नु परेको टुकुचेका किसान राजन शेर्पाले बताए । जलवायु परिवर्तनका कारण जमिनको तापक्रम बढेपछि उत्पादनमा हस आउने, हिमताल फुट्ने, नदी कटान, भूक्षय जस्ता जोखिम बढेका छन् । २ वर्षअघि थासाङको कुञ्जो, टिटी, छयो, सिर्खुम लगायतका स्थानमा बाढी, पहिरोले ठूलो क्षति गरेको थियो ।

विकसित मुलुकले उत्सर्जन गर्ने विभिन्न प्रकारका हानिकारक ग्याँसका कारण पछिल्लो समय विश्वकै तापक्रम बढिरहेको छ । गत मंसिर १ र पुस २१ गते उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा आशिंक हिमपात भएको थियो ।

माघ पहिलो हप्तासम्म हिउँ पर्न नसक्दा मुस्ताङका किसान चिन्तित भएका छन् । मुस्ताङका किसान यति बेला स्याउ बगैचा व्यवस्थापन तथा नयाँ बिरुवा लगाउन व्यस्त छन् ।

मुस्ताङको मुख्य प्रमुख आम्दानीको स्रोत स्याउ हो । यहाँ किसानले कार्तिकमा उवा, जौ, सिमी, आलु लगाइसकेका छन् । हिउँदमा हिमपात हुँदा जमिनको भित्री तहसम्म चिस्यान पुग्ने र अन्नबाली फस्टाउने हुन्छ ।

जोमसोमका किसान अजित थकाली पुस नलाग्दै हिउँ पर्ने मुस्ताङमा यस वर्ष माघ लग्दासमेत हिउँ नपर्नुले चिन्ता बढेको बताउँछन् । ‘हिउँ नपरे किसानले लगाएको अन्नबालीलाई असर पर्छ,’ उनले भने । बगैचा व्यवस्थापनका क्रममा १/२ चरण हिउँ पर्नुपर्ने उनको भनाइ छ ।

अन्नपूर्ण संरक्षण आयोजना जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले केही वर्षयता मुस्ताङमा असन्तुलित हिमपात हुने गरेको बताए । तर, अहिलेको जस्तो हिउँ पर्दै नपर्ने अवस्था भने विरलै भएको दाहालले उल्लेख गरे ।

असमान हिमपात हुनुको मुख्य कारण जलवायु परिवर्तन भएको उनले सुनाए । यसको कारण पत्ता लगाउन पछिल्लो ३० वर्षको तथ्यांकलाई विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

एक्याप प्रमुख दाहालले मुस्ताङमा पनि जलवायु परिवर्तनको जोखिम बढ्न थालेको दावी गरे । जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै गएकोे, अनियमित वर्षा र हिमपात हुने गरेको उनले खुलाए ।

जलवायु परिवर्तनले ट्रान्स हिमालयन क्षेत्रमा बेमौसममा हिमपात हँुदा जमिनभित्र पानीको चिस्यान नियमित नहुने उनले बताए । बेमौसममा हिमपात हुँदा परम्परागत घरमा पानी चुहिन थालेको छ ।

तपाईको प्रतिक्रिया