उद्योगी, व्यवसायीलाई राहत

समाधान संवाददाता २०७७ माघ ८ गते ७:३०

सम्पादकीय

२१ औं सदीमा विज्ञान र प्रविधिको रफ्तारमा गुडिरहेको समृद्धि यात्रा एक्कासि रोकियो । पुराकथा, मिथकहरुमा सुनिएजस्तो संकटले विश्वलाई त्राहिमाम बनायो । यो संकट झेल्दै मानव सभ्यताअघि बढेको १० महिना भएको छ ।

कोरोना कहरबाट बुधबारसम्म पौने २१ लाखको ज्यान गएको छ । पौने १० लाख जति संक्रमित भएका छन् । निमेषकै गतिमा फैलिएको महामारीबाट नेपालमा पनि करिब २ हजारको ज्यान गएको छ । २ लाख ६८ हजार संक्रमित भइसकेका छन् ।

Advertisement

विश्वका विभिन्न देशमा कोरोना भाइरसका खोप परीक्षण र स्वीकृत हुँदा जागेको आशालाई पछिल्लो पटक देखिएको कोरोनाको नयाँ प्रजातिले सिथिल गरिदिएको छ । कोरोना सँगसँगै बाच्ने र जीवन चलाउने क्रम सुरु गरेका नेपालीमा फेरि संकट थप चुलिने र फेरि बन्दाबन्दीतिर फर्किनुपर्ने त होइन भन्ने त्रास पनि छ ।

महामारीले सबै क्षेत्र आक्रान्त भएका बेला गण्डकी प्रदेश सरकारले उद्योगी, व्यवसायीलाई राहत दिन खालको कार्यक्रम सुरु गर्न लागेको छ । ३ वर्षसम्म निब्र्याजी ऋण दिने यो योजनाले धेरै उद्योगी, व्यवसायीलाई राहत त दिने नै छ, व्यवसायीका लागि पनि सरकार छ भन्ने अनुभूतिसमेत दिलाउनेछ ।

Advertisement

राहत स्वरुप बिनाब्याजको ऋण दिन गण्डकी प्रदेश सरकारले मंगलबार नेपाल राष्ट्र बैंक पोखरासँगसम्झौता गरेको छ । उद्योगी, व्यवसायीलाई कर्जा दिन सरकारले अनुगमन खर्च व्यहोर्न राष्ट्र बैंकमा शोधभर्ना खाता खोल्नेछ ।

सम्बन्धित बैंकहरुले ब्याज शोधभर्ना खाताबाट पाउने छन् ।त्यो ऋण५० हजारदेखि १५ लाख रुपैयाँसम्म हुनेछ । यो कर्जाको ब्याज राष्ट्र बैंकबाट ३÷३ महिनामा बैंकहरुले पाउने छन् ।

साना उद्योगी, व्यवसायीलाई लक्षित यो योजनामा वार्षिक ५० लाखभन्दा तलको कारोबार गर्ने व्यवसायीले मात्र सहभागी हुन पाउने छन् । यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३० दिने सूचना निकाल्ने तयारी भएको छ ।

अब राष्ट्र बैंकले अरु बैंकहरुसँग सम्झौता गर्ने छ । प्रदेशभित्र शाखा भएका १८ वाणिज्य बैंकका शाखाबा ऋण प्रवाह हुनेछ । यो सुविधा लिन बैंकिङ कसुर र कालोसूचीमा नपरेको, स्थायी लेखा नम्बर लिएको र व्यवसाय सुरु गरेको १ वर्ष हुनुपर्ने छ ।

गण्डकी सरकारको यो योजनाले प्रदेशको उद्योग, व्यवसाय क्षेत्रलाई राहत दिनेछ । अब यसको प्रभावकारी कार्यान्वयन सँगसँगै आवश्यक भएकालाई मात्र ऋण प्रवाह हुने सुनिश्चिततामा ध्यान दिनु जरुरी छ । स्थानीय सरकार र संघ सरकारले पनि यस खालका योजना ल्याएर महामारीमा उद्योगी, व्यवसायीमा आशा जगाउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया