जो छन् सर्पका साथी

समाधान संवाददाता २०७७ माघ ९ गते ९:२१

समाधान संवाददाता, पोखरा

हप्ता दिनअघि पोखरा बिरौटामा एउटा लामो सर्प भेटियो । स्थानीयले डराउँदै उद्धार गर्ने मानिसको खोजी गर्न थाले । त्यो खबर प्राप्त गर्नेबित्तिकै आकाश भण्डारी बिरौटा पुगिहाले । आकाशले सर्पको उद्धार गरे ।

त्यो धामन प्रजातिको सर्प रहेछ । ‘यो अबिखालु सर्प हो, डराइहाल्नु पर्दैन, बेलैमा खबर गर्नुभयो र सर्पलाई कसैले मार्न पाएन,’ आकाशले स्थानीयलाई सम्झाएर फर्किए । उद्धार गरेको सर्प नजिकैको जंगलमा छोड्न लगियो । उद्धारपछि जंगलमा सर्पलाई छाड्ने बेला सविता आचार्य र ऋषि बराल पनि पुगे ।

Advertisement

सविता पृथ्वीनारायण क्याम्पसमा जुलोटी पढ्दै छिन् भने बराल उनैलाई सर्प उद्धार कसरी गर्ने लगायतका सर्पबारे पढाउँछन् । बराल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका संरक्षण अधिकृत छन् । हप्ता दिनअघि बिरौटाबाट खबर आएजस्तै देशभरबाट उनीहरुलाई सर्प उद्धारका निम्ति डाकिरहन्छन् ।

‘सर्प देख्नेबित्तिकै डराउनु पर्दैन, मान्छेले आक्रमण नगरेसम्म सर्पले मान्छेलाई टोक्टैन,’ सविताले मान्छेहरुलाई भनिरहन्छिन् । मालेपाटन बस्दै आएकी सविता सर्पलाई मानिसकै साथी मान्छिन् । सर्पले इको सिस्टमलाई जोगाउने काम गर्ने उनको तर्क छ ।

Advertisement

‘नेपालमा एकातिर सर्पलाई भगवानको रुपमा हेरिन्छ भने अर्कोतिर सर्प देख्ने बित्तिक्कै मार्ने चलन गरिन्छ,’ सविता भन्छिन्, ‘सर्पलाई संरक्षण गर्नु पर्छ भनेरै उद्धार गर्न लालायित हुन्छु ।’

सविताजस्तै आकाश भण्डारी, सिद्धार्थ भण्डारी पनि सर्प उद्धारमा लालायित हुने नयाँ पुस्ता हुन् । सागर र प्रदीप पाण्डे दाजुभाइ हुन् । उनीहरु दुबै जना सर्प संरक्षण अभियानमा छन् । उनीहरु जस्तै सर्प संरक्षण गर्ने अर्काे दाजुभाइकै जोडी छ, रोशन, रुजित गिरी ।

वातावरण र जीव विज्ञानका विद्यार्थी, यो क्षेत्रमा चासो राख्ने नयाँ पुराना केही व्यक्तिहरु सर्प उद्धारका लागि देशैभरिसमेत पुग्ने गरेका छन् । लामो समयदेखि संरक्षणमा जुटिरहेकाहरुले संस्था नै स्थापना गरेका छन् । जसको नाम छ, सर्प संरक्षण समाज नेपाल । यसका अध्यक्ष छन्, पोखराका पुराना सर्प उद्धार तथा संरक्षणमा जुट्दै आएका महेन्द्र कतिला ।

पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष कतिलाले अहिलेसम्म सयौं सर्पको उद्धार गरिसकेका छन् । उद्धार, उपचार गर्ने कतिलाले सर्पलाई आहारासमेत आफैं खुवाउँछन् । केशव सापकोटा अर्का पोखरा पुराना सर्प संरक्षण अभियानकर्मी हुन् । नवलपरासीका अमोद घिमिरे सर्प संरक्षण अभियानमा जोडिएका अर्का व्यक्ति हुन् । पेशाले उनी मेडिकल डाक्टर हुन् ।

‘पेशाले विभिन्न क्षेत्रका व्यक्तिहरु मिलेर सर्प संरक्षण समाज नेपाल गठन गरिएको छ,’ एक्यापका संरक्षण अधिकृतसमेत रहेका ऋषि बरालले भने, ‘सर्पको महत्व बुझ्न, बुझाउन, सर्पको उद्धार, उपचार र संरक्षणमा हामी निरन्तर लागिरहेका छौं ।’

सर्प संरक्षण समाजमा अहिले २९ जना यस्ता व्यक्ति जोडिएका छन् । उनीहरुले सर्प संरक्षणमा अभियान नै चलाउँदै आएका छन् । नेपालमा ८०÷८३ प्रजातिका सर्प रहेको तथ्यांक छ । त्योमध्ये २० प्रजातिका सर्प विशालु रहेको अध्ययनले देखाएको थियो ।

पोखरामा ४० प्रजातिका सर्प कास्कीमा भेटिएको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताए । ‘पोखरामा भेटिनेमध्ये ११ प्रजातिका सर्प विषालु छन्,’ बरालले भने, ‘सबै सर्प बिषालु हुँदैनन् । सर्प देख्नेबित्तिकै डराइहाल्ने र मारिहाल्ने गर्नुहुँदैन । बरु सचेत रहेर उद्धारका लागि खबर गर्नुपर्छ ।’

सर्पले इको सिस्टमा ठूलो महत्वपूर्ण योगदान पुर्‍याएको हुन्छ । खेतबारीका मुसा खाइदिने सर्पलाई किसानको साथी पनि मानिन्छ । सर्प संरक्षण समाज नेपालका अध्यक्ष कतिला भन्छन्, ‘सर्पको फाइदाबारे मान्छेहरुलाई भन्न पाउँदा खुसी लाग्छ ।’

तपाईको प्रतिक्रिया