मुस्ताङमा निर्वाचनको प्रारम्भिक तयारी

समाधान संवाददाता २०७७ माघ ९ गते १०:२२

एसके थकाली, जोमसोम

संघीय संसदको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मुस्ताङले प्राभरम्भिक निर्वाचनको तयारी अघि बढाएको छ ।

प्रतिनिधि सभा विघटनसँगै सरकारले आगामी वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेको छ ।

Advertisement

निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालय मुस्ताङले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन र मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

यही माघ ४ गते प्रजिअ हीरादेवी पौडेलको संयोजकत्वमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा प्रदेश सांसद माननीय महेन्द्रबहादर थकाली, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, गाउँपालिकाका अध्यक्षहरुको उपस्थिति थियो ।

Advertisement

बैठकले स्थानीय तहबाट प्रस्ताव भए अनुसारका मतदानस्थल तथा मतदानकेन्द्रको स्थलगत निरीक्षण गरी आगामी माघ १२ गते बस्ने मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिई निर्वाचन आयोगमा सिफारीस गर्ने जिल्ला निर्वाचन अधिकारी सुशीला पौडेल दाहालले जानकारी दिइन् ।

मतदाता नामावली अध्यावधिक गर्न जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी एवं स्थानीय तहमा १ जना सहायक नाम दर्ता अधिकारी तोकी माघ १५ गतेदेखि जिल्ला निर्वाचन कार्यालय एवं स्थानीय तहमा कार्यालय स्थापना गरी २१ गतेसम्म मतदाता नामावलीमा त्रुटि भएमा सच्याउने, नागरिकता त्याग गर्ने व्यक्तिको नाम हटाउने, दोहोरो नाम रहेको सूची हटाउन निवेदन दिनसक्ने र मृत्यु भइसकेको मतदाता नामावलीबाट नाम हटाउने कार्य गरी जिल्ला निर्वाचन कार्यालय मार्फत आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समीर थापाले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकारी दाहालले निर्वाचन सम्बन्धी यस प्रकारको कार्यक्रम आयोगको नियमित कार्यक्रम भए पनि सरकारबाट मध्यावधि निर्वाचनको घोषणा भइसकेकाले यसलाई लक्ष्य गरी आसन्न निर्वाचनको प्रारम्भिक कार्यक्रम अघि बढेको बताइन् ।

२०७४ सालमा भएको संघ तथा प्रदेश सभाको निर्वाचनमा मुस्ताङमा ३७ मतदान केन्द्र तोकिएको थियो । जसमा ९ हजार ४ सय २७ जना मतदाता थिए । ३७ मतदान केन्द्रमा १ सय ८५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया