मुस्ताङमा हिउँ माग्दै पूजा

समाधान संवाददाता २०७७ माघ १० गते २०:४३

एसके थकाली, जोमसोम

हिउँ पर्न छोडेपछि मुस्ताङको थासाङ गाउँपालिका ३ लेते, कालोपानीबासीले शनिबार नजिकैको सलनकुना जंगलमा पूथाआजा गरेका छन् ।

धार्मिक परम्परा अनुसार उनीहरुले हिउँको पूजा गरेका हुन् । लेते कालोपानीका गाउँ मुखिया रवीन्द्र तुलाचनको पहलमा स्थानीयले हिउँको कामना गर्दै पूजाआजा गरेका हुन् ।

Advertisement

हिउँदयाममा हिउँ मुस्ताङका किसानका लागि बरदान साबित हुने गर्छ । हिउँले कृषकले लगाएका अन्नबालीलाई फाइदा पुग्ने भए पनि यस वर्ष हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित छन् ।

हिउँ पर्न ढिला भएपछि जिल्लाका स्याउ, आलु, उवा, तोरी, मकै र जौ उत्पादक किसान समस्यामा परेका हुन् ।

Advertisement

पूजाआजा गरेपछि हिउँ पर्ने जनविश्वासका साथ पूजा गरेको गाउँ मुखिया रवीन्द्र तुलाचन बताउँछन् । उनले गाउँमा सिँचाइको व्यवस्था नभएकाले आकासे पानी र हिउँकै भरमा खेती गर्नु पर्ने सुनाए । करिब १५ स्थानीयले पुजारीसहितको टोलीले हिउँको कामना गर्दै पूजाआजा गरेका छन् ।

हिउँ परोस् भन्ने कामना गर्दै पूजाथानमा सेतो भाले बलि चढाइएको स्थानीय रत्नमान शेरचनले बताए । अहिले मुस्ताङका डाँडाकाँढा फुस्रा देखिएका छन् । उपल्लो मुस्ताङमा २ पटक आशिंक हिमपात भए पनि तल्लो मुस्ताङमा अझै हिमपात भएको छैन ।

स्याउ उत्पादन केन्द्र मानिएको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङमा हिउँ नपरेपछि किसान आहत भएका छन् । जलवायु परिर्वतनका कारण पछिल्लो समय पानीको स्रोतसमेत सुक्दै गएको स्थानीय बताउँछन् ।

कृषि र पर्यटन क्षेत्र मुस्ताङका मुख्य आर्थिक पक्ष हुन् । बर्सेनि मुस्ताङका किसानले करोडौको स्याउ उत्पादन गर्छन् । विश्वमा बढ्दै गएको हरितगृह ग्यास उत्सर्जनका कारण हिमाली तथा उच्च पहाडी जिल्लामा जलवायु परिवर्तनको असर देखिन थालेको छ ।

जलवायु परिवर्तनपछि कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष सामान्य हिमपात, कुनै वर्ष हिमपात नहुने र कुनै वर्ष बेमौसममा हिमपात हुने गरेको विज्ञहरु बताउँछन् । जलवायु परिर्वतनको संकेतले मनसुनमा ढिलाइ, अतिवृष्टि र अनावृष्टि हुँदा यहाँको परम्परागत कृषि प्रभावित भएको छ ।

१० वर्षअघिसम्म मुस्ताङमा पुस, माघ महिनामा भारी हिमपात हुन्थ्यो । पछिल्ला वर्षमा भने असमान प्रकारले हिमपात हुने गरेको छ ।

हिउँद याममा तापक्रम कम हुने भएकाले त्यस समयमा परेको हिउँ जमिनको भित्री तहसम्म पुगेर कृषि उत्पादनका लागि फाइदाजनक हुन्छ । बेमौसममा पर्ने हिउँले प्राकृतिक विपद् निम्त्याउन सक्छ । बेमौसमको हिमपातले हिमताल फुट्ने, नदी कटान र भूक्षयको जोखिम हुन्छ ।

तपाईको प्रतिक्रिया