कसका लागि संसद पुनःस्थापना गर्ने

समाधान संवाददाता २०७७ माघ ११ गते ७:५९

सन्तोष अधिकारी

यो आलेखको आरम्भमा सर्वप्रथम तीनवटा उदाहरण पेस गर्न चाहन्छु ।सप्तरी पथरीका मलर सदा मुसहरले भोककै कारण यही वर्षको मध्य जेठतिर ज्यान नै गुमाउनु पर्‍यो ।

घरमा चार दिनदेखि चुल्हो नबलेपछि खाद्यान्नको जोहो गर्न निस्केका उनको पीडादायी मृत्यु भयो । जुन अस्वाभाविक थियो । उनको निधनले समाजवादको नारा बेचेर करिब दुई तिहाई जनमत प्राप्त गरेको सरकार र सदनलाई गिज्याइरहेको थियो ।

हुन त भोक र प्यासको अभावमा दैनिक जसो ज्यान गुमाउने मलर सदाहरु जस्ताको रेकर्ड राखेको भए सायद धेरै ठेलीहरुभरी सक्थे होलान् ।

दोस्रो उदाहरण, गत वर्ष असोज ताका मृगौला डायलसिसका लागि रौतहट बाटराजधानी आउने क्रममा रुपलाल शाहको बाटोमै मृत्यु भयो । पैसाको अभावले उनले समयमै डायलसिस गराउन सकेका थिएनन ।

जीवन जोगाउन सहयोगको याचना गर्दै राजधानी हिँडेका ३५ वर्षीया रुपलालको जिजीविषा सडकमै सकियो । त्यसैको आसपासमा प्रधानमन्त्री केपी ओली विदेशमा गएर मृगौलको डायलसिस र फलो अप गरेर फर्केका थिए ।

पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल सिंगापुरमा उपचार गराएर स्वदेश फिरेकी थिइन् ।हाम्रो समाजवादको अभ्यासमा असमनाताका यस्ता बिर्सनलायक थुप्रै नजिर छन् । सेवा, सुविधा र अवसरको बाँडफाँडमा देखिने विभेदको अवस्था विकराल छ ।

तेस्रो उदाहरण, भर्खरै मात्र रामजी रामपैसा नभएकै कारण चिकित्साशास्त्रको परीक्षा दिनबाट बञ्चित भए । भलै पछि उनले परीक्षा दिएका छन् ।

आम रुपमा उनको गरिबीको कसरी खिल्ली उडाइयो र अपमान गरियो । त्यसको लेखाजोखा गर्नै सकिँदैन ।पैसाको अभावमा कैयन रामजीहरुले आफनो भविश्य र लक्ष्यलाई तिलाञ्जली दिएर बाटो मोडेका प्रशश्त प्रमाण छन् ।

मलर सदा, रुपलाल र रामजी रामका पिडा केवल लाखौं नेपालीले भोगेका प्रतिनिधि उदाहरण मात्रै हुन् । अब चुरो कुरा तर्फ लागौं ।

अदालतमा विचाराधीन रहेको संसद पुनःस्थापनाको मुद्दाको बारेमा टिप्पणी गर्ने कसैलार्ई अधिकार छैन । तसर्थ यो बारेमा समय खेरा नफालौं ।यो अब अदालत र कानुनको तजबिजीमा पुगिसकेको छ ।

दिनहुँ जस्ता घटने माथि उल्लेखित यस्ता समस्या समाधानमा अहिले संसद पुनःस्थापनाको चर्काै माग राख्ने निवर्तमान संसदहरुले के भूमिका निर्वाह गरे ?

संंसद हुनु र नहुनुले मलर सदा, रुपलाल र रामजीहरुको जीवनमा के अर्थ राख्यो ?कामरेडहरुले सिंगापुर बैंकक र न्युयोर्कमा उपचार गराई राख्दा अरु रुपलाल बन्न विवश भइराखेका पात्रहरुले संसद फेरि पुनःस्थापना भयो भने के पाउँछन् ? भोकै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेका अरु लाखौं मलर सदाका लागि के हुन्छ ?

पैसा नभएकै कारण पढ्न र परीक्षा दिन नपाएका बाँकी रामजी रामले के पाउनेछन्?अनि अझ महत्वपूर्ण कुरा त हिजो संसद हँुदा यी समस्याहरुको के कति सम्बोधन भए?सम्बोधन गरेका भए यो विकराल अवस्था किन आयो ?

बझाङ र बाजुरेली अहिले पनि नुनकै लागि घन्टौं हिँड्न बाध्य छन् । कैयन हुम्ली र डोल्पालीलाई चामलको भात खाना दसैँ नै कुर्नुपर्ने विवशता छ ।महोत्तरीको मुसहर बस्तीमा, अनि नवलपरासीको थारु बस्तीमा गर्मीमा लु लागेर र जाडोमा शीतलहरले वर्षौं ज्यान गुमाउनेको संख्या उत्तिकै छ ।

कामरेड यो विवशताको अन्त्य गर्न निम्ति हिजो तपाइँ सांसदहरुले के भूमिका निर्वाह गर्नु भयो ? यस्ता दर्दनाक समस्या त ठेलीका ठेली छन् । अब तपाईहरुलाई फेरि सर्वोच्च अदालतले सांसद बन्ने बाटो खुलाई दियो भने यी समस्याको हल हुन्छ ? अवश्य हुँदैन ।

मात्र तपाइँ हरु फेरि एकथान सांसद बन्नुहुन्छ । देउवा, खनाल, दाहाल, नेपाल या ओली को प्रधामन्त्री,को राष्ट्रपति बन्ने भन्ने रस्साकस्सीमै रम्नु हुनेछ ।कुन गुट, समूह हावी हुने भन्ने दाउपेचले नै प्रथामिकता पाउनेछ। अनि रुपलाल, मलर र रामजीहरुले तपाइँहरु सांसद हुँदाके पाए ? अहिले नहुँदा के गुमाए ?

भोलि फेरि हुनु भयो भने के पाउनेछन्?वास्तवमा केही गुमाएका पनि छैन्न र केही पाउँदैनन् भने तपाइँहरुका लागि फेरि किन ननभेज आन्दोलनगरिदिनुपर्ने ? सत्र हजारको ननभेज आन्दोलनले के दियो ? दियो त केवल उही भोक, प्यास, अभाव, गरिबी, नाताबाद, कृृपाबाद भ्रष्टाचार बेथिति । अरु चित्त बुझ्दो जवाफ छ कामरेड ।

विल्कुल छैन । २०४६ पछिको पनि कुरा नगरौं । किन कि त्यसबेला राजसंस्था पनि थियो । अब भन्नुस् विसं २०६४ पछि तपाइँहरु नै होइन र, पटकपटक सांसद र मन्त्री बन्नु भएको ।

आखिर के भयो । अहिले सडकमा संसद पुनःस्थापनाका लागि जनतालाई आन्दोलित हुन आह्वान गरिराख्दा यी प्रश्नहरुको जवाफ छ ?

उसो भए पुनःस्थापना कसका लागि ? यसको मतलब विघटन सहीया गलत थियो भन्न खोजिएको होइन । मात्र बाँकी लाखौं मलर, रुपलाल र रामजीहरुले के पाए भन्ने सवाल हो । के पाउनेछन् भन्ने हो ।
संसद चाहियो भनेर बुरुक बुरुक उफ्रिँदै हिँडनेहरुसँग अरु थप जिज्ञासा छ ।

कृषिमन्त्री भएर कृषकलाई मल दिन नसक्ने,उखु किसानको समस्या हल गर्न नसक्ने, सिद्धान्त र आदर्शका पाठ पढाउने तर काम गर्ने ठाउँमा पुगेपछि सिन्को नभाँच्ने घनश्यामहरुलाई फेरि मन्त्री बनाउन जनताले ननभेज आन्दोलन गरिदिनु पर्ने !

बोलेर देशलाई नै कायपलट गर्ने सपना बाँड्ने । तर एउटा बाख्रापालनमा पनि आफू सफल हुन नसक्ने योजनाविहीन भाषणबाज गगनथापाहरुलाई फेरि सांसद बनाउन जनता सडकमा उर्लिदिनु पर्ने !कुरा चर्का गर्ने तर मन्त्री पड्काएपछि परिणाम दिन नसकेकायोगेशहरुलाई योग्य ठह¥याउन जनताले आन्दोलन गरिदिनुपर्ने ?

वाह क्या गजब छ ! यिनै पात्रका लागि भोकै बसेर । जाडोमा कठंग्रियर । बाढी र पहिरोमा पिल्सिएर । उपचारको अभावमा छटपटिएर । आम निर्दोष जनताले फेरि बलिदानी दिन तयार हुनुपर्ने । जनतालाई फेरि सडक तताउन आह्वान गर्ने आँट पनि कसरी आउन सकेको । सोच्नुस् त कति उदेक लाग्दो छ ।

सम्धीले सांसद बन्ने अवसर पाएकै थिए । भतिजले राजदूत पडकाएकै छन् । ज्वाइँ, छोरीहरु सेटल भएकै छन् । भाइहरु वाणिज्यदूत बनेकै छन् ।सर्पपालन केन्द्रले पैसा पाएकै होला ।

पूर्वप्रधानमन्त्रीहरुलाई होलीवाइन कार्यक्रमको टेन्डर पार्न संसद नभएपनि रोकावट छैन होला। हाइड्रोको विवाद मिलाउनर कमिसन लिन संसद नहुँदैमा सकस हुने कुरै भएन । यी काम त संसद नभएपनि चलि नै हाल्छ । अनि कस्का लागि र केका लागि संसद चाहियो भन्दै थाल ठटाउन प¥यो । हिजो हुँदा पनि भएको यहीर यत्ति नै हो ।

फेरि पनि कुनै चित्त बुझ्दो अर्को जवाफ छ भने भन्नुस् । रुपलाल,मलर र रामजीहरुलाई संसद पुनःस्थापना हुदा के हुनेछ ?

तपाईंहरुलाई मन्त्री बनाउन । तपाइँ का नातागोता, आफन्त र छोराछोरीलाई सरकारी सम्पत्तिमा ऐस आराम गराउन सर्वसाधारणले सडकमा आएर टाउको फुटाउनु पर्ने ? पुलिसको लाठी खाइदिनुपर्ने ?

घाइते बनिदिनुपर्ने ?आन्दोलनमा आउन जनतालाई आह्वान गरी राख्दा ठण्डा भएर सोच्नुस् एकपटक ।जनतालाई कति वेबकुफ बनाउनु हुन्छ । कति धेरै दास ठान्नु हुन्छ । विश्वका कुनै पनि लोकतान्त्रिक देशमा हाम्रोमा जस्तो देख्नु भएको छ ।

जहाँकेहीसीमित पात्रा सधै मालिक बन्ने र सर्बसाधारण उनीहरुले जति बेला जे भन्छन त्यसैको लहैलहैमा हिँडिदिनु पर्ने । तपाईहरुको कुर्सी मोह पुरा गर्न पटकपटक भ¥याड बनिदिनु पर्ने । के यो काइदा हो ?

सांसद र मन्त्री हुन अघिसम्म चप्पल लगाएर चकटीमा बस्ने तपाईंहरु । जीवनमा कुनै पेसा व्यवसाय गर्नु भएन । तर आज करोड, अर्बको मालिक हुनुहुन्छ । ठूला मेगा प्रोजेक्टको सेयर होल्डर हुनुहुन्छ ।

यो कसरी सम्भव भयो ? कुनै उत्तर छ ? अहं विल्कुल तपाइँहरुसँग छैन । अब फेरि भन्नुस् तपाईंहरुलाई अरु थप धनाढय बनाउन । तंपाईहरुका लागि सर्बसाधारण सडकमा आइदिनु प¥यो ।क्याबात छ नेताज्यू!जनतालाई सधै दास नसम्झनू । भेडा बनाउन नखोज्नुस् ।

यो त एक्काइसौं शताब्दी हो । जनता बदलिसके । सोच बदली सक्यो । अब देश बदल्ने हो । मलर, रुपलाल, र रामजीहरुको अवस्था र स्तर बदल्ने यात्रातर्फ लाग्ने हो ।

समृद्धि र सुशासनका लागि एकाकार हुने हो ।परिवर्तनको यात्रामा जुन पात्रामा त्यस्तो अठोट र भिजन भेटिन्छ उसैको पक्षमा वकालत गर्ने हो ।

अब त्यो दिशातर्फ उन्मुख हौं । न कि फेरि पनि अस्थिरता निम्त्याउने आन्दोलनलाई प्रश्रय नदिऔं । समाधानका लागि विकल्पहरु मध्य बाट उत्तम विकल्प नै रोजौं ।

यी पात्र र प्रवृत्तिहरुलाई छिटो फेरबदल गर्न सकिने लोकतान्त्रिक उपाय नै रोजौं । न किरुपलाल, मलर र रामजीहरुको पीडा बुझन सक्ने नेतृत्व छिटो पाउन सकियोस् ।

लोकतन्त्रमा जनप्रतिनिधीमुलक संस्थाले नै जनताको आवाज बोल्ने हो । तर जनताको आवाज नसुन्ने पात्रहरुको विकल्पमा फेरि पनि छिटै नयाँ पात्र चयन गर्नु नै अर्को विकल्प हो ।

उनीहरुको विदाई नै उत्तम उपाय हो ।अन्त्यमा संसदको विकल्पमा संसद नै हो । तर लाखौं मलर, रुपलाल र रामजीहरुको आवाज बोल्न सक्ने।खारिएका र फेरिएका पात्रसहितको संसद । बरु त्यसका निम्ति हामी जनता फेरि एकपटक चनाखो हुन जरुरी छ ।

(पोखराका पत्रकार अधिकारी अचेल युरोपमा छन्)

तपाईको प्रतिक्रिया