गण्डकीलाई ४० हजार डोज खोप, १७ हजारलाई लगाइने

समाधान संवाददाता २०७७ माघ १२ गते १०:००

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका लागिकोभिड १८ विरुद्धको खोप ‘कोभिसिल्ड’ ४० हजार डोज खोप आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन श्रेष्ठले आइतबार भारत सरकारले अनुदानमा दिएको १० लाखमध्ये ४० हजार डोज खोप गण्डकी सरकारलाई हस्तान्तरण गरे ।

Advertisement

सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवरले प्रदेश सरकारको तर्फबाट खोप बुझेका हुन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन अधिकृत हिमलाल सुवेदीले प्रदेशभरलाई पुग्ने खोप आए पनि राख्न कुनै समस्या नरहेको बताए ।

Advertisement

‘हामीसँग ९ हजार लिटर राख्ने क्षमता छ । अहिले आएको जम्मा ८० लिटर हो,’ उनले भने, ‘पछि धेरै मात्रामा आउँदा पनि राख्न कुनै समस्या हुँदैन ।’

गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट ‘रेफ्रिजेरेटर भ्यान’ शुक्रबार नै काठमाडौं गएको थियो । प्रदेशलाई प्राप्त खोप १७ हजार ३ सय ९६ जनालाई लगाइने प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरास्थित खोप भण्डारमा राखिएको खोप सोमबारदेखि जिल्लामा पठाउने तयारी छ ।

प्रदेशभर १० जनालाई खोप लगाउन तालिम दिइएको निर्देशक डा. शर्माले जानकारी दिए । यो खोप १ जनालाई २ डोज लगाउनुपर्छ । ‘४० हजार डोज आए पनि १० प्रतिशत खोप खेर जान सक्ने अनुमान गरेर १७ हजार ३ सय जनाको सूची तयार पारेका हौं,’ निर्देशक शर्माले भने ।

आइतबार आएको खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहान चालक, सरसफाइकर्मी गरी १७ हजारलाई लगाइने छ ।

भारत सरकारले दिएको कोभिसिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना सरकारको छ ।

पहिलो चरणको खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्र अन्तर्गत निशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया