एनसेलले तिर्याे १ करोड, बाँकी १३ तिर्दै जाने

समाधान संवाददाता २०७७ माघ १२ गते ११:२०

आइतबारको पेसीमा अदालतले दिएन अन्तरकालीन आदेश

समाधान संवाददाता, पोखरा

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल विद्युत प्राधिकरणलाई छुट महसुल बापतको १ करोड रुपैयाँ बुझाएको छ ।

६९ सालदेखिको झन्डै १४ करोड रुपैयाँ छुट महसुल नतिरेको भन्दै पुस १९ मा प्राधिकरणले एनसेलको पोखरा लेखनाथस्थित डाटा सेन्टरको बिजुली काटेको थियो ।

प्राधिकरणले २१ कात्तिकमा झन्डै १३ करोड ८० लाख रुपैयाँ छुट महसुल तिर्न एनसेललाई पत्राचार गरेको थियो ।

एनसेलले बाँकी रकम किस्ताबन्दीमा तिर्ने गरी पहिलो महिनामा १ करोड रुपैयाँ यसै साता बुझाएको प्राधिकरणको लेखनाथ वितरण केन्द्र प्रमुख परितोष चौधरीले बताए ।

त्यसपछि एनसेलको बिजुली जडान भएको छ । ‘१४ महिनामा १÷१ करोड तिर्दै जानेगरी एनसेलले १ करोड बुझाएको छ, बाँकी पैसा महिनैपिच्छे दिनुहुन्छ भन्ने अपेक्षा छ, हामीले लाइन खोल्दियौं,’ चौधरीले भने ।

एनसेलले २०६९ देखि लगातार महसुल तिर्दै आएकाले महसुल नछुटेको दाबी गर्दै आएको थियो ।

प्राधिकरणले छुट महसुलको बिलसहित पत्राचार गरेपछि उसले त्यसविरुद्ध कात्तिक २३ गते जिल्ला अदालत कास्कीमा फिरादपत्र दायर गरेको थियो ।

एनसेलले बिजुली नकाटिने प्रबन्धका लागि अन्तरकालीन आदेश माग गरेको थियो । तर अदालतले अन्तरकारलीन आदेश जारी गरेको थिएन ।

१४ पुसमा अदालतले अन्तरकालीन आदेश गर्नु नपर्ने आदेश गरेको थियो । ‘पत्रहरूमा अंकित रकम नबुझाए तत्काल विद्युत कनेक्सन काट्ने वा कुनै अतिरिक्त पेनाल्टी लगाउने बेहोरा उल्लेख भएको नदेखिएको’ १४ पुसमा आएको आदेशमा थियो ।

तर विद्युत कनेक्सन काट्ने कुनै व्यहोरा उल्लेख नगरी प्राधिकरणले विद्युत काटेको थियो । अदालतको आदेश विपरीत प्राधिकरणले विद्युत काटेपछि एनसेल पुन अदालत पुगेको छ । अदालतमा उसले प्राधिकरणले अदालतको आशय विपरीत विद्युत काटिएको भन्दै रिट दिएको थियो ।

तर रिटपछि पनि एनसेलले १ करोड तिरेपछि रिटउपरको बहसमा कास्की जिल्ला अदालतले सम्झौता भएको जस्तो देखिएकाले अन्तरकालीन आदेश दिनुनपर्ने भन्दै आइतबार ११ माघमा आदेश गरेको छ ।

प्राधिकरणले पुरानो प्रविधिमा आधारित मिटर उत्तम प्रविधियुक्त मिटरले विस्थापित गर्दै जाने कार्यक्रम अनुसार एनसेलमा पनि नयाँ मिटर जडान गरेको उल्लेख गरेको छ ।

पुरानो प्रविधिको एबिबी मिटर हटाई राइसेसन मिटर राख्दा एनसेलको विद्युत खपतको अंकमा भिन्नता देखिएपछि पुल्चोक क्याम्पसमा कार्यरत स्वतन्त्र इन्जिनियरहरूसहितको प्राविधिक टोलीले अध्ययन गरेको पनि विद्युत प्राधिकरणको भनाइ छ ।

अत्याधुनिक मिटरबाट डाटा डाउनलोड गरी विस्तृत विश्लेषण गर्दा विद्युत महसुल छुट हुन गएको प्रमाणित भएको प्राधिकरणको दाबी छ ।

एनसेलले लेखनाथमा राखेको डाटा सेन्टरबाट देशभरिकै सेवा सञ्चालन गरिरहेको छ । उसको यस्तो डाटा सेन्टर काठमाडौं र पोखरामा मात्रै छ ।

तपाईको प्रतिक्रिया