क्यानडा लैजान्छु भनेर ९० लाख ठग्ने धीरज पक्राउ

समाधान संवाददाता २०७७ माघ १५ गते १८:२४

अनिष भट्टराई, पोखरा

स्याङ्जाका दिवस गुरुङ गाउँमै बेरोजगार भएर बसेका थिए । विदेश जाने मन गरेर पासपोर्ट पनि बनाए ।

डेढ वर्षअघिखाडी मुलुक जाने सोचमा रहेका उनको भेट एक एजेन्टसँग भयो । जसले उनलाई खाडी हैन क्यानडाको सपना देखायो ।

Advertisement

धीरजलाई क्यानडाको ‘ललीपप’ले लोभ्यायो । क्यानडा लैजान एजेन्टले भेटाउने भनेको मानिसलाई भेट्न पुगे । उनले १ लाख रुपैयाँ तत्काल उक्त एजेन्टलाई दिए । विदेश जाने दिन कुरेर बसे ।

वालिङ १३ का ध्रुव पाठक शारदा मन्दिर माविमा पढाउँछन् । गाउँकै दीपेन्द्र विश्वकर्मा अर्को विद्यालयमा पढाउँछन् । दीपेन्द्रले आफूलाई क्यानडा जाने मौका आएको खबर ध्रुवलाई सुनाए ।

Advertisement

ध्रुवलाई पनि क्यानडा जाने रहर जाग्यो । दीपेन्द्र र ध्रुवकै गाउँका भोजबहादुर कार्की क्यानडा छन् । भोजबहादुरको विश्वासपात्र थिए, दीपेन्द्रलाई क्यानडा लान्छु भन्ने एजेन्ट । भोजबहादुरलाई देखाएर नै ती एजेन्टले ध्रुव र दीपेन्द्रलाई क्यानडा लान्छु भनेर विश्वास बटुले । क्यानडा भनेपछि ध्रुवले २ र दीपेन्द्रले १ लाख ती एजेन्टलाई बुझाए ।

क्यानडा जाने दिन कुरेर बसेका स्याङ्जाका दिवस, ध्रुव र दीपेन्द्रमात्र थिएनन् । स्याङ्जा, तनहुँ, पर्वत, कास्कीका अरु २९ पनि थिए । सबैलाई एकै एजेन्टले क्यानडा लान्छु भनेर पैसा उठाउँदै बसेका थिए ।

ती एजेन्ट थिएः पर्वत मोदी गाउँपालिका७ का धीरजकुमार विश्वकर्मा । धीरजले पैसा उठाएकासँग पासपोर्ट पनि मागे । पासपोर्ट भारत पठाइसकेँ अब प्रक्रिया सुरु भयो भन्ने आश्वासन पनि दिइरहे ।

लामो समयमा प्रक्रिया पूरा नभएपछि उनीहरुले धीरजलाई सम्पर्क गरे । धीरजको एउटै जवाफ हुन्थ्यो– ‘कोरोना हटेपछि प्रोसेस सुरु हुन्छ ।’धीरजले उनीहरुको विश्वास जित्न बैंक तथा सहकारीका चेकसमेत उनीहरुलाई दिए ।

बारम्बार फोन गरेपछि ध्रुवलाई एकदिन धीरजले ‘क्यानडा भिसा एप्लिकेसन सेन्टर, दिल्ली’ जान सुझाए । त्यहाँ गए छिटो भिसा आउने जवाफ पाएपछि ध्रुवलगायत ५ जनाको टोली दिल्ली पुग्यो । त्यहाँबाट ‘छिट्टै इमेल आउँछ’ भन्ने जवाफ पाएपछि उनीहरु निर्धक्क देश फर्के । न त इमेल आयो न त धीरजको फोन नै उठ्यो ।

यत्तिका समयधीरजले फोन नउठाउने र उठाए पनि राम्ररी नबोल्ने गरेपछि उनीहरुलाई शंका लाग्यो । क्यानडा लगिने भनिएकाहरुले माघ १२ गते निवेदन प्रहरीकहाँ दिए । प्रहरीले भोलिपल्टै पोखरा ३० सिसुवाबाट धीरजलाई पक्राउ ग¥यो । धीरजआफैं १४ वर्ष खाडीमा बसेर नेपाल फर्किएका थिए ।

धीरजमाथि अनुसन्धान गर्दा उनले ३३ जनालाई ठगेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका जीवनकुमार श्रेष्ठले बताए । ३३ जनाबाट अहिलेसम्म उनले ९० लाख ७१ हजार ५ सय ठगी गरेको खुलेको छ । यो संख्या अझै बढ्न सक्ने प्रहरीको शंका छ ।

‘अरु २ जना पनि यसमा संलग्न भएको देखिएको छ, उनीहरुलाई खोज्दै छौं, ठगी भएकाहरु बढ्न सक्छन्,’ श्रेष्ठले भने । प्रहरीले बाँकी २ जनाको परिचय पाइसकेको छ । उनीहरुको खोजीतीव्र पारिएको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया