ठिहीमा मुस्ताङीलाई कम्बल

समाधान संवाददाता २०७७ माघ १६ गते १३:२२

एसके थकाली, जोमसोम

मुस्ताङका ५ स्थानीय तहमा बिहीबारदेखि कम्बल वितरण थालिएको छ । हिउँ पर्ने सिजन भएकाले जिल्ला विपत् व्यवस्थापन समिति मुस्ताङले गरिब, विपन्न र असाहयलाई कम्बल वितरण थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।

कम्बल वितरण गर्न प्रमुख जिल्ला अधिकारी सहितको टोली उपल्लो मुस्ताङ पुगेको छ । जिल्लाका ५ वटै स्थानीय तहमा समितिले करिब १ सय ५० थान कम्बल वितरण गर्ने योजना बनाएको छ ।

Advertisement

अभियानको सुरुआत उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट गरिएको छ । अब क्रमशः लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा कम्बल वितरण गरिनेछ ।

अभियानको पहिलो दिन लोमान्थाङका ३१ विपन्न र असाहय परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले कम्बल वितरण गरिन् । माइनस तापक्रम रहेको लोमान्थाङमा पुगेर टोलीले स्थानीयलाई घरदैलोमै पुगेर न्यानो कपडा दिएको हो ।

Advertisement

कम्बलको मूल्य प्रतिथान ४ हजार छ । समितिले जिल्लाका ५ वटै तहमा गरी करिब ६ लाखको कम्बल बाँडिने जनाइएको छ । समितिले प्राकृतिक प्रकोप तथा विपत्को अवस्थामा सरकार जनताको सुखदुखमा सँगै रहेको उनले बताइन् ।

स्थानीय प्रशासनले घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरेपछि स्थानीय खुसी भएका छन् । घरदैलोमै कम्बल पाएकी लोमान्थाङ २ ढुककी ७२ वर्षीया साङ्वो गुरुङ मख्ख छिन् ।

उपल्लो मुस्ताङमा जारी सिजनमा आशिंक हिमपात भए पनि मध्य मुस्ताङ र तल्लो मुस्ताङमा अझै हिमपात भएको छैन । केही वर्षयता मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको छ ।

गत वर्ष मुस्ताङमा कात्तिकदेखि फागुनसम्म भारी हिमपात भएको थियो । सन् २०१८ मा उपल्लो मुस्ताङमा भारी हिमपात हँुदा सयौं याकचौरी र भेडाच्याङ्गा खर्कमै पुरिएर मरेका थिए ।

तपाईको प्रतिक्रिया