व्यावसायिक किसानलाई पोखरा महानगरले बाँड्यो परिचयपत्र

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाले व्यावसायिक पशुपालन किसानलाई शुक्रबार परिचयपत्र वितरण गरेको छ । वास्तविक किसान पहिचान स्थापित गर्न महानगरको पशुसेवा शाखाले २ सय ८८ पशुपन्छी पालकलाई परिचयपत्र बाँडेको हो ।
गण्डकी प्रदेश सरकारको किसान वर्गीकरण तथा पहिचान सम्बन्धी कार्यविधि २०७५ तथा महानगरको पशु विकास अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुसारका ५ प्रकारका किसानलाई परिचयपत्र प्रदान गरेको पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सरकारको मापदण्ड तथा महानगरको कार्यविधि अनुसारका विशिष्ठ ८, उद्यमी ५, व्यावसायी १३, व्यवसाय उन्मुख ९८ र साना व्यवसायी १ सय ६४ले किसान परिचयपत्र पाएका छन् ।
मापदण्ड अन्तर्गतका ७ प्रकारमध्ये निर्वाहमुखी र सौखिन किसानलाई परिचयपत्र प्रदान गरिएको छैन । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले विशिष्ठ किसान तेजबहादुर भट्टराईलाई परिचयपत्र दिएर कार्यक्रम उद्घाटन गरे ।
मन्त्री थापाले पोखरा महानगरपालिकाले किसान परिचयपत्र बाँडेर व्यावसायिक पहिचान स्थापित गर्दै सबै किसानका लागि गौरवको काम गरेको बताए ।
‘गण्डकी प्रदेशको स्थानीय सरकारले किसानलाई सूचीकृत गरी पहिलोपल्ट परिचयपत्र वितरण गरेको छ,’मन्त्री थापाले भने, ‘नेपालभरीका किसानका लागि अनिवार्य परिचयपत्रलाई एउटै प्रकृतिको बनाउनु आवश्यक छ ।’
उनले राज्यको अनुदान, मेसिनरी, कृषि पेन्सन तथा बजारसम्बन्धी कार्यक्रममा परिचयपत्र अनिवार्य बन्न सक्ने संकेत गरे । प्रदेशले क्षमताको आधारमा किसानको उत्पादनलाई बजारसँग जोड्ने जानकारी दिँदै उनले स्थानीय सरकारसँगको सहकार्यमा बजार व्यवस्थापन गरिने सुनाए ।
पोखरा महानरपालिकाका मेयर मानबहादुर जिसीले महानगर आफैंले कानुन बनाएर किसानलाई सम्मान गरेको बताए ।
महानगरमा ४० प्रतिशत जमिन खेती योग्य भएको जानकारी दिदै मेयर जिसीले किसान परिचयपत्र वितरण पहिलो कार्यक्रम भएको उल्लेख गरे ।
उनले परिचय वितरणलाई सफ्टवेयर बनाएर प्रविधिमैत्री बनाइने जानकारी दिए । महानगरले किसानका उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने उल्लेख गर्दै उनले किसानका उत्पादनले बजार नपाए क्षतिपूर्ति दिने नीति बनाएको बताए ।
कार्यक्रममा राष्ट्रिय पशु प्रवद्र्धन कार्यालय पोखराका प्रमुख नारायण शर्मा, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया, किसानहरु दीपक तिमिल्सिना, तेजबहादुर भट्टराई लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया