मुक्तिनाथ खुलेसँगै दैनिक २ सय पर्यटक मुस्ताङ पुग्न थाले

एसके थकाली, जोमसोम
कोरोना कहरले लामो समयदेखि बन्द मुक्तिनाथ मन्दिर खुला भएसँगै दिनहुँ यहाँ आउने पर्यटक बढ्न थालेका छन् ।
अहिले दैनिक २ सय हाराहारी स्वदेशी मुस्ताङ आउने गरेका छन् । पर्यटक आउन थालेपछि बजारको चहलपहल बढेको छ । हवाई सेवा सञ्चालन भए पनि मुस्ताङमा अझै विदशी पर्यटक भित्रिएका छैनन् ।
मुस्ताङको मुक्तिनाथ खोल्न गण्डकी प्रदेशका पर्यटन व्यवसायीले चौतर्फी दबाव सृजना गरेपछि मुक्तिनाथ विकास समिति, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहमतिमा दर्शन खुला गरिएको थियो ।
मुक्तिनाथ विकास समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गर्ने व्यवस्था मिलाएको छ । विदेशी पर्यटकको हकमा भने अझै पिसिआर रिपोर्ट आवश्यक पर्छ ।
प्रदेशका पर्यटकीय स्थल खुले पनि मुस्ताङको मुक्तिनाथ मन्दिर नखुल्दा मुस्ताङका होटल बन्द थिए । स्थानीय प्रशासनले समेत मुस्ताङ आउजाउमा अघोषित निषेआज्ञा लगाएको थियो ।
अहिले स्वदेशी पर्यटक मुक्तिनाथ आउने क्रम बढेको मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदी बताउँछन् । उनले मन्दिर आउने दर्शनार्थीलाई आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर दर्शन गराइने गरेको उल्लेख गरे ।
चिसो मौसममा समेत पर्यटक आउन थालेपछि मुस्ताङका पर्यटन व्यवसायी र फलफूल व्यवसायी उत्साहित भएका छन् । यसअघि हिउँद याममा मुस्ताङ करिब सुनसान हुन्थ्यो ।
हिउँद याममा यहाँका बासिन्दा बर्सेनि जाडो छल्न बेसी झर्ने गर्छन् । यसपालि कोरोना कहरका कारण उनीहरु पनि जिल्लामै छन् ।
जोमसोमका फलफूल व्यवसायी कोरोना कहरले मुक्तिनाथसँगै मुस्ताङ ठप्प हुँदा सटरभाडा तिर्न समेत मुस्किल परेको बताउँछन् । अब भने उनी आशावादी छन् ।
अहिले लामो तथा छोटो दूरीका यातायात चल्न थालेका छन् । साधन निर्वाध रुपमा संञ्चालन भइरहेको छ । गत चैत ११ गते बन्द भएको पोखरा जोमसोम हवाई सेवा भने अझै सुरु भएको छैन ।
यहाँ आएका पर्यटकले मुक्तिनाथसँगै थकाली होमस्टे, ढुम्बाताल, कुछप तेरङ्गा गुम्बा, यारुझो भ्युटावर लगायत अवलोकन गर्ने गरेका छन् ।
विस्तारै मुस्ताङको पर्यटन लयमा फर्किन थालेको छ । चहलपहल बढेपछि यहाँ उत्पादित कृषि उपजले समेत बजार पाउन थालेको छ । यसले स्थानीय किसानसमेत खुसी छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया