राजनीतिक अस्थिरतामा पनि विकास सम्भव छ

समाधान संवाददाता २०७७ माघ १८ गते १०:१२

नर्वे, फिनल्यान्ड, डेनमार्क र स्विडेनमा एउटै दलको बहुमत कमै मात्रमाआएको छ ।यी देशमा गठबन्धन सरकार बनाउने संस्कार नै बनेको छ ।

उरुग्वे, डोमिनीका, फिजी, लाओस, बुल्गेरिया, क्युबा लगायत देशमा राजनीतिक स्थिरताछ । तर जनताको जीवनस्तर र सुशासनको स्तरसन्तोषजनक छैन ।

राजनीतिक अस्थिरताबीच इन्डोनेसिया २०३० सम्म शक्तिशाली राष्ट्रभित्र पर्ने प्रक्षेपण छ । सरकार बदलिरहने बहराइ र इजरायल देशले हजारौं नेपालीलाई काम दिइरहेका छन् ।

Advertisement

सन्तोष अधिकारी

आगामी दिनलाई निराशावादी र नकारात्मक चेत बाट मात्र नहेरौं । पक्कै पनि थोरै सम्हालियौं भने ।

Advertisement

बाटो पहिल्याउने प्रत्यन गरयौ भने अवश्य एकपटक उज्यालोतर्फ उन्मुख हुने नै छौ । प्रकृतिको नियम नै हो विनासपछि विकास । अँध्यारो पछि उज्यालो । कुशासनपछि सशासन । त्याग पछि प्राप्ति ।

त्यसैले धैर्य गर्नुस् जसरी पनि हामी अघि बढ्नुको अर्को विकल्पै छैन । मार्टिन लुथर किङको एउटा भनाई याद आयो ‘तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न पनि सक्दैनौ भने घिस्र तर जसरी हुन्छ अघि चाहिँ बढ ।’अन्ततः अघि बढ्नु नै छ ।

विकास र समृद्धिको उत्कर्षमा पुगेका देशहरुको अवस्था पनि कुनैबेला हाम्रो जस्तै थियो । अहिले सुशासन,समानता र स्वतन्त्रताका नमुना मानिएका युरोप अमेरिकामा पनि हिजो हाम्रोमा जस्तै कुशासन, विकृति, विसंगति, भेदभाव, भ्रष्टाचारको डंगुर नै थियो ।इतिहासले त्यही भन्छ ।

मात्र उनीहरुले यस्ता कालो बादललाई छिटो छिचोले र अघि बढे । हामीले अहिलेसम्म छिचोल्न नसकेको मात्रै हो । ती देश कसरी विकासको गतिमा उडन सके ? तर हामी घिस्रन पनि किन सकिरहेका छैनौ त ?यसलाई यो आलेखमा दुई पाटोबाट चर्चा गरौं ।

पहिलो पाटो ः विकास र राजनीति

हाम्रा नजिकैका छिमेकी हुन् थाइल्यान्ड र हङकङ(चीनको स्वायत्त क्षेत्र)। त्यहाँ केहीवर्षदेखि विभिन्न राजनीतिक माग राखेर आन्दोलन र विरोध चर्किरहेको छ । जनताराजनीतिक परिवर्तन र सुधारको माग राख्दै आन्दोलित छन् । प्रदर्शनहरु गरिराखेका छन् ।

त्यहाँ पनि धेरथोर तोडफोड, विध्वंस भइरहेकै छ । तर यथार्थमा उनीहरुको त्यो राजनीतिक आन्दोलनले जनताको जीवनस्तर, प्रगति र परिवर्तनमा कुनै असर गरेको छैन । काम गर्ने मजदुर काम गरी राखेकै छन् । पढाउने शिक्षक पढाइरहेकै छन् ।

कृषिगर्ने कृषकले उत्पादन गरिराखेकै छन् । उद्योग धन्दा कलकारखाना चलिराखेकै छन् । नयाँ बन्नुपर्ने विद्यालय, अस्पताल, पुलपुलेसा बनिराखेकै छन् । वार्षिक हुनुपर्ने तलब वृद्धि भइरहेकै छ । बढ्नुपर्ने जनता र देशको आयस्रोत बढिराखेकै छ ।

त्यसोत यस्ता प्रदर्शन, विरोध या सरकारको फेरबदललेजनताको जीवनस्तर उकास्ने कुरामा कुनै असर गरेकै छैन । भौतिक विकासको गतिलाई रोकेको छैन । पात्र को आयो भन्दा पनि संस्कृति के बनायौं भन्ने कुराले मात्र अर्थ राखेको छ ।

यसको मतलबराजनीतिक अस्थिरताको नाममा हाम्रोमा जस्तोविकासको गति ती देशमा प्रभावित हँुदैन । भएको छैन ।

अनिसुशासनका लागि नमुनाको रुपमा लिइने बेलायत र अस्ट्रियालाई पनि हेरौं । यी दुबै देशमा सुशासन छ । समृद्धि र विकास त छँदैछ । तर हामीले देखिरहेकै छौं । बेलायतको सदनमा युरोपेली संघ (इयु)मा रहने नरहने मुद्दाले मात्रै पटकपटक प्रधानमन्त्री परिवर्तन भइराखेका छन् ।

अझै यही मुद्दाले राजनीतिक विवाद लम्बिँदो छ । अस्ट्रियाका चान्सलर सेबेस्टन क्रुज समय नपुग्दै पदबाट हटाइए । उनी पुन जनवरी २०२० मा चान्सलर भए । अर्थात असमयमा नै सरकार परिवर्तन भइरहयो ।यसको मतलब हामीले समृद्ध र सुशासित सोचेका देशहरुमा पनि पात्रहरु हट्ने र फेरिने भइराख्छ ।

तर त्यसले ती देशको दिगो विकास, सुशासन र जनताको जीवन स्तर उकास्ने कुरामा नकरात्मक असरगरेको हुँदैन ।

मेटी फ्रेडिक्सन उनको पार्टी सोसल डेमोक्रेटसको एकल बहुमतबाट डेनमार्कको प्रधानमन्त्री बनेकी होइनन् ।उनको क्याबिनेट निर्माणमा सोसल पिपल्स पार्टी र सोसल लिबरल पार्टीको एलायन्स छ । जसलाई रेड ग्रिन एलायन्स भनिन्छ ।

फिनल्याण्डको नेतृत्व गरिराखेकी विश्वकै कान्छी प्रधानमन्त्री सान्ना मारिनाको पार्टीको पनि एकल बहुमत छैन । अर्थात नर्डिक (नर्वे, डेनमार्क, फिनल्यान्ड र स्विडेन) देशका जनताले एउटै दललाई बहुमत त कमै मात्रमा दिएको इतिहास छ । धेरै लामो समयदेखि यी देशहरुमा एलायन्स बनाएर सरकार बनाउने संस्कार नै बनेको छ ।

तर विरलै बाहेक हरेक सरकारले पूर्ण कार्यकाल काम गरेको दृष्टान्त छ ।उल्लेखित देशहरुमा आन्दोलनको माझमा पनि विकास अघि बढिरहेकै छ । बहुमतको बाबजुद पनि स्थिर सरकार बनेकै छ ।

उसोभए उनीहरुको मा किन सम्भव भयो ? हामी किन सकिरहेका छैनौं ? यसको सिधा र सरल जवाफ हो ‘उनीहरु विधि र पद्धतिलाई पछयाउँछन्।’ राजनीति र विकासको नीतिलाई आइसोलेट गरेर हेर्छन् । तर हामी अझै पनि राजनीति र विकासलाई फरक फरक चश्माले हेर्न अभ्यस्त भइसकेका छैनौं ।

आज दक्षिण एसियाका हाम्रा छिमेकी देशहरु बंगलादेश, श्रीलंका र भारतले पनि राजनीति र विकासलाई फरकफरक चश्माले हेर्न थालिसकेका छन् । पाकिस्तान त्यो दिशातर्फ गइरहेको छ ।

अफगानिस्तान अभ्यास गरिराखेको छ । विकास व्यक्तिले नभई विधिले गर्ने वातावरण निर्माण गरौं । जुन आज हामीले समृद्ध देखेका देशले हिजै गर्न सके ।

राजनीतिक प्रतिस्पर्धा र संघर्ष राजनीतिक मुद्दामा सीमित होस् । नकि विकासका लागि व्यवधान नबनोस् । नागरिकको जीवनस्तर उन्नत बनाउन तगारो नवनोस । थाइल्यान्ड, बेलायत, डेनमार्कको यो यथार्थतालाई मनन गरौं ।

अर्को तथ्यलाई पनि हेरौं ।द ग्लोबल इकोनोमीले सन् २०१९ मा विश्वका १९५ देशको राजनीतिक स्थिरताको वर्गीकरण गरेको छ । २.५ अंक ल्याउने देशलाई राजनीतिक स्थिरता बलियो भएको मानिएको छ । जुन अंक कुनै पनि देशले प्राप्त गरेका छैनन् ।

माइनस२.५ ल्याउने देशलाई राजनीतिक समस्याबाट ग्रस्त मानिएको छ ।जुन अंकभन्दा तल पनि धेरै देशहरु छन् । सोमालिया, लिविया, अफगानिस्तान, इराक यमन, र सिरिया यस्ता देशमा समेटिएका छन् ।यो तथ्यांकमा नेपाल राजनीतिक स्थिरताको हकमा इन्डोनेसिया, रसिया, थाइल्यान्ड, ब्राजिल, छिमेकी देश भारतभन्दा धेरै अगाडि छ । नेपालले माइनस०.४७ अंक प्राप्त गरेको छ भने भारतले माइनस ०.७० पाएको छ ।

नेपालको अवस्था बहराइन इजरायल, इजिप्ट टर्कीभन्दा पनि अगाडि छ । अब हामी आफै कल्पना गरौं राजनीतिक अस्थिरताको बीचमा पनि इन्डोनेसिया सन् २०३० सम्म विश्वको शक्तिशाली राष्ट्र भित्र पर्ने प्रक्षेपण गरिएको छ । बहराइन, इजरायल जस्ता देशले हजारौं नेपालीलाई काम दिइरहेका छन् ।

हामीले भन्ने गरेको राजनीतिक अस्थिरताले ती देशको समृद्धिमा कुनै असर गरेको छैन । भारत, रसिया विश्वका शक्तिशाली हुन् तर पनि स्थिर राजनीति भएका देशमा पर्दैनन् । नेपालभन्दा राजनीतिक अवस्था अस्थिर मानिएका अधिंकांश देशका जनताको जीवनस्तर नेपालीको भन्दा धेरै माथि छ ।समानता र सुशासनको स्तर उच्च छ ।

अनि विकासको गति धेरै अगाडि छ । हो तथ्यले पनि पुष्टि गर्छ कि उनीहले समृद्धि र विकासको नीतिमा राजनीतिलाई घुस्न दिएका छैन्न । जुन हामी गरिराखेका छैनौं ।विकास कुनै दल विशेषले गर्ने कुरा भन्दा पनि सिस्टमले गर्छ भन्ने मान्यताको विकास गरौं । राजनीतिक खिचातानीको बाबजुद पनि ती देशमा जस्तै हाम्रोमा पनि विकास सम्भव होस् ।

सोही रिपोर्टमा उरुग्वे, डोमिनीका, फिजी, लाओस, बुल्गेरिया, क्युबा लगायत देशलाई राजनीतिक स्थिरताको दृष्टिले अगाडिमानिएको छ। तर यी देशको आर्थिक अवस्था जनताको जीवनस्तर र सुशासनको स्तर हेर्ने हो भने सन्तोषजनक छैन।

राजनीतिक स्थिरता र स्थिर सरकार त एउटा तानाशाही व्यवस्थामा पनि हुनसक्छ । तसर्थ आधुनिक विश्वमा विकास विधि र पद्धतिबाट निर्देशित हुनुपर्छ । व्यक्ति र व्यवस्था भनेको गौण पक्ष हो ।

दोस्रो पाटो ः जनताको सोच

लोकतन्त्र र सुशासनको अभ्यासमा भर्खर बामे सर्दै गरेका हाम्रो जस्तो देशमा नागरीकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । आज हामीले समृद्ध देखेका देश समृद्ध हुनुमा नेता अब्बल भएर मात्र होइन उत्तिकै जनतापनि इमान्दार भएर सम्भव भएको हो ।

उसो भए इमान्दारीको अभ्यासमा कतै हामी चुकिरहेका त छैनौं। यसका पनि केही नजिर हेरौं ।

करिब ३ करोड जनसंख्या रहेको नेपालमा राजनीतिमा कति संलग्न छन् होला ?अनि राजनिती गर्नेले मात्र राजनिती गर्छ कि सबैले राजनीति गर्छन्?हाम्रोमायोजटिल प्रश्नबनेर खडा भएको छ । कतिपय दलमा त कार्यकर्ताभन्दा नेता धेरै छन् ।

विकसित देशका नागरिकमा यो समस्या देखिँदैन । हाम्रोमा जस्तोघर घर र टोलपिच्छे दलका नेता कार्यकर्ता भेटिँदैनन् । अधिकांशका लागि आ आफनो पेशा व्यवसाय नै पहिलो प्रथामिकतामा पर्छ ।अब हामीले पनि राजनीति गर्नेलाई गर्न दिऔं ।

अरुले बुझौं । गलत गरे मत मार्फत दण्ड दिऔं । राम्रो गरे प्रोत्साहन गरौं । सबैले राजनीति गरेर समय बर्बाद नगरौं ।

दोस्रो, मानौं एसईई परीक्षामा कम विद्यार्थी उत्तीर्ण भए। किसानको बाली राम्रो भएन । बारी बाँझो राखेर खाद्यान्न बेसाउने बानी प¥यो।हुँदा खाँदाको अधिकृतको सम्मानित पेशा छोडेर विदेश भासियौंं ।

अमुक व्यक्तिले व्यापारमा घाटा बेहो¥यो । प्राकृतिक प्रकोपका कारणले पुल बगायो । तर हामी कतिपय अवस्थामा यस्ता विषयलाई पनि राजनीतिसँग जोडेर विरोध गरिरहेका हुन्छौं ।

राजनीतिले गर्दा नै सबै बिग्रियो भनि राख्दा राजनीति बाहेकका सबै कुरालाई सुधार्न आआफ्नो ठाउँबाट प्रयत्न पनि गर्ने कि । यो कोणबाट पनि सोचौं ।संसार बदल्नु छ भने सुरुआत आफैंबाट किन नगर्ने ?

अन्त्यमाप्रतिस्पर्धामा कमजोर ठहरिँदा पनि हामी कतिले आफना र आफन्तलाई जागिर लगाउन नेतालाई दबाब दिने गरेका छौं ?एकपटक म म भनेर सम्झौं त । स्वदेश तथा विदेशमा छोरा छोरीको छात्रवृत्तिका लागि कति मन्त्री र सांसदलाई अर्कोपटक पनि भोट चाहिएला नि भन्दै घुर्काउने गरेका छौं ?ठण्डा दिमागले सोचौं त ।

निजामती सेवामा सरुवा बढुवाका निम्ति हामी कसरी नेतालाई प्रलोभनमा पार्ने गर्र्छो ?एकपटक निष्पक्षभएर घोत्लिनुस् त ।अनि विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा उपकुलपति र रेक्टर जस्ता पद प्राप्त गर्न हामी कति चाकडी गर्ने गर्छौं? यस्ता धेरै क्षेत्र छन् जहाँ हामी राजनीतिक आस्था र पावारको आधारमा नियुक्ति चाहन्छौं ।

अब भन्नै पर्छ नेताले मात्रै बिगारे भनि राख्दा कतै हामीले उनीहरुलाई बिग्रन बाध्य त पारिराखेका छैनौं । हाम्रा गलत दबाब र प्रभावले अर्को योग्य पात्रले अवसरबाट वञ्चित हुन त परेको छैन ।

तसर्थ सोच बदलौं, गलत संस्कार बदलौं । आफू बदलिएर अरुलाई बदलिन प्रेरित गरौं । फेरि पनि मार्टिन लुथर किङले भने जस्तै जसरी पनि अगाडि बढ्नु बाहेक अर्को विकल्प छँदैछैन ।

जसका लागि ती देशहरुले जस्तै विधिलाई बलियो बनाऔं । अनि हामीले प्रवृत्ति पनि परिवर्तन गरौं ।

(त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी अहिले डेनमार्कको डेमन्फोन्ट विश्वविद्यालयका विद्यार्थी हुन्)

तपाईको प्रतिक्रिया