‘महारोग’ सँग ७६ वर्ष

समाधान संवाददाता २०७७ माघ १८ गते १३:३०

धर्मीलाई ७ वर्षकै उमेरमा कुष्ठरोग देखिएको थियो । अहिले उनी निको भए पनि आश्रममै बस्छिन्

अनुप पौडेल, पोखरा

आँखा कमजोर भए पनि दिमाग तेज छ । कसैले प्रश्न सोधे वर्ष, महिना र गतेसहित जवाफ फर्काइहाल्छिन् । गुल्मी अर्मिनी गाउँकी धर्मी देवकोटालाई कति वर्ष भएँ भन्ने थाहै छैन ।

Advertisement

‘११९३ साल चैत कि हुँ । कति भएँ हिसाब गर्नुस् त,’ उमेर सोध्दा उनले जवाफ फर्काइन् ।

थाहा भयो, उनी ८३ वर्ष पुगेकी रहेछिन् । पोखराको टुटुंगास्थित आश्रममा भेटिएकी धर्मालेकुराकानीमा जीवनका उतारचढाव सुनाइन् ।

Advertisement

उनको जीवनमा उतारचढाव आउनुको मुख्य कारणकुष्ठरोग हो । सात वर्षमै अनुहार र हात वरपर फोका देखियो । कुष्ठरोग हो भन्ने थाहा भएपछि गाउँलेहरु जाइलागे ।

गाउँले धर्मीसँग मात्रै होइन बा–आमाबाटै तर्किन थाले ।२० वर्षमा उनी गाउँ छोडेर स्याङ्जाको मालुङ्गास्थित कुष्ठरोगीखानामा आइन् । अहिलेको चलनचल्तीको भाषमा भन्ने हो भने मालुङ्गामा कुष्ठरोगीलाई राख्ने ‘क्वारेन्टाइन’ थियो ।

‘त्योबेला यसले भैंसीलाई पनि रोग सार्छ भने । छुनै नदिने गर्थे । अनि म गाउँ छोडेर मालुङ्गा आएँ,’ उनी भन्छिन्, ‘अहिले यस्तै रोग भएकालाई पनि अल्लि सजिलो छ । घरमै बस्छन् ।’ गाउँलेले त्योबेला गरेको व्यवहारबारे उनी बोल्छिन्, ‘सर्ने भए मलाई रोग देखिएपछि १०/१२ वर्षसम्म स्याहार्ने आमालाई पनि सथ्र्यो नि !’

२०१६ सालदेखि उनी आश्रमहरुमा छिन् । बसिरहेको आश्रम फेरियो, तर जिन्दगीको दौड कुष्ठरोगले बनाएको बाटोमा चलेको छ । मालुङ्गाको आश्रमबाट नेपाल कुष्ठरोग निवारण संघको पोखरा आरोग्य आश्रम आएको २८ वर्ष भयो ।

जीवनको ऊर्जाशील ६१ वर्ष उनले आश्रममा बिताइसकिन् । उनी आश्रम बसेको रोग निको नभएर होइन, घर फर्किन मन नभएर । आश्रममै पनि अरुसँग खासै बोल्दिनन्, एक्लै बस्न रुचाउँछिन् ।

धर्मीकै भाषामा भन्ने हो भने ‘महारोग’ सँग लड्दालड्दै अस्ताउनेबेला भइसक्यो । अहिले कुष्ठरोग भनिए पनि धर्मालाई समस्या देखिँदा महारोग, कुष्ठ, कोढ, सुन–बहिरी भनिन्थ्यो ।

रोग देखिँदाका चिल्ला छाला चाउरी परिसके, आँखा पनि कमजोर भएका छन् अनि कानलाई पनि बुढेसकाल लागिसक्यो । कुष्ठरोगको औषधी खान छोडको २९ वर्ष भयो ।‘एकपटक २४ र अर्कोपटक १६ महिना दबाई खाएँ । दिनकै १ अञ्जुली हुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘कालो औषधि थियो, त्यो खाँदा मुख पुरै कालो हुन्थ्यो ।’

हातखुट्टा, मांसपेसी कमजोर हुने, हातखुट्टामा नदुख्ने घाउ देखिनु, शरीरमा गिर्खाहरु हुनुजस्ता कुष्ठरोगका लक्षण धर्मालाई पनि देखिए । समयमै उपचार गरेकाले उनलाई कुष्ठरोगले अपांगसम्म बनाएन । अहिले उनका दुवै हात राम्रोसँग चल्दैनन् ।

‘तपाईंहरुको जस्तो मज्जाले चल्दैन, हात चनाखो छैन । खुट्टाचाहिँ बुढेसकाल लाग्यो, राम्रोसँग हिँड्न सक्दिनँ,’ धर्मीले हात देखाउँदै सुनाइन् ।

२०४९ साल फागुनमा मालुङ्गाबाट उनीसहित ३५ जना पोखरा ल्याइएका थिए । ‘त्यो बेला पोखराबाट मालुङ्गा गएर फोटो खिचेर, नाम टिपाएर पोखरा ल्याएका हुन् । पोखरा आउँदा ३५ जना थियौं । अहिले ४ जना बाँकी छौं,’ उनले सुनाइन् । २०४९ सालको ब्याचका बाँकी ४ बाहेक टुटुंगाको आरोग्य आश्रममा अरु १० सहित अहिले १४ जना बसेका छन् ।

छोरी बुद्धिसरा आमालाई भेट्न नवलपुरबाट बेलाबखत पोखरा आउँछिन् । मंसिरमा आएकी छोरी अब कहिले आउँछे भनेर बाटो कुर्दै छिन् ।

‘छोरीलाई पेटको समस्या छ । अहिले बिरामी भएँ, आउँदिन आमा भनिन्। अस्ति मंसिरमा भेटेर गइन्,’ धर्मीको मुहारमा चमक देखियो । छोरीसँग फोनमा कुरा गर्छिन् । छोरीतिरकै नातिनी बुहारीले ७ वर्षअघि ल्याइदिएको फोनले उनलाई पोखरादेखि नवलपुरसम्म जोडेको छ ।

हरेकपल्ट आउँदा छोरी बुद्धिसराले ‘मसँगै जाऊँभन्छिन्’ । कडक स्वभावकी धर्मालाई अब आश्रम छोडेर फर्किनु मन छैन । ‘जीवन यहीँ बित्यो, अब जानेबेलामा उता गएर छोरीलाई दुःख किन दिनु,’ धर्मीले थपिन्, ‘यहाँ आफैं पकाएर खाएकी छु । उसका ५ छोराछोरी छन्, यहाँ मलाई राम्रै छ ।’

छोरीलाई भने कुष्ठरोग नरहेको धर्माले सुनाइन् । छोरीबाहेक अहिले धर्मासँग आफ्नो भन्ने अरु छैनन् । श्रीमान कमलाकान्त ६० वर्षको सहयात्रा टुंग्याएर ८९ वर्षमा आरोग्य आश्रममै अस्ताए । कमलाकान्त र धर्मीको चौरासी पुजा पनि आश्रममै गरिएको थियो ।

चौरासी गरेको ७ महिनापछि श्रीमानले साथ छोडेका हुन् ।आरोग्य आश्रमले त्यहाँ बस्नेलाई कृषि कर्म गर्न आश्रम आडैमा थोरै जमिन दिएको थियो । ‘उहाँ हुँदासम्म तरकारी लगाएर त्यही खान्थ्यौं । अहिले पानी परेको छैन । म काम गर्न पनि सक्दिन,’ धर्माले भनिन् ।

नसोचेको आश्रम यात्राले धर्मालाई २०१७ सालमा कमलाकान्तसँग जोडेको थियो । छोरी बुद्धिसराआश्रममै जन्मिएकी हुन्, छोरा १५ वर्षमै बितेका रहेछन् । भगवानप्रति ठूलो आस्था छ उनको, जति आस्था छ त्यति गुनासो पनि । गुनासो अरु कुरामा होइन छोरालाई कलिलै उमेरमा लगिदिएकोमा हो । गुनासो भए पनि आस्थाचाहिँ मरेको छैन ।

उनी सधैँ बिहान–साँझ पूजा गर्छिन् । अरुले पकाएको पनि खाँदिनन् । ‘यहाँ सबैले सँगै खाऊँ भनेका थिए । हुँदैन भनेर अहिले सबैले आफैं पकाएर खान्छौं,’ धर्माले आश्रमभित्रको व्यवस्था खोलिन् ।

४ दशक पहिला बितेका छोरालाई उनी अझै सम्झिन्छिन् । छोरा सम्झँदा आँखा रसाउँछन् । अनि उनी बोल्छिन्, ‘खोइ, भगवानले किन छिटो लगे ।’ कुष्ठरोग लागेरभन्दा पनि उनलाई छोराको मृत्युले सताइरहेको छ ।

‘१४ वर्षमा टेस्ट पास गरेको थियो । अहिले मलाई रोग निको भइसक्यो,’ उनी सुकसुकाउँछिन्, ‘छोरालाई भगवानले नहरेको भए अहिले गाउँमै हुन्थेँ । नातिनातिना हुन्थे ।’
….

‘कुष्ठरोग सरिहाल्छ भन्ने भ्रममा नपरौं’
डा रमेश शर्मा
छाला रोग विशेषज्ञ

उपचार नगरेमात्रै कुष्ठरोगले अपांगतासम्म पु¥याउँछ । छाला चम्किलो हुने, काममा गिर्जा देखिने, हातखुट्टा झमझम गर्ने पनि हुनसक्छ । यस्तै लक्षणको समयमै पत्ता लगाएर उपचार गर्दा ठीक हुन्छ ।

पहिला कुष्ठरोगबारे धेरैलाई जानकारी थिएन, अहिले अवस्था थोरै फरक छ । अरु रोगभन्दा यसको भाइरस कम संक्रामक हुन्छ ।
यो रोग सर्न हप्तामा २० घन्टाभन्दा बढी बिरामीको सम्पर्कमा हुनुपर्छ । तर एउटै व्यक्तिसँग यति लामो समय संगत हुँदैन ।

त्यसैले कुष्ठरोग सरिहाल्छ भनेर भ्रममा नपरौं । म आफैं गएको ४ वर्षमा ३ सयभन्दा बढी बिरामी हेरेँ । ४० वर्ष काम गरेकाहरु अस्पतालमै हुनुहुन्छ, उहाँहरुलाई केही भएकै छैन । भन्नुको अर्थ ४÷५ हजार बिरामी जाँच्दा पनि सर्दैन भनेपछि यसको भाइरस कमजोर हुन्छ भन्ने बुझौं ।

श्रीमानबाट श्रीमतिमा, बुवाआमाबाट बच्चाबच्चीमा अथवा निकै नजिकको अरु मान्छेमा यो सर्छ । त्यसैले लामो समय संगत छैन भने कुष्ठरोगीलाई देखेर भाग्नुपर्दैन ।

मास्क र पन्जाको चलन कोरोनापछि आएको हो, त्योभन्दा अगाडि हामी बिरामी त्यत्तिकै हेथ्र्यौं । भ्रममा नपरौं कोरोनाजस्तो संक्रामक यो हुँदैन । औषधी खाएपछि यो सन्चो हुन्छ ।

तपाईको प्रतिक्रिया