खोप लगाउन आउँदा ८ हजार खर्च

समाधान संवाददाता २०७७ माघ १८ गते २१:२८

एसके थकाली, जोमसोम

कोभिड १९ विरुद्धको खोप सरकारले निशुल्क उपलब्ध गराएको छ । तर, उपल्लो मुस्ताङका बासिन्दाका लागि भने यो खोप महँगो सावित भएको छ ।

स्वास्थ्य स्वंयमसेविकाहरु खोप लगाउन सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयमसेविकाले जोमसोम झरेर कोभिड खोप लगाउँदा ८ हजार रुपैयाँ खर्च लागेको बताएका छन् ।

Advertisement

उपल्लो मुस्ताङको २ गाउँपालिकाका सबै स्वास्थ्यकर्मी जोमसोममा सुरु भएको कोभिड—१९ खोप अभियानमा उपस्थित हुन सकेनन् । उपल्लो मुस्ताङबाट स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र स्वास्थ्य स्वंयमसेविका गरी एक चौथाईले मात्र जोमसोममा कोभिड—१९ विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयका अनुसार भौगोलिक रुपले विकट उपल्लो मुस्ताङको लोमान्थाङबाट ५ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट २७ जनाले कोभिड खोप लगाएका छन् ।

Advertisement

लोमान्थाङबाट जोमसोममा कोभिड खोप लगाउन आएकी युटिन गुरुङले जोमसोममा खोप लगाई घर फर्किदा ८ हजार रुपैयाँ बढी खर्च लागेको बताइन् । उपल्लो मुस्ताङकी स्वास्थ्य स्वंयमसेविका ढोका गुरुङले जोमसोम खोप लगाउन आउँदा सवारी साधनको समस्या परेको बताइन् ।

उनले खोप लगाउन आउँदा र फर्किदा गाडी भाडा ५ हजार रुपैयाँ खर्च भएको जनाइन् । उपल्लो मुस्ताङकी अर्की स्वास्थ्य स्वंयमसेविका तिकी छोन्जिङ गुरुङले खोपकै लागि २ दिन खर्चिएर जोमसोममा आएको बताइन् ।

कोभिड—१९ बिरुद्धको खोप लगाउन जोमसोम आएका उपल्लो मुस्ताङका स्वास्थ्य स्वंयमसेविकाहरुले जोमसोम आउजाउको खर्च व्यवहोर्न सम्बन्धीत स्थानीय तहलाई अनुरोध गरेका छन् ।

मुस्ताङमा कोभिड—१९ बिरुद्धको खोप अभियानको पाचौं तथा अन्तिम दिन १ सय ९३ जनाले कोभिड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार खोप अभियानको पहिलो दिन ३९ जना र अन्तिम दिन ४७ जना स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्वास्थ्य स्वंमसेविका, कार्यालय सहयोगी र एम्बुलेन्स चालक लगायतले कोभिड खोप लगाएका हुन् ।

छिमेकी देश भारतबाट अनुदान सहयोग प्राप्त खोप नेपाल सरकार मार्फत गण्डकी प्रदेशको सामाजिक मन्त्रालय हँुदै मुस्ताङलाई २ सय ५० डोज कोभिसिल्ड प्राप्त भएको थियो । पहिलो चरणका लागि प्राप्त कोभिड खोपमध्ये अब ४३ डोज खोप मात्र मौजदात रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया