मानव अस्तिव र विकासका लागि सिमसार

समाधान संवाददाता २०७७ माघ १९ गते १९:५८

विश्वको करिब १ अर्ब मानिसहरुको जीवन सिमसार क्षेत्रमा आधारित छ

Advertisement

केदार बराल

सन्दर्भः विश्व सिमसार दिवस

Advertisement

साधारणतया सिमसार भन्नाले नदी, ताल, जलाशय एवं वनजंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी रहेको स्थान भन्ने बुझिन्छ । सिमसार शब्दको सिमले पानी नसुक्ने जमिन र सार भन्नाले पानी भन्ने बुझिन्छ ।

विश्वमा हालसम्म सिमसारका करिब ५० थरी परिभाषा छन् । तथापि सबैलाई समेट्ने गरी भन्नुपर्दा भूमिगत जलस्रोत वा वर्षातका कारण पानी रहने, प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ वा नुनिलो पानी भएको धापिलो जमिन, दलदले जमिन नदीबाट प्रभावित जमिन, ताल, पोखरी, जल भण्डार क्षेत्र, कृषि जमिन समेतले सिमसारलाई जनाउँछ ।

Advertisement

विश्वको करिब १ अर्ब मानिसहरुको जीवन सिमसार क्षेत्रमा आधारित छ । सिमसार क्षेत्रलाई कृषि उत्पादका दृष्टिले उर्वरभूमि र जैविक विविधताका हिसाबले धनी क्षेत्रको रुपमा लिइन्छ ।

संसारका ३.५ अर्ब मानिसहरु पोषणयुक्त खानाका लागि सिमसारमै उत्पादित धानको चामल प्रयोग गर्छन् । सिमसारले धेरै किसिमका प्राणी तथा वनस्पतिहरुलाई बासस्थान प्रदान गर्दछ । भूमिगत जलस्रोत र पानीका स्रोतहरु कायम राख्न, पहिरो रोकथाम गर्न, पोषक तत्वको चुहावट रोक्न सिमसारको महत्वपुर्ण भूमिका छ । विश्वका सबै मानिसहरुले पिउने पानी सिमसारबाटै आउँछ ।

सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउने लगायत जैविक विविधताको दिगो व्यवस्थापन मार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँछ ।

सिमसारले जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचको रुपमा पनि कार्य गर्दछ । हाम्रो जस्तो कृषी प्रधान देशमा सिँचाइका लागि पानीको आपूर्ति सिमसारहरुले गरिरहेका छन् ।

नेपालमा रहेको असीम जलविद्युतको सम्भावना पनि नेपालका नदीहरुमा रहेको सदावहार पानीको वहावकै कारणबाट हो । देशको दोस्रो ठूलो आयआर्जनको स्रोतको रुपमा स्थापित हुन सफल पर्यटन क्षेत्रको विकासमा पनि नेपालमा रहेका सुन्दर ताल तलैयाहरु जस्तै राराताल, फेवाताल, फोक्सुण्डो ताल लयागत हिमशृृंखलाहरुबाट वहने हिमनदी, हिमताल तथा कोसी, गण्डकी र कर्णाली जस्ता नदी प्रणालीहरुको महत्वपूर्ण भूमिका छ ।

सिमसार क्षेत्र पर्यटन क्षेत्रको पनि मेरुदण्ड हो । हाल विश्वभरका पर्यटकहरुमध्ये आधाले सिमसार क्षेत्रको भ्रमण गर्छन् । नेपालमा पनि फेवाताल, राराताल जस्ता सिमसारहरुले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । विश्वमा हाल हरेक वर्ष २६ करोड ६० लाख मानिसलाई रोजगारी दिइरहेका छन् ।

नेपालमा पनि विभिन्न जनजातीहरु आफ्नो जीविकोपार्जनका लागि प्रत्यक्षरुपमा सिमसारमा आश्रित छन् । थारु, मुसहर, दुसाध, केवट, मल्लाह, कुमाल, माझी, दनुवार, झाँगड, सरदार, दराइ, पोडे, बोटे, बारामु, जलारी आदि जस्ता जनजातिहरुको जीविका प्रत्यक्ष रुपमा सिमसारमा आश्रीत रहेको छ । यसैगरी कुल जनसंख्याको १०.७९ प्रतिसत जनसंख्या सिमसारमा आश्रित छ ।

रामसार सन्धि र विश्व सिमसार दिवस

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका साथै त्यस्ता क्षेत्रको बुद्धिमतापूर्ण उपयोग गरी आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा टेवा पुयाउने हेतुले इरानको रामसार सहरमा फेब्रुअरी २, १९७१ मा सिमसार सम्बन्धी ‘रामसार महासन्धि’ भए पश्चात सन् १९९७ देखि यस महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित १९९७ देखि विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

सोही अनुरूप यस वर्ष पनि ‘सिमसार र पानी’ (वेटल्यान्ड एन्ड वाटर ) भन्ने नाराका साथ विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदै छ । विश्वव्यापी वढ्दो उष्णता सँगै पानीका मुहानहरु सुक्दै जाने कारणले सिमसारहरु धरापमा परेका छन् ।

यसका साथै विश्वको बढ्दो जनसंख्यासँगै घरायसी प्रयोग, सिँचाइ, जलविद्युत, उद्योग आदिका लागि पानीको माग पनि अत्यधिक बढ्दै गइरहेको छ । अर्कोतर्फ हाम्रा पानीका स्रोतहरुको अत्यधिक दोहन, पहिरो भूक्षयले ल्याएको माटोले पुरिने, विषादीको प्रयोग आदिका कारणले सिमसारहरु घट्दै, सुक्दै गइरहेको अवस्था छ ।

मानव सभ्यताको विकासको सुरुआतदेखि नै पानी मानिसको अभिन्न अंग बनेको छ । तथापि यसको संरक्षण र दिगो प्रयोगमा मानिसको उचित ध्यान जान सकिरहेको छैन । त्यसकारण सिमसार क्षेत्रको महत्वहरुको विषय उजागर गर्दै यिनको संरक्षण र दिगो उपयोगका विषयमा जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष झैं यस वर्ष पनि विश्वभरका सरकारी निकाय, गैरसरकारी निकाय र आम जनताहरु सहभागी भई यो दिवस मनाइएको छ ।

नेपाल यस महासन्धिको पक्ष राष्ट्र भएदेखि नै महासन्धिको भावना अनुरूप सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विवेकपूर्ण उपयोग तर्फ क्रियाशील रहिआएको छ ।

नेपाल रामसार महासन्धिको पक्षराष्ट्र भएपश्चात हालसम्म कोसी टप्पु वन्यजन्तु आरक्ष, जगदीशपुर जलाशय, बीसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, गोसाइकुण्ड ताल, फोक्सुन्डो ताल, गोकियो ताल, माइपोखरी र पोखराका ९ वटा ताल समूह गरी नेपालमा रामसारमा सूचीकृत सिमसार क्षेत्रको संख्या दश पुगेको छ भने यी सिमसार क्षेत्रहरूले ओगटेको कूल क्षेत्रफल ६०,५६१ हेक्टररहेको छ ।

नेपालमा सिमसारको अवस्था

नेपालका तराईको समथर भूभागदेखि उच्च पहाडी र हिमाली भूभागहरुसम्ममा पाइने विविध पारस्थितिकीय प्रणालीहरुभित्र सिमसारहरु छन् । नेपाल एक पर्वतीय देश हो र यहाँ जल, जमिन, जंगल, वनस्पति, जीवजन्तु एवं खनिजपदार्थ जस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार छ ।

नेपालको कूल क्षेत्रफलमध्ये ८,१९,२७७ हेक्टर (करिब ५ प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड रहिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्रहरू छन् । नेपालमा सिमसार मुख्यतः दुई प्रकारका छन् (१) ताल, तलाउ, नदीतटीय बाढी मैदान, धाप र दलदल लगायत प्राकृतिक सिमसार र (२) जलाशय, तलाउ र गहिरो पानी जम्ने धानखेत लगायत मानव निर्मित सिमसार। नेपालका सिमसारहरु मध्ये सिञ्चित धान खेतहरूले सबैभन्दा ठूलो क्षेत्र ओगटेका छन् भने त्यसपछि नदीहरूले ओगटेका छन् ।

झन्डै आधा (४५ प्रतिशत) सिमसार उच्च हिमालमा छन् । हिमाली भेगमा हिमनदी तथा हिमतालको संख्या ठूलो भएकाले सिमसार क्षेत्रहरू पनि धेरै हुन्छन् । राष्ट्रियताल संरक्षण विकास समितिका अनुसार नेपालमा ५ हजार ३ सय ५८ वटा ताल छन् । तीमध्ये २ हजार ७ सय १२ वटा (५१ प्रतिशत) ताल ५ सय मिटर उचाइभन्दा तल छन् ।

२ हजार २ सय २७ (४२ प्रतिशत) ताल ३ हजार मिटरभन्दा माथि पर्छन् । साथै मध्य पहाडी क्षेत्रमा (५ सय मिटरर २ हजार ९ सय ९९ मिटरको बीचमा) ४ सय १९ वटा (८ प्रतिशत ) मात्र ताल छन् । नेपालमा ३ हजार २ सय ५२ वटा हिमनदिर २ हजार ३ सय २३ वटा हिमताल छन् ।

नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्य योजना (२०१४–२०२०) अनुसार नेपालका सिमसारहरूमा २३० प्रजातिका माछा, १ सय २ प्रजातिका फाइटोल्पाङ्टन, १ सय ९ प्रजातिका जुप्लाङ्टन, १ सय ९२ प्रजातिका चिप्लेकीरा र ५३ प्रजातिका उभयचर पाइन्छन् । १६ प्रजातिका माछा नेपालका स्थानीय हुन् । अधिकांश सिमसारहरू भ्रमणशील चराहरूका लागि विश्राम थलो हुन् ।

यी चराहरु नेपालमा सिमसारहरुमा जाडो छल्न आउने, यही फूल पारी बच्चा हुर्काएर आफ्नो ठाउँमा फर्की जान्छन् । चिन, मंगोलिया, साइवेरिया, रसिया लयागतका देशहरुबाट करिब २ सय प्रजातिका भ्रमणशील चराहरु नेपाल आउने गर्दछन् । यसका साथै गर्मी छल्न अफ्रिकी मुलुकबाट करिव ५ हजार किलोमिटरको दुरी पार गरी चराहरु नेपालको सिमसारहरुमा आउने गर्छन् ।

गण्डकी प्रदेशमा सिमसार

राष्ट्रिय ताल संरक्षण विकास समितिले २००९ मा गरेको अध्ययन अनुसार हालको गण्डकी प्रदेशमा ६४ वटा ताल र ६९ वटा हिमताल रहेको देखिन्छ । यो आँकडाभन्दा निकै नै बढी संख्यामा यस प्रदेशमा सिमसार छन् ।

यसै कारण गण्डकी प्रदेशको ताल संरक्षण तथा विकास प्राविधिकरणले यस प्रदेशका तालहरुको वास्तविक अभिलेखीकरणको कार्य सुरुआत गरेको छ । पोखरा ताल समूह भनी फेवाताल लगायत ९ वटा ताल–बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्युरेनी र गुँदे ताल २०१६ मा रामसार सूचीमा सूचीकृत भएको हो ।

यस तालको जलाधार क्षेत्र २ लाख ६१ हजार ६ सय हेक्टर र पानीको क्षेत्रफल ८ हजार ९ सय ७० हेक्टर छ । यी ताल पोखरा महानगरपालिकामा पर्छन् । गण्डकी प्रदेश तथा समग्र देशको पर्यटन विकासमा यी तालको महत्वपूर्ण भूमिका छ । वार्षिक ५ लाखभन्दा बढी विदेशी पर्यटक पोखरा आउँछन् ।

सिमसार सम्बन्धी कानुनी व्यवस्था

नेपालको संविधान २०७२ ले सिमसारको संरक्षणको विषयलाई संघीय सरकारको कार्यसूचीमा समावेश गरेको भए तापनि यसको संरक्षण र व्यवस्थापनमा तिनै तहका सरकारको उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्ने देखिन्छ ।

धेरै वा थोरै रुपमा नेपालका विभिन्न ऐन, नियम, नीति तथा निर्देशिकाहरु सिमसारसँग सम्बन्धित छन् । वन ऐन (२०१९), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (१९७३), जलचर संरक्षण ऐन (१९६१), विरुवा संरक्षण ऐन (१९७३), जलस्रोत ऐन (१९९३), वातावरण संरक्षण ऐन (१९९६), नेपाल खानेपानी संस्थान ऐन (१९८८) यस्ता केही ऐनहरु हुुन भने राष्ट्रिय संरक्षण रणनीति (१९८७), जैविक विविधता रणनीति (२००२), जलस्रोत रणनीति (२००५), जलस्रोत योजना (२००५), भू उपयोग नीति (२०१२), जैविक विविधता रणनीति तथा कार्यान्वयन योजना (२०१६) लगायत नीति तथा रणनीतिहरु पनि सिमसार क्षेत्रका संरक्षण र यसका स्रोतहरुको दीगो उपयोगसँग सम्बन्धित छन् ।

यी विभिन्न कानुन अनुसार सिमसार संरक्षण र व्यवस्थापनको जिम्मा धेरैथरी सरकारका तहहरु तथा ती अन्तर्गतका मन्त्रालय, विभाग र कार्यालयहरुमा निहित रहेको देखिन्छ ।

वन, कृषि, वातावरण, पर्यटन, विज्ञान प्रविधि, सिँचाइ, भूमिसुधार, स्थानीय विकास, शिक्षा आदि विभिन्न मन्त्रालयहरुमा छरिएर रहेको सिमसारको व्यवस्थापनको जिम्माले गर्दै सवैको स्रोत तर सबैको उपेक्षाको सिकार बन्न पुग्यो ।

अतः सिमसार संरक्षणका लागि एउटै र एकीकृत नीतिको अभावलाई मध्यनजर गर्दै राष्ट्रिय सिमसार नीति २०५९ स्वीकृत भई कार्यान्वयन भएको अवस्था छ । यस नीतिलाई समेत थप परिमार्जन र संशोधन राष्ट्रिय सिमसार नीति २०६९ समेत लागु भइसकेको छ ।

गण्डकी प्रदेशका सिमसार क्षेत्रको संरक्षण, प्रदूषण नियन्त्रण, सिमसारका पानीको गुणस्तर र शुद्धतामा वृद्धि, सिमसार स्रोतहरुको बुद्धिमत्तापूर्ण प्रयोग र सिमसार क्षेत्रलाई समग्र प्रदेशको विकाससँग सम्वद्ध गर्दै लैजाने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले २०७५ चैत २५ मा ताल संरक्षण तथा विकास प्राविधिकरण ऐन पारित गरी २०७६ फागुनमा २८ ताल संरक्षण तथा विकास प्राविधिकरण पनि स्थापना गरी सिमसार क्षेत्रहरुको संरक्षणको कार्य बढाएको अवस्था छ ।

मुख्य चुनौती

नेपालका विभिन्न भू–भागमा पाइने सिमसार क्षेत्रहरू सामान्य या कुनै स्थान विशेष खतरामा छन् । जैविक विविधता एवं जीविकोपार्जनको महत्व बोकेका यी सिमसार क्षेत्रहरू ह्रास भई क्षेत्रफल घट्दै गएको र विस्तारै त्यस्ता सिमसार लोप भएका छन् ।

मिचाहा प्रजातिका बिरुवाको अतिक्रमण, सडक तथा ठूला ठूला जलविद्युत जस्ता भौतिक विकास तथा प्राकृतिक प्रकोप एवं परम्परागत कृषि अभ्यासबाट हुने भूक्षय, जलवायु परिवर्तन, अव्यवस्थित ढल र सहरी प्रदूषण, अत्यधिक चरन, जडिबुटी संकलन र अत्यधिक पानीको प्रयोग आदि सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापनमा मुख्य चुनौती छन् ।

गण्डकी प्रदेशको सन्दर्भमा कुरा गर्दा पोखराको मुख्य आकर्षण फेवाताल वर्षै क्रमिकरुपमा पुरिँदै गइरहेको छ । यसको जलाधार क्षेत्रमा बनिरहेका अनियन्त्रित बाटोहरुबाट निस्केको माटो र ग्रेगर अन्त तह फेवातालमा आई यसलाई पुर्ने काम गरिरहेको छ ।

तालक्षेत्र अतिक्रमण, मिचाहा झार जस्तै जलकुम्भी, करौंती आदिको प्रकोप पनि फेवा लगायतको पोखराका तालहरुमा साझा समस्या छन् । ताल जस्तो सुन्दर वातावरणीय स्रोतको फाइदा लिई विभिन्न व्यवसाय सञ्चालन गर्ने तल्लो तटीय क्षेत्रका बासिन्दाहरु र यसको जलाधार क्षेत्रमा बस्ने उपल्लो तटीय क्षेत्रका बासिन्दाबीच जलाधार क्षेत्रको संरक्षणमा ऐक्यबद्धता र साझेदारी अभावमा तालहरु सबैका भए पनि संरक्षणका दृष्टिले कसैका हुन नसकेको तितो यथार्थ छ ।

सिमसारको क्षेत्रगत कानुन, व्यवस्थापनको जिम्मेवार निकाय,सम्वद्ध निकायबीच समायोजन, अन्तरनिकाय समन्वय र प्राविधिक, वित्तीय तथा संस्थागत क्षमता, सूचना र चेतना आदि विविध कमी कमजोरी सिमसार संरक्षण र व्यवस्थापनका अन्य चुनौती हुन् ।

अबको दायित्व

सिमसारहरु मानव अस्तिव, विकास र समृद्धिका लागि अपरिहार्य छन् । मुलुकको करिब ७ लाख ५० हजार हेक्टर (करिव पाँच प्रतिशत) भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । यस्तो क्षेत्रको समूचित संरक्षण, व्यवस्थापन र दिगो उपयोग गर्न अत्यावश्यक भएको छ ।

सिमसारक्षेत्र एउटा बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले यसको संरक्षण र समुचित व्यवस्थापनका लागि सम्बन्धित तिनै तहको सरकारहरु, सम्बन्धित सरकारी, गैरसरकारी, दातृनिकाय, निजी क्षेत्र र स्थानीय समुदायले आ–आफ्नो स्थानबाट सक्रिय योगदान हुन जरुरी छ ।

गण्डकी प्रदेश आफैमा पर्यटकीय प्रदेश भएको र सिमसार क्षेत्र यस प्रदेशको पर्यटन विकासको मेरुदण्डको रुपमा रहेकाले यस प्रदेशका सिमसार क्षेत्रको दीगो संरक्षण र व्यवस्थापनमा अधिकतम लगानी जरुरी छ ।

अर्कोतर्फ, सिमसारका स्रोतका प्रयोगकर्ताहरुले पनि यसबाट प्राप्त वातावरणीय सेवा वापत सिमसार संरक्षणमा उचित आर्थिक सहयोग गर्ने संयन्त्र (वातावरणीय भुक्तानी सेवा) को विकास गर्न सके सिमसार क्षेत्रको दिगो विकासका लागि आवश्यक पर्ने स्रोतको जोहो धेरै हदसम्म स्थानीयस्तरमै हुन सक्ने हुँदा यस विषयमा आवश्यक कानुन, निकाय र सयन्त्रको व्यवस्था हुन जरुरी छ ।

([email protected])

(बराल डिभिजन वन कार्यालय, कास्कीका डिभिजनल वन अधिकृत हुन्)

तपाईको प्रतिक्रिया