मुस्ताङमा थपिए प्रदेशका कार्यालय

समाधान संवाददाता २०७७ माघ २१ गते १०:५४

एसके थकाली, जोमसोम

मुस्ताङमा गण्डकी प्रदेश सरकारका २ कार्यालय स्थापना भएका छन् । गण्डकी सरकारको गत कात्तिक २७ गतेको निर्णय बमोजिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मंगलबार एकैसाथ उद्घाटन गरिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ती कार्यालय उद्घाटन गरे । मन्त्री थापामगरले जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताए । दूरदराजमा काम गर्ने कर्मचारीको मनोलव बढाउन सरोकारवालाले हौसला प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

उनले मुस्ताङका रैथाने बाली संरक्षणका लागि सरकारले विभिन्न कार्ययोजना ल्याएको जानकारी दिए । गण्डको प्रदेशको मुस्ताङसहित मनाङ र उत्तरी गोर्खालाई स्याउ हबका रुपमा विकास गर्ने योजना छ ।

त्यसका लागि प्रदेश सरकारले मुस्ताङमा २१ हजार, मनाङमा १२ हजार र गोर्खामा ३ हजार उच्च घनत्वको इटालियन जातको स्याउका विरुवा अनुदानमा वितरण गरेको मन्त्री थापामगरले उल्लेख गरे ।

Advertisement

प्रदेशले खेर गएको बाँझो जग्गामा सामूहिक स्याउ खेती प्रर्वद्धन गर्ने योजना बनाएको र त्यसका लागि कार्ययोजना निर्माण भइसकेको उनको भनाइ छ । मन्त्री थापामगरले हिमाली जिल्लाका किसानलाई स्याउ खेतीमा आत्मनिर्भर बनाउन एकमुष्ट बजेट पठाइने जनाए ।

उनले जिल्लामा सम्बन्धित कार्यालय नहँुदा जनताले उपयुक्त समयमा भरपर्दो सेवा लिन बञ्चित हुनुपरेको सुनाउँदै यसका लागि संघ सरकारबाट पनि पहल नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रदेश अन्तर्गतका कतिपय कार्यालयमा स्थानीय तह, विभिन्न आयोजना र सशस्त्र पोस्टले अतिक्रमण गरी कार्यालय राखेकोमा उनले असन्तुष्टि जनाए । मन्त्री थापामगरले अब ती कार्यालयले आफ्नो बन्दोवस्त गरी कब्जा गरिएका कार्यालय खाली गर्नुपर्ने बताए ।

संघीयताअघि मुस्ताङमा भेटनरी कार्यालय रहे पनि कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र भने नयाँ हुन् । मुस्ताङ र म्याग्दीलाई लक्षित गरी कार्यालय म्याग्दीमा स्थापना गरिएको थियो । कृषि, पशुपालन र पर्यटनको प्रचुर सम्भावना रहेको मुस्ताङमा यी कार्यालयका इकाइमात्र रहँदा सेवाग्राहीले सास्ती भोग्न बाध्य थिए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव सवनम शिवाकोटीले यसअघि मन्त्रालय अन्तर्गत २६ कार्यालय रहेकोमा अब १० कार्यालय थप भएको जानकारी दिइन् ।

प्रदेश अन्तर्गतका कतिपय कार्यालयमा जनशक्ति अभाव भएको उल्लेख गर्दै शिवाकोटीले त्यसलाई पूरा गर्न मन्त्रालयले करारमा कर्मचारी भर्ने गर्ने तयारी भएको सुनाइन् ।

कर्मचारी कम हुादा कार्यसम्पादनमा चुनौती भएको उनको भनाई छ । अहिले मन्त्रालय अन्तर्गतका कार्यालयमा ४२ प्रतिशत प्राविधिक दरबन्दी रिक्त रहेको उनको भनाइ छ ।

मुस्ताङमा च्याङग्रा पालन व्यवसायका लागि एडिबी प्रोजेक्ट अन्तर्गत ठूलो लगानी हुने पशुपछी तथा मत्स्य विकास निर्देशक डा मनबहादुर पुनले जानकारी दिए ।

उनले मुस्ताङमा भेडा, च्याङ्ग्रा र याकचौरी पालनबाट पश्मिना उद्योग खोल्न र त्यसको निर्यातबाट स्थानीय किसानलाई आत्मनिर्भर बनाउन सकिने भएकाले एडिबीले मुस्ताङमा लगानी गर्न लागेको हो । निर्देशक पुनले मुस्ताङमा सदियौंदेखि पालिँदै आएका लुलु गाईको संरक्षण र संम्वद्धनमा ध्यान दिनुपर्ने औंल्याए ।

तपाईको प्रतिक्रिया