मिडियालाई धम्क्याउने पार्टीका मान्छे होइनन्ः विप्लव समूह
समाधान संवाददाता, पोखरा
नेकपा विप्लव समूहले समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाउने भनेर आफूहरुले कुनै धम्की नदिएको जनाएको छ । पत्रकार र सञ्चारगृहमाथि आक्रमण गर्ने भनेर आफूहरुले कुनै धम्की नदिएको पार्टी उच्च स्रोतले बताएको छ ।
‘मिडिया र मिडियाकर्मीमाथि आक्रमण गर्ने भन्नेमा पार्टीले विश्वास गर्दैन । पार्टीको नाम लिएर पत्रकार धम्क्याउनेको खोजी गरेर कारबाही गर्छौं,’ स्रोतले भन्यो ।
बुधबार बिहान समाधान मिडिया प्रालिबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाइदिने धम्की आएको थियो । नेकपा विप्लब समूहको सैन्य दलको सदस्य हुँ भन्दै बुधबार बिहान कार्यालयको ल्यान्डलाइनमा फोन गरेर यस्तो धम्की दिइएको हो ।
पत्रिकामा कार्यरत कर्मचारीका अनुसार बिहान साढे ११ बजे फोन आएको थियो । ‘मेरो नाम फिरोज हो, म नेकपा विप्लव समुहको जनमुक्ती सेनामा कार्यरत छु भन्दै परिचय दिएका थिए,’ फोन उठाउने कर्मचारीले फोन गर्ने व्यक्तिको भनाइ उदृत गर्दै थपे, ‘प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले मेरो फोन उठाएन, भन्दिनु कार्यालय बमले उडाइदिन सक्छौं ।’
आफुहरुलाई मर्न र मार्न कुनै डर छैन भन्दै फोन राखिदिएको उनले बताए । धम्कीपूर्ण फोन आएको समयमा पत्रिकाको कार्यालयमा समाचार शाखाका कोही पनि उपस्थित थिएनन् ।
तपाईको प्रतिक्रिया