समाधानको कार्यालय बमले उडाइदिन्छु भन्नेलाई कारबाही गर्न माग

समाधान संवाददाता २०७७ माघ २१ गते २०:००

समाधान संवाददाता, पोखरा

समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाइदिने धम्की दिइएकोमा नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ । महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिनाले विज्ञप्ति निकालेर स्वतन्त्र प्रेसमाथि आक्रमण गरिएको भन्दै निन्दा गरेको हो ।

घटनाको बारेमा सत्यतथ्य छानबिन गर्न र धम्क्याउनेलाई कारबाही गर्न महासंघले प्रशासनसँग माग गरेको छ । महासंघले विचलित नभई आफ्नो कर्म गर्न पत्रकारलाई अपिल गरेको छ ।

Advertisement

बिहान नेकपा विप्लव समूहको सैन्य दलको सदस्य हुँ भन्दै बुधबार बिहान कार्यालयको ल्यान्डलाइनमा फोन गरेर बिना कारण धम्की आएको थियो । पत्रिकामा कार्यरत कर्मचारीका अनुसार बिहान साढे ११ बजे फोन आएको थियो ।

‘मेरो नाम फिरोज हो, म नेकपा विप्लव समुहको जनमुक्ती सेनामा कार्यरत छु भन्दै परिचय दिएका थिए,’ फोन उठाउने कर्मचारीले फोन गर्ने व्यक्तिको भनाइ उदृत गर्दै थपे, ‘प्रधानसम्पादक रामकृष्ण ज्ञवालीले मेरो फोन उठाएन, भन्दिनु कार्यालय बमले उडाइदिन सक्छौं ।’

Advertisement

आफूहरुलाई मर्न र मार्न कुनै डर छैन भन्दै फोन गर्ने व्यक्तिले फोन राखेको पत्रिकाका ती कर्मचारीले बताए । धम्कीपूर्ण फोन आएको समयमा पत्रिकाको कार्यालयमा समाचार शाखाका कोही पनि उपस्थित थिएनन् । प्रधानसम्पादक ज्ञवालीले फोनमा समस्या भएकाले मंगलबार रातिदेखि आफ्नो फोन बन्द रहेको बताएका छन् । ‘मेरो मोबाइल अफ छ, दिउँसो कार्यालय आउँदा कर्मचारीहरु डराएर आत्तिएको पाएँ ।’

‘पार्टीले होइन’

नेकपा विप्लव समूहले समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाउने भनेर आफूहरुले कुनै धम्की नदिएको जनाएको छ । पत्रकार र सञ्चारगृहमाथि आक्रमण गर्ने भनेर आफूहरुले कुनै धम्की नदिएको पार्टी उच्च स्रोतले बताएको छ ।

‘मिडिया र मिडियाकर्मीमाथि आक्रमण गर्ने भन्नेमा पार्टीले विश्वास गर्दैन । पार्टीको नाम लिएर पत्रकार धम्क्याउनेको खोजी गरेर कारबाही गर्छौं,’ स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया