खाना नपकाएको रिसमा श्रीमतीको हत्या

समाधान संवाददाता २०७७ माघ २३ गते २१:१४

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका ३३ उपल्लोपुँडी बस्ने गमबहादुर पुनको परिवारको दैनिकी ठीकठाक चलिरहेको थियो ।

आफू कृषि फर्ममा काम गर्ने, छोराहरु होटलमा । बिहान झिसमिसेदेखि अबेर रातसम्म गमबहादुर काममै हुन्थे । नजिकै भए पनि घर आउजाउको ठेगान हुन्थेन । कहिले घर आउँथे, कहिले फर्ममै बस्थे ।

Advertisement

बिहीबार राति ८ बजे घर आए । बेलाबखत खटपट भइरहने श्रीमतीसँग उनको बिहीबार पनि भनाभन भयो । भनाभनको निहुँ थियो, खाना नपकाएको ।

रिसकै झोंकमा उनले श्रीमती हरिमायाको टाउकोमा बन्चरोले हाने । ४२ वर्षीया हरिमाया ढलिन् । बिहानै उठेर काम गर्न हिँडेका गमबहादुरलाई प्रहरीले फर्मबाटै पक्राउ ग¥यो ।

Advertisement

पोखरा ३३ उपल्लोपुँडी बस्ने गमबहादुर घरनजिकैको लामगादी कृषि फर्ममा ज्याला मजदुरी गर्दै आएका छन् । श्रीमतीको हत्या गरेर घरबाट हिँडेका गमबहादुरलाई इलाका प्रहरी कार्यालय सिसुवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्र मरासिनी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका गमबहादुरले श्रीमतीको मृत्यु भएकोमा अनभिज्ञता जनाएका छन् । ‘भनाभन हुँदा बन्चरो हानेको हो । त्यसपछि म सुत्न गएँ, मृत्यु भएको थाहा भएन भनेका छन्,’ कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भने ।

गमबहादुर पुनको परिवार जस्ताले छाएको ३ कोठे घरमा बस्दै आएका छन् । एउटा कोठामा झगडा भएपछि आफू अर्को कोठामा गएर सुतेको उनले प्रहरीलाई बताएका छन् । हरेक बिहान झिसमिसेमै उठ्ने हरिमाया शुक्रबार बिहान साढे ७ बजेसम्म नउठेपछि घटना सार्वजनिक भएको थियो ।

‘छिमेकीले घरमै गएर हेर्नुभएछ । बन्चरो र रगत देखेपछि प्रहरीलाई खबर गर्नुभयो,’ एसपी श्रेष्ठले भने, ‘बेलुकी श्रीमान् घर आएको जानकारी पाएपछि खोज्दै जाँदा पक्राउ गरियो ।’ श्रीमतीको हत्या गर्न प्रयोग गरेको बन्चरो र हत्या गर्दा लगाएको ट्र्याक प्रहरीले बरामद गरेको छ ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घर भएका गमबहादुर ३० वर्षदेखि पोखरामै बस्दै आएका छन् । श्रीमती हत्यामा पक्राउ परेका उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

मृतक हरिमायाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको एसपी श्रेष्ठले बताए । प्रहरीले ज्यान मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया