राजनीतिक दलप्रति विश्वास भेटिएनः नागरिक अभियन्ता

समाधान संवाददाता २०७७ माघ २३ गते २१:३८

समाधान संवाददाता, पोखरा

लेखक युग पाठकले राजनीतिक दलहरुप्रति कसैको विश्वास नरहेको अनुभव सुनाएका छन् । संसद विघटनपछि नागरिक आन्दोलनको अगुवाइ गर्नेमध्येका १ पाठकले पोखरामा शुक्रबार आयोजित छलफलमा अनुभव सुनाएका हुन् ।

‘हामी गयौं, हिटी अभियन्ता, टुँडिखेल जोगाउने अभियन्ताहरु सबैकहाँ गयौं,’ उनले भने, ‘तर कतै पनि राजनीतिक दलहरुसँग विश्वास देखिएन ।’ उनले सर्वसाधारणलाई भेट्दा पनि झन् दलहरुप्रति विश्वास नदेखिएको सुनाए ।

Advertisement

‘सबैले जो आए पनि सरकारमा भए पनि हामीमाथि डोजर चलाउने त हो नि भन्ने छ । डोजर चलाउने भनेको सपनामाथि डोजर चलाउने हो,’ पाठकले भने, ‘त्यस कारण नागरिक आन्दोलन यस्तो जरुरी देखिएको छ कि, जसले छरिएको सपना संगालिदेओस् । कमसेकम नयाँ नयाँ पुस्ताको हातमा सपनाहरु राखिदेओस् ।’ संसारभरि नै राजनीतिक दललाई ठिक ठाउँमा ल्याउने काम नागरिक आन्दोलनले गर्दै आएको पाठकको भनाइ थियो ।

लेखक रामराज रेग्मीले नागरिक आन्दोलन राजनीतिक दलहरुको सहयोगीमात्रै हुने विचार प्रकट गरे । ‘नागरिक समाजले मात्रै डम्फु बजाएर हुँदैन, असंगठित मासले पार लगाउन सक्दैन,’ उनले भने । अहिलेको राजनीतिलाई एकल नेतृत्वले सफल गर्न नसक्ने उनको धारणा थियो ।

Advertisement

मध्यम वर्गीय अवसरवाद हावी हुँदा आन्दोलनहरु बेला बेला दुर्घटित हुने गरेको रेग्मीले बताए । ‘अति नै क्रान्तिकारी नारा दिनेहरुमा पनि कमजोरी देखियो,’ उनले भने, ‘अति नै पीडित अवस्थामा रहेको वर्गले नेतृत्व लिन सकेन । पहिला सामन्तको उत्पीडन बेहो¥यौं, अहिले नवसामन्तको ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेताहरु सत्तामा बस्न लालायित भएका कारण आजको स्थिति आएको विचार राखे ।

उनले भने, ‘त्यल्ले छोड्यो भने मैले पाउँछु भनेर नेताहरु बस्या छन् ।’ सामान्य नागरिकले आफ्ना भावना अभिव्यक्त गर्न नपाई संविधान बनाइएको हुँदा अपनत्व ग्रहण हुन नसकेको पनि उनको विचार थियो । ‘सामान्य नागरिकले संविधानमा अपनत्व लिएका थिएनन्,’ उनले भने, ‘आज ३ तहको सरकार बन्छ भन्ने हामी नागरिकले कल्पना गरेका थिएनौं ।’

पोखरामा नागरिक आन्दोलन उठाउन जमर्काे गरिरहेका युवा सुदर्शन पौडेलले आन्दोलनका लागि सबैको सुझाव सल्लाह लिएर अघि बढिरहेको सुनाए ।

तपाईको प्रतिक्रिया