म्यानमारमा ट्विटर र इन्स्टाग्राममा पनि प्रतिबन्ध

समाधान संवाददाता २०७७ माघ २४ गते १३:०२

एजेन्सी

म्यानमारमा सैन्य कूको विरोधमा आन्दोलन चर्किइरहेका बेला शनिबार ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो ।

सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गर्दै आएका थिए भने कतिपयले सोही माध्यममार्फत समर्थन जनाउँदै आएका थिए ।

Advertisement

सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई ब्लक गरिएको हो । शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो ।

नर्वेजियन कम्पनी टेलिनरलाई उद्धृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको छ । टेलिनर त्यही कम्पनी हो, जसले म्यानमारमा पनि मोबाइल सेवाहरू प्रदान गर्दै आएको छ ।

Advertisement

टेलिकम कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘देशमा जारी निर्देशन म्यानमारको दूरसञ्चार कानुनअन्तर्गत मान्य हुन्छ । तर, टेलिनरले म्यानमारको निर्देशनहरूको जरुरी र आनुपातिकताकालाई चुनौती दिएको छ ।’

म्यानमारको यस कदमलाई ट्विटरले चिन्ताजनक भनेको छ । ट्विटरका प्रवक्ताले भनेका छन्, ‘यो मानिसको आवाज दबाउने खालको निर्णय हो । ओपन इन्टरनेट संसारभर खतरामा छ । हामी विनाशकारी नेतृत्व भएको सट–डाउनको अन्त्य गर्ने पक्षमा वकालत गरिरहन्छौँ ।’

फेसबुकले समेत एक स्टेटमेन्टमा भनेको छ, ‘म्यानमारमा दूरसञ्चार प्रदायकहरूलाई स्थायी रूपमा इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिइएको छ । हामी अधिकारीहरूसँग कनेक्टिभिटी कायम गर्नका लागि अनुरोध गर्ने छौँ । म्यानमारका मानिस परिवार र साथीसँग कुराकानी गर्न सकून् र आवश्यक जानकारीको प्रयोग गर्न सकून्, हामी यही चाहन्छौँ ।’

म्यानमारको सेनाले गत सोमबार बिहान कू गरी आङ साङ सु ची, विन म्यिन्टसहित नेसनल लिड फर डेमोक्रेसी (एनएलडी)का सदस्यहरूलाई हिरासतमा लिएको थियो ।

तपाईको प्रतिक्रिया