हृदय फराकिलो बनाउने योग

समाधान संवाददाता २०७७ माघ २५ गते १७:४०


आजको दुख के हो भने धर्म—विज्ञानसम्म पुग्न चाहँदैन भने विज्ञान—धर्मलाई रुढीवादी मानेर त्यसको सकारात्मक प्रयासहरुलाई पनि सिधै नकारी दिन्छ

देवराज उपाध्याय


नेपाल देश योगको उत्पत्ति स्थान हो जहाँ आदियोगी शिवले पार्वतिलाई सर्वप्रथम योग शिक्षा प्रदान गर्नुभएको थियो । योग उत्पत्तिको कारण मनुष्य भित्रको दुख हो । दुख निवारणका अनेक यौगिक विधिहरु छन् जसमध्ये वर्तमान समयमा रोग निवारणका लागि वैकल्पिक चिकित्सामा योगलाई उपचारको राम्रो विधि मानिन्छ ।

अष्टांग आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टरमा पनि यसै विधिबाट बिरामीहरुको उपचार गरिँदै आएको छ । सामान्य अर्थमा योग भनेको जोड्नु हो जहाँ दुई पक्षलाई जोडिन्छ । शरीर र मनको जोड, आत्मा र परमात्माको जोड आदि विभिन्न परिभाषाहरु योग ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । योगको अर्थ आफ्नो चेतना वा अस्तित्वको बोध हो । यो शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन हो जसले शरीर र मनलाई सकारात्मक परिवर्तन गर्दछ ।

Advertisement


योगको विषयमा भगवद गीतामा योग कर्मसु कौसलम् भनेर परिभाषित गरिएको छ भने पतन्जली योग सुत्रमा योग श्चित्तवृत्तिनिरोध भनेर उल्लेख गरेको पाइन्छ । जसले दैनिक रुपमा गरिने सम्पूर्ण खाले कामलाई कुशलतापूर्वक सम्पादन गर्न सक्नु र चित्तका अनेर चन्चलता वा वृत्तिहरुलाई सर्वथा निरोध गरेर आफ्नो वास्तविक रुपमा स्थित हुनु भन्ने बुझिन्छ । यसको अलावा योगका विभिन्न विद्वान, महर्षि, एवं योगीहरुले आ आफ्नै अनुभव अनुसार परिभाषित गरेको पाइन्छ ।


यौगिक भाषामा योग को अर्थ आत्मालाई परमात्मासँग जोड्नु भन्ने हुन्छ । बर्तमान बैज्ञानिक युगमा आत्मा र परमात्माको कुरा गर्दा मानिसहरुले यसलाई अन्धविश्वास भनेर पनि भन्ने गर्छन् । किन कि अहिले मानिस पूर्ण रुपमा भौतिकवादमा जकडिसकेको छ । आधुनिक युगमा विज्ञानको प्रविधिसँग—सँगै सुख—सुविधाका पनि नयाँ—नयाँ साधनहरु आविस्कार भएको छ ।

Advertisement

कतै यी साधनहरुले हाम्रो जीवन सुगम—सुखमय बनाइराखेको छ भने कतै यसकाकारण अकर्मण्यता, आलश्य, प्रतियोगिता एवं परिणामतः एक—आपसमा द्वेषको भावना पनि बलवती हुँदै गइराखेको छ । यही कारणले गर्दा अधिकांश मनुष्यहरु असफलता, निराशा, हताशा, शारीरिक—मानसिक रोग, भावनात्मक असन्तुलन तथा अशान्तिसँग लडिरहेकाछन् । कुनै पनि मनुष्य पूर्णरुपेण सुखि र शान्त छैन । गहिराइका साथ विचार गर्ने हो भने सर्वसम्मतिले एउटामात्र कारण देखिन्छ, र त्यो हो — व्यक्तित्वको विघटन । यसै कारण थोरै विपरित परिस्थितिले पनि व्यक्तिलाई उद्वेलित गरिदिन्छ र त्यसदेखि बच्नका लागि ऊ सही गलतको विचार नै नगरी जे सुकै गर्नका लागि तयार हुन्छ । यसैको परिणाम स्वरुप प्रत्यक्ष रुपमा देख्न सकिन्छ—समाज, एवं राष्ट्रमा व्याप्त विविध समस्याहरु ।


यस व्यक्तित्व विघटनको उपचारका लागि धार्मिक, दार्शनिक तथा वैज्ञानिक—प्रत्येक स्तरबाट केही न केही उपाय गरिराखिएको छ तर प्रत्येक उपायहरु आफ्ना दायराहरुमा मात्र बाँधिएको अवस्था छ । आजको दुख के हो भने धर्म—विज्ञानसम्म पुग्न चाहँदैन भने विज्ञान—धर्मलाई रुढीवादी मानेर त्यसको सकारात्मक प्रयासहरुलाई पनि सिधै नकारी दिन्छ । यस कारण व्यक्तित्व विकासको प्रक्रिया अवरुद्ध हुन पुगेको छ । योग एक सर्वांगपूर्ण प्रणाली हो, यसले व्यक्तित्वमा रहेको विघटनलाई हटाउनका लागि व्यावहारिक एवं प्रयोगसम्मत उपचार प्रस्तुत गर्छ । योग आध्यात्मिक मात्र नभएर, पूर्णरुपेण वैज्ञानिक पनि हो । यसले व्यक्तित्वको केन्द्रको, मूल उपचारलाई प्रस्तुत गर्छ । जब कि अन्य विज्ञान सतहसम्म मात्र पुग्छन् ।


केही गहिरिएर नियाल्ने र समय लगाएर खोजी गर्ने हो भने योगजीवनको अति नै महत्वपूर्ण वा भनौं जीवनसँग अनोन्याश्रित सम्बन्ध राख्ने गहन पक्ष हो । जसले आज विश्वसामु आफ्नो बैज्ञानिक आधार बनाएको छ । वा भनौ पुरानो प्रमाणित पक्षलाई नयाँ पिढीका सामु उजागर गर्छ । जसको फलस्वरुप आज विश्वभर विश्वयोग दिवस मनाइन्छ ।


योग पूर्वीय दर्शनको वैज्ञानिक मार्गदर्शक हो र यसले सम्पूर्ण हिसाबले मानवीय समवेदनालाई समेट्ने गर्दछ । पूर्वीय दर्शनमा आधारित रहेर विश्वसामु आफ्नो चौतर्फी प्रभाव फैलाउँदै गएको योगको नेपालमा पनि उत्तिकै महत्व छ तर यसले प्राथमिकता पाइसकेको भने देखिँदैन । योगले तनाव नियन्त्रण गरी यसबाट उत्पन्न हुने नसर्ने रोगहरु जस्तै मधुमेह, मुटु सम्बन्धी रोगहरु, जोर्नी सम्बन्धी समस्या, मोटो पना, ब्याकपेन, थाइराइड, क्यान्सर लगायत विभिन्न प्रकारका मानसिक रोगहरु नियन्त्रण र निराकरण हुन्छ । मानसिक, सामाजिक, भौतिक एवं शारीरिक स्वास्थ्यका लागि योग प्राकृतिक औषधी नै हो । योग गर्नाले हाम्रो मस्तिष्कमा गामा एमिनो ब्युटाइरिक एसिडगाबा नामक अत्यन्तै महत्वपूर्ण न्युरोट्रन्समिटर उत्पादन हुन्छ । यसले मस्तिकलाई आनन्दमय बनाउने हुँदा हैरानी, डिप्रेसन तनाव आदि समस्याबाट मुक्त भईन्छ । योगले मस्तिष्कमा ग्रे म्याटरको मात्रा पनि बढाउँछ ।


ग्रे म्याटर हाम्रो मस्तिष्कको सेरेब्रल करटेक्स र सब कर्टिकलको बीच भागमा रहेको हुन्छ । यसको कमी भएमा स्मरण शक्तिनास हुने, तनाव बढ्ने, संवेदनशीलतामा गडबढी आउने, टाउको दुख्ने र बोलिचाली गर्दा शब्दको उचित प्रवाह नहुने हुन्छ । योग गर्नाले उक्त ग्रे म्याटरको मात्राबढ्न गई यी सम्पूर्ण समस्याबाट मुक्ति पाइन्छ र कुनै औषधी सेवन गरिरहनु पर्देन र औषधीको हानिकारक असरबाट छुट्कारा पाइन्छ । त्यस्तै गर्भवती महिलामा पनि हल्का तनाब र दुखाईको समस्या आउने हुनाले योग गरेमा मस्तिष्कमा आनन्द र आराम हुनुको साथै दुखाइको समस्या समेत हल हुन्छ । मस्तिष्कमा पाइने यो ग्रे म्याटरलाई नेचुरल पेन किलर पनि भनिन्छ ।
सोंच कल्पना शक्तिको उपज हो । जसबाट विचारको आविस्कार हुन्छ । मानव जीवनमा विचारको अत्यन्तै महत्व छ । अबको परिवर्तन विचार परिवर्तन हो ।

मानवीय मस्तिष्क सम्पूर्ण सम्भावनाहरुको केन्द्र हो । हामीले जुन कुरालाई प्रश्रय दिन्छौं भोलिको हाम्रो भविष्य पनि तदनुसार नै अगि बढ्दै जाने हो । आजको मान्छेसँग समय कम छ र जीवनका महत्वाकांक्षाहरु अधिक । साधन बढ्दै गइराखेको छ भने साधना घट्दै छ । मान्छेको शरीर फराकिलो हुँदैछ भने हृदय साँधुरो । आत्मविश्वास कम र अधिक विश्वास बढी रहेको पाइएको छ ! तसर्थ शरीर साँघुरो र हृदय फराकिलो बनाउन योग अभ्यास गरौं ।

तपाईको प्रतिक्रिया