खुले स्याङ्जाका होमस्टे

समाधान संवाददाता २०७७ माघ २७ गते १९:१९

समाधान संवाददाता, पोखरा

कोरोना जोखिमले १० महिनादेखि बन्द स्याङ्जाका होमस्टे मंगलबारदेखि खुलेका छन् । नेपालमा घरबासको थालनी भएको सिरुबारीबाट स्याङ्जाका होमस्टे खुलेको घोषणा गरिएको हो ।

सिरुबारी खुलेको घोषणा भने आँधिखोला गाउँपालिका १ का वडाध्यक्ष लोकप्रसाद ढकालले गरे । उनले सिरुबारी सुरक्षित रहेको बताउँदै ढुक्क भएर घुम्न पर्यटकलाई आग्रह गरे ।

Advertisement

सिरुबारीको बारेमा बुझ्न स्याङ्जाका २० जनाभन्दा बढी होमस्टे सञ्चालकहरु आँधिखोला गाउँपालिकाको पञ्चमूल पुगेका छन् । उनीहरुलाई सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले सिरुबारीको विशेषताबारे जानकारी गराए ।

बुधबार सिरुबारीका र अन्य गाउँका होमस्टे सञ्चालकबीच अन्तक्र्रिया हुनेछ ।

Advertisement

स्याङ्जाका ४९ होमस्टले २ हजार जना पाहुना राख्न सक्ने क्षमताको विकास गरिसकेका थिए । तर, कोभिड–१९ को संकटले सबै गाउँहरु पाहुना राख्न सक्ने नसक्ने स्थिति सिर्जना भयो र सबै गाउँ आगमन नै ठप्प भयो ।

कोरोनाको संकट कम भएर पर्यटनले लय समात्न थालेपछि फेरि स्याङ्जाका होमस्टे गाउँहरु खुलेका छन् । जिल्लाका होमस्टेमा पर्यटक बोलाउन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ ।

मंगलबार परिचयात्मक कार्यक्रमपछि फागुन २७ देखि २९ गतेसम्म सुन्तलाबारी होमस्टेमा क्यानोनिङ महोत्सव हुने भएको छ । वालिङ–४ सुन्तलाबारीमा एउटा झरना छ । त्यसको नाम कुलमान घिसिङ झरना राखिएको छ ।

त्यही झरनामा एक दिन मैत्रीपूर्ण क्यानोनिङ प्रतियोगिता र अर्को दिन महोत्सव गर्न लागिएको होमस्टे एसोसिएसन नेपाल स्याङ्जा संयोजक मोहन खनालले जानकारी दिए । चैत २७ गते सिरुबारीमै होमस्टेमा कोभिडको प्रभावबारे विज्ञसहित विमर्श हुने भएको छ ।

होमस्टे गाउँपिच्छे फरक जातजाति, संस्कृति र परम्परा छन् । स्याङ्जाका होमस्टेमा एक रातको ६ सयदेखि २१ सय ५० सम्मको प्याकेज छन् । यी सबै होमस्टे गाउँमा सडकको पहुँच पुगेका छन् ।

तपाईको प्रतिक्रिया