ड्रोन क्यामेरासहित विदेशी पक्राउ

उड्ड्यन प्राधिकरणमा दर्ता बिना र संरक्षित क्षेत्रमा स्थानीय प्रशासनको अनुमति बेगर उडान
एसके थकाली, जोमसोम
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका —१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउँदै गरेका एक विदेशी सहित ३ नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेर छोडेको छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणमा दर्ता बिना र संरक्षित क्षेत्रमा स्थानीय प्रशासनको अनुमति बेगर मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा उडाएकोले इलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले अमेरिकी नागरिक वर्ष २८ का जेम्स राई सहितका ३ जना नेपाली पक्राउ परेका हो ।
पक्राउ परेका राईको पोसपोर्ट नम्बर ५९८९२२०४५ छ । अमेरिकाबाट ३० दिनको भिसा लिई नेपाल आएका राईसहित नेपाली टोली मोटरसाइकल चढेर मुस्ताङ आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले राईले प्रयोगको ७५० ग्राम वजनको मानवरहित हवाई उपकरण ड्रोन जफत गरेको छ ।
पक्राउ परेका राईसहित ३ जनालाई सामान्य सोधपुछपछि छोडिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिए ।
उनीहरुले मुक्तिनाथ दर्शन गर्ने क्रममा मनोरञ्जनका लागि ड्रोन उडाएको प्रहरी समक्ष बताएका छन् ।
प्रहरीले जफत गरिएको ड्रोन क्यामेरा बिहीबार नागरिक उड्ड्यन कार्यालय जोमसोमलाई बुझाएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कलासंस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आमसञ्चार लगायथ विषयमा अध्ययन अनुसन्धान, सूचना सम्प्रेषण र सर्वेक्षणका लागि ड्रोन उपयोग गर्ने व्यक्ति, संघ र संस्था लगायतका निकायले नागरिक उड्ड्यन प्राधिकरणको अनुमति लिनुपर्छ ।
एक वर्ष उपल्लो मुस्ताङमा निषेधित तथा नियन्त्रित क्षेत्रमा ड्रोन उडाएकाले स्थानीय प्रशासनले एक चिनियाँ नागरिकलाई पक्राउ गरी ड्रोन जफत गरेको थियो ।
उपल्लो मुस्ताङमा ड्रोन उडाएकोले नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युनिटको ड्रोन जफत गरिएको थियो ।
तपाईको प्रतिक्रिया