छोरीले स्याहारे, किरिया पनि बसे

समाधान संवाददाता २०७७ माघ ३० गते ९:२३

समाधान संवाददाता, पोखरा

छोरा हुँदैमा सवै थोक हुन्छ भन्ने हाम्रो समाजको रीतिथिति र परम्परालाई यहाँका दुई छोरीहरुले चुनौती दिएका छन् । छोरा नभएपनि आमाप्रति जिवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सबै व्यवहार देखाएर उनीहरु समाजका लागि पनि अनुकरणीय बनेका हुन् ।

पोखरा महानगरापलिका वडा नं. १७ पाण्डवटोलस्थित स्वर्गीय आमा तिलकुमारी ढकालकोे स्याहार सुसार र मृत्यु पश्चात अन्तिम संस्कार गरेर जन्मदिने आमाप्रति छोरीहरु अप्सरा ढकाल र तुलसी ढुंगानाले सन्तानको जिम्मेवार भूमिका निर्वाह गरेका हुन् ।

२०६१ साल फागुन ७ गते दुर्घटनामा परी एउटा खुट्टा गुमाएकी आमा ढकाल जीवित भएसम्म उपचारदेखि पालनपोषण गरेर सन्तानले आमाप्रति गर्नुपर्ने दायित्व पूरा गरेका छोरीहरुले मृत्यपछि गरिने संस्कार समेत पूरा गरेका छन् ।

उमेरले ४२ वर्षीय अविवाहित कान्छी छोरी अप्सराले सेतो पहिरनमा रही नियमित काजकिरिया गरिरहेकी छन् । विवाह भएर पनि आमासँगै रहँदै आएकी जेठी छोरी तुलसीले ठाडो किरियामा बसेकी छन् ।

‘छोरा वा छोरी दुवै बराबरी हुन छोरा नभएर के भयो त महिले छोराले गर्ने सवै काजकिरियाको संस्कार गरेकी छु,’ उनले भनिन्, ‘छोरा नै हुनुपर्दछ भन्ने हाम्रो समाजको नकरात्मक सोच परिवर्तन गर्नु आवश्यक छ ।’

उनीहरुले शारीरिकरुपमा अपांग आमाको जीवित अवस्थामा स्यहार सुसार लगायत सबै कुराहरु गरेको र मृत्यु पश्चात काजकिरिया पनि संस्कार अनुसार नै गरेको छिमेकीहरु बताउँछन् ।

आमाको ७८ वर्षको उमेरमा यही माघ २० गते आप्mनै निवासमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया