नेपाली सेनाका राजन बने पोखरा म्याराथन विजेता

नेपाली सेनाका राजन रोकायाले १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जितेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घन्टा २८ मिनेट ५६ सेकेन्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु. दुई लाख तथा ट्रफी प्राप्त गरेका छन्।
त्यस्तै, द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले जितेका छन्। सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३३ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरी रु. एक लाख पुरस्कार प्राप्त गरेका छन्।
यसैगरि देवीराज बस्नेतले दुई घन्टा ४२ मिनेट ३३ सेकेन्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार रु. ७५ हजार प्राप्त गरेका छन्। पाँचथरका प्रदीप तामाङले दुई घन्टा ५४ मिनेट आठ सेकेन्डमा दूरी पार गरी सान्त्वना स्थानसहित रु. २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन्।
यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएका थियो। जसमा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि जितेकी छिन्। निर्धारित दूरी एक घन्टा २७ मिनेट आठ सेकेन्डमा पूरा गरी उनले रु. एक लाख र ट्रफी प्राप्त गरेकी छिन्।
यसैगरी जुम्लाका राममाया बुढाले एक घन्टा ३० मिनेट पाँच सेकेन्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गरेकी छिन्। उनले रु. ७५ हजार पुुरस्कार प्राप्त गरेकी छिन्।
सशस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले एक घन्टा ३१ मिनेट दुई सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरेकी छिन्। उनले रु. ५० हजार पुरस्कार पाएकी छिन्।
नेपाल प्रहरीकी रेखा विष्टले एक घन्टा ३६ मिनेट दुई सेकेन्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेकी छिन्। उनले रु. १५ हजार पुरस्कार प्राप्त गरेकी छिन्।
पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएका थियो। पुरुष म्याराथनमा २०९ र महिला हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएका थिए।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।
विगतका संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन। गत संस्करणको उपाधि जापानका खेलाडीले जितेका थिए।
पोखरामा खेलकूद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको मञ्चका अध्यक्ष गुरुङले बताए। विगतका संस्करणमा म्याराथनसहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक–फरक मितिमा आयोजना गरिएको उनले बताए।
जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड २२ फागुनमा हुनेछ। १० किमी महिला÷पुरुष दौड आगामी २४ चैतमा र पाँच किमी छात्रछात्रा दौड आगामी ४ वैशाखमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया