नाटकमा ‘परिवर्तन’ले ल्याएको परिवर्तन

समाधान संवाददाता २०७७ फागुन २ गते १३:५७

अनुप पौडेल, पोखरा

Advertisement

खचाखच दर्शकबीच नाटक ‘मौसम हराएको देश’ प्रदर्शन भयो, सोचेभन्दा राम्रो भएपछि नाटक देखाउनेलाई पनि जोस आइहाल्यो । नाटकको व्यवस्थापन खटिएका एक युवकले फ्याट्ट बोले, ‘एक वर्षमा पोखरामा नाटक घर बनाउँछौं ।’

जोसमा बोलियो, गर्नेचाहिँ कसरी ? परिवर्तन कार्की आफैंलाई बोलेको कुराले बाँध्यो । यो २०७३ भदौ दोस्रो हप्ताको कुरा हो । नाटक घर थिएन । नाटक देखाउन कहिले पोखरा उद्योग वाणिज्य संघको हल, पोखरा सभागृह र चोकचोक पुग्नुपथ्र्यो ।

Advertisement

पञ्चामृत नाट्य समूहका अध्यक्ष परिवर्तनलाई पोखराको अवस्था नियाल्दा गलत बोलेँ भन्ने लागेन । किनकि त्यो घोषणा पोखराको आवश्यकता थियो । ‘अपर्झट भनिएको कुरा थियो । पछि बनाउनुपर्छ भनेर छलफल सुरु गर्‍यौं,’ परिवर्तन सुनाउँछन्, ‘काठमाडौंतिर खासै चिनापर्ची थिएन । मण्डला र शिल्पी थिएटरमा छिरेर अरुहरु नाटक हेर्थे, मेरो ध्यान के–के प्रयोग हुन्छ भन्नेतिर हुन्थ्यो ।’

जोसमा गरेको घोषणा पूरा गर्न परिवर्तनसहितको टोली लागिप¥यो । रंगमञ्चमै रमाइरहेका अरु ३ साथीले पनि परिवर्तनको घोषणालाई साथ दिने भए । सुरुमा ४ जना साथी जुटे, अहिले २ जनामात्रै छन् ।

Advertisement

कलाकार दिल गुरुङबाहेक उनलाई शंकरनाथ कोइरालले साथ दिएका छन् । शंकरकै जग्गामा पोखरा नाटक घर बनेको हो । नाटक घर बनाउँदा परिवर्तनको स्वार्थ थियो – पहिलो नाटकमै निर्देशक बन्छु ।

नाटक घर बनिरहँदा मण्डला थिएटरका राजन खतिवडासँग भेट भयो । उनले नाटक निर्देशनसम्बन्धी १ वर्षको तालिम हुन लागेको सुनाए । परिवर्तन काठमाडौं गए । त्यहाँ गएपछि बुझे पोखरालाई कलाकार होइन व्यवस्थापक चाहिएको रहेछ ।

‘त्यहाँबाट फर्केपछि पोखराको रंगमञ्चलाई एउटा व्यवस्थापकको खाँचो छ । त्यो भूमिकामा म खुसी हुनुपर्छ, यही भूमिकामा रहेर काम गर्नुपर्छ भन्ने भएपछि पर्दा पछाडि रहेर काम गरेँ,’ परिवर्तनले सुनाए ।

२०७४ फागुन २ गते पोखरा थिएटरमा नाटक सिरुमारानी मञ्चन गरियो । सोमनाथ खनाल निर्देशित नाटकमा प्रकाश घिमिरे, माओत्से गुरुङ, धनबहादुर गुरुङ लगायतले अभिनय गरे । ‘सिरुमारानी’ बाट सुरु भएको पोखरा थिएटरको रंगमञ्चीय यात्रा आइतबार ३ वर्ष पूरा भएको छ ।

त्यही अवसरमा शनिबार नाटक घरले नाटकको ३ वर्षको उपलब्धी र अबको बाटो विषयमा केन्द्रित छलफल ग¥यो । नाटक घर सञ्चालक परिवर्तनसँगै, चर्चित कलाकार प्रकाश घिमिरे, दर्शकको प्रतिनिधित्व गर्दै नाटक पारखी अनी कर्म सहभागी छलफलमा पत्रकार अमृत सुवेदी सहजकर्ता थिए ।

पोखरा थिएटरमा ४८ नाटक मञ्चन भइसकेका छन् । कोभिड १९ का कारण रोकिएको नाटक प्रदर्शनलाई आउँदो चैतदेखि निरन्तरता दिने थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

पछिल्लो ३ वर्षको अवधिमा नाटक देखाउँदा कहिले दर्शक नै आएनन्, कहिले १/२ जनामात्रै भए । ‘जिउँदो आकाश भन्ने नाटक १५ दिनलाई भनेर ल्याएका थियौं । ३ दिनसम्म १/२ जना आउनु भयो, त्यसपछि त एक जना पनि आउनुभएन,’ परिवर्तनले सुनाए, ‘नाटक देखाउँदा दर्शक नै आउँदैनन् भन्ने कहिल्यै सोचकै थिइनँ ।’

कोही दर्शक नभएपछि सबै चिया पिउन निस्किए । साथीहरु गफिँदै चिया पिइरहेका थिए, परिवर्तनलाई ‘शून्य दर्शक’ ले झस्काइरह्यो । यो दृश्य देखेपछि अपेक्षा बढी भएछ भन्ने उनलाई लाग्यो । अपेक्षा त गर्ने तर त्योभन्दा ठूलो आफूले काम गरिरहने, कर्म गरिरहने ठूलो रहेछ भन्ने भयो ।

पछि ‘बाकस’ नाटक देखाउँदा दर्शक एकजना थिए, कलाकार २२ जना । एउटै नाटक घरले नाटक उत्पादन, मञ्चन र व्यवस्थापनको पाटो हेर्नुपर्ने बाध्यताले गर्दा रंगमञ्चमा समस्याहरु देखिएको परिवर्तन बताउँछन् ।

नाटक घेराे

उनले पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्ने आँट गरे । त्योबेला युरोपेली देश मेसोडोनियाबाट नाटक देखाउन एउटा टोली आयो । उनीहरुलाई व्यवस्थापन गर्न थिएटरलाई हम्मेहम्मे पर्‍यो । एउटा होटलमा राखे, उनीहरुलाई चित्त नबुझेपछि हामी फर्किन्छौं भन्न थाले ।

‘उनीहरुलाई राख्न राति साढे १२ बजेसम्म एकपछि अर्को होटल देखाएँ, पछि बल्लबल्ल एउटा होटलमा राखियो,’ परिवर्तन सुनाउँछन्, ‘पछि अर्को देशका कलाकारले थाहा पाएपछि किन विभेद गरेको भनेर सोधे, पछि बुझाएपछि उनीहरुले चाहिँ बुझे ।’

नाटक घर खोल्न परिवर्तनलाई ढाडस दिनेमध्येका एक हुन्, चर्चित कलाकार प्रकाश घिमिरे । फिल्मतिर व्यस्त घिमिरेले पोखरा थिएटरमा देखाइएका ४८ मध्ये ४ वटामा अभिनय गरे । कन्या माविमा पढाउने घिमिरेलाई भेट्न परिवर्तन स्कुलमै पुगे । परिवर्तनको आग्रहलाई प्रकाशले नकार्न सकेनन् ।

‘परिवर्तनसँग कुरा गरेपछि भ्याए/नभ्याए पनि मैले साथ दिनुपर्छ भन्ने भयो । पहिलापहिला कुरा गर्न आउनेहरुलाई देख्दा गर्छन् भन्ने पत्यार नै लाग्थेन,’ प्रकाशले थपे, ‘धेरैलाई निरुत्साहित गरेँ । उहाँसग कुरा गरेपछि निरुत्साहित गर्न सकिनँ ।’

अहिले राम्रै ख्याति कमाएका घिमिरे कुनैबेला पोखराको चोकचोकमा नाटक देखाउँदै गरेको भेटिन्थे । डाँफे कला मन्दिर,पोखरा उद्योग वाणिज्य संघ र पोखरा सभागृहको स्टेजमा दर्जनौं नाटक देखाएका घिमिरेलाई पनि ऊबेलाबाटै पोखरामा नाटक घर चाहिन्छ भन्ने भएको थियो । त्यो इच्छा भने उनीपछिको पुस्ता ‘परिवर्तन’ ले पूरा गर्दिए ।

‘पहिला नाटक गर्न निकै गाह्रो थियो । घरबाटै सोफा, क्यासेट बोकेर आऊ । बिग्रिए घर गएर गाली खाऊ,’ घिमिरे विगत सुनाउँछन्, ‘माओवादी जनयुद्ध आयो त्यसपछि नाटक देखाउने समूहहरु सिथिल भए । त्योबेला देशले राजनीतिक स्थिरता पाएको भए यो क्षेत्र धेरै अगाडी गइसक्थ्यो ।’

नाटकमा औधी रुचि भएकी अनी कर्म पनि पोखरा थिएटर पुगेर २ दर्जन जति नाटक हेरिन् । उनी दर्शकमात्रै होइनन्, विद्यालयमै हुँदा नाटक देखाउन सक्रिय थिइन् ।

पोखरामा नाटक हेर्ने वर्ग निकै कम रहेको उनी बताउँछिन् । ‘पोखरामा नाटक हेरिन्छ तर यो एउटा सर्कलमामात्रै सीमित छ । सबैलाई समेट्न नाटक घर कतै चुकेको होजस्तो मलाई लाग्छ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया