गण्डकी विश्वविद्यालयमा यसै वर्षदेखि पढाइ, १० करोडको भवन बन्दै

समाधान संवाददाता २०७७ फागुन ५ गते १२:३६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश विश्वविद्यालयले नेतृत्व पाएको मंगलबार वर्ष दिन पुगेको छ । प्रदेश सरकारको वार्षिकोत्सवकै दिन अघिल्लो वर्ष प्राडा गणेशमान गुरुङले विश्वविद्यालयको कुलपतिको सपथ लिएका थिए । सोही दिन क्षेत्रीय शिक्षा निर्देशनालयमा विश्वविद्यालयको कार्यालय खोलिएको थियो ।

प्रदेशमा आफ्नै दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको गण्डकी विश्वविद्यालयले १ वर्ष पूरा गरेको अवसरमा मंगलबार समीक्षा गरेको छ । विश्वविद्यालयले यसै वर्ष ३ संकायमा पढाइ सुरु गर्ने गरी पाठ्यक्रम र कक्षा सञ्चालन गर्ने अस्थायी संचना पनि तयार भइसकेको कुलपति गुरुङले जानकारी दिए ।

Advertisement

गएको असार २९ गते बेलचौतारामा १ सय ७५ रोपनी र पोखरा–३२ मा ३ सय ५१ रोपनी जग्गा प्राप्त भएको थियो । वडा नम्बर ३२ मा अहिले १० करोड रुपैयाँको लगानीमा भवन निर्माण भइरहेको प्राडा गुरुङले जानकारी दिए ।

‘हाम्रो आफ्नै भवन बन्दै गर्छ, त्यो भन्दाअघि यसै वर्षदेखि वडा नम्बर ३२ को कार्यालय रहेको भवनमा स्नातक तहको मेडिकल साइन्स सुरु गर्ने तयारी भइरहेको छ । त्यहाँ बी फार्मेसी पनि यसै वर्षदेखि पढाइ सुरु हुने छ,’ प्राडा गुरुङले भने, ‘महेन्द्रपुलमा रहेको पुरानो हुलाकको नयाँ भवनमा सूचना प्रविधिको पढाइ सुरु गर्न कोठा प्राप्त भएको छ ।’

Advertisement

त्यसका लागि पाठ्यक्रम तयार भइसकेको छ । विश्वविद्यालयमा एमबिबिएसको पाठ्यक्रम बनाउन डा. धु्रव अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको छ । विश्वविद्यालयले यसै वषभित्र्र रणनीतिक योजना पनि बनाउने भएको छ । त्यसका लागि प्राध्यापक सूर्यबहादुर जिसीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

यो प्रदेशमा कुन विषयमा पढाइ आवश्यक छ भनेर अध्ययन गर्न प्राडा विश्वकल्याण पराजुलीको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिएको कुलपति गुरुङले जानकारी दिए ।

विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन संसदबाट गत वर्ष असोज ८ गते पारित भएको थियो । विश्वविद्यालयमा अहिले कुलपति, उपकुलपति, रजिस्टार गरी ३ पदाधिकारी र ४ जना कर्मचारी छन् । गण्डकी विश्वविद्यालयको सर्वोच्च निकाय न्यासिक परिषद गठन भएको ६ महिना भइसकेको थियो ।

पहिलो वार्षिकोत्सवको कार्यक्रममा गण्डकी विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा पृथक र गुणस्तरीय बनाउनुपर्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । दक्ष, प्रविधियुक्त र राजनीति मुक्त विश्वविद्यालयको परिकल्पना आफूले गरेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

‘शिक्षा क्षेत्रमा राजनीति हाबी छ । जबसम्म राजनीतिले गाँज्छ तबसम्म विकास हुँदैन । विद्यालयमा पाठ्यपुस्तक छैन । गुणस्तरीय पढाई छैन । राजनीति छ । तालाबन्दी मात्र लगाइन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘यस्तो विश्वविद्यालय हामीलाई चाहिएको होइन ।’

तपाईको प्रतिक्रिया