मन्त्री पुन कोरोनामुक्त, फूलगुच्छा दिएर अस्पतालबाट बिदाइ

समाधान संवाददाता २०७७ फागुन ५ गते १७:४९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन कोरोना संक्रमणमुक्त भएकी छन् । मन्त्री पुनको कोरोना परीक्षण रिपोर्ट १५ औं दिनमा नेगेटिभ आएको हो ।

२१ माघमा संक्रमण पुष्टि भएपछि उनी पोखरा महानगरपालिका ३० मोहरियास्थित प्रदेश सरकारकै संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत थिइन् ।

Advertisement

कोरोनामुक्त भए पनि मन्त्री पुनको शरीर कमजोर रहेको अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।

‘शरीर कमजोर छ । केही दिन आराम गर्नु भनेका छौं,’ उनले भने । प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, अस्पताल निर्देशक डा. गौचन, अस्पतालका स्वास्थ्यकर्मीले मन्त्री पुनलाई फूलगुच्छा दिएर बुधबार बिदाइ गरे ।

Advertisement

मंगलबार प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा उनी सहभागी हुन पाइनन् ।

कोरोना पुष्टि भएका सामाजिक विकास सचिव बिनोद कुँवर अहिले होम आइसोलेसनमा छन् ।

एक हप्ता सरुवा रोग अस्पतालमा बसेका उनी आइतबारदेखि होम आइसोलेसनमा रहेको निर्देशक डा. गौचनले जानकारी दिए ।

मन्त्री पुनको रिपोर्ट पोजेटिभ आएपछि सचिव कुँवरले कोरोना परीक्षण गराएका थिए ।

उनको रिपोर्ट २४ माघमा पोजेटिभ आएको थियो । सचिव कुँवरको अवस्था सामान्य रहेको अस्पताल निर्देशक डा. गौचनले जानकारी दिए ।

संक्रामक तथा सरुवा रोग अस्पतालबाट ३ सय कोरोना संक्रमित उपचार सेवा लिएर घर फर्किएका छन् ।

गण्डकी प्रदेशमा बुधबारसम्म १५ हजार ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ३९४ जना संक्रमणमुक्त भएको र २०४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया