गण्डकीमा बिक्छ महिनामै १५ करोडको मोबाइल

अमृत सुवेदी, पोखरा
कोरोनाकालमा सबै क्षेत्र ठप्प नै थिए । पृथ्वीचोकमा मोबाइल पसल गर्ने जीवन ढुंगानाले भने लकडाउन भएको १/२ महिना पछाडिबाटै फुर्सद पाएनन् । स्मार्ट मोबाइल खोज्दै फोन आउन थाले । मान्छेले मोबाइल खोज्दै पसल चाहर्न थाले ।
उनी त एक पात्रमात्रै हुन् । उनीजस्ता थुप्रै मोबाइल पसलेलाई लकडाउन नसकिँदै व्यापार गर्न भ्याइनभ्याइ थियो । गण्डकी प्रदेशमा सामसुङ मोबाइल बिक्री गर्दै आएका सुशील गुरुङलाई खुद्राबाट दबाब आउन थाल्यो । थोकले पनि धान्न नसकेपछि नेपालकै आधिकारिक बिक्रेतालाई मोबाइलको माग पूरा गर्न दबाब पुग्यो ।
‘भएका स्मार्ट मोबाइलको स्टक सकियो । सबै नाका बन्द छन् । फ्लाइट बन्द छ । डिमान्ड भने बढेको बढ्यै छ,’ नेपालमा सामसुङ मोबाइल बिक्री गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष तथा मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्राले भने, ‘प्लेन चार्टर गरेर मोबाइल भित्र्यायौं र डिमान्ड पूरा ग-यौं ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मलहोत्राले कोरोनाकालमा स्मार्ट फोन बिक्री उत्साहजनक रहेको बताए । नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको अधिवेशनमा मलहोत्राले कोरोनाकालमा स्मार्ट फोन बढी बिक्री हुनुका मुख्य ३ कारण सुनाए ।
‘बोर्डरहरु बन्द भए चोरी, पैठारी कम भयो । आयात रोकियो । विद्यालयमा अन्लाइन क्लास सुरु भयो । धेरै कार्यक्रम अनलाइनमै हुन थाले र मान्छेहरु लकडाउनका बेला स्मार्ट फोनमा धेरै रमाउन थाले,’ मलहोत्राले भने, ‘कोरोनाकालमा सामान्य फोनलाई स्मार्ट फोनले धेरै विस्थापित ग¥यो ।’
सबै क्षेत्र ठप्प भएर राज्यको आम्दानी पनि रोकिँदा मोबाइल आयातबाट सरकारको राजस्वमा योगदान पुगेको मल्होत्राको भनाइ छ । १/२ वर्षअघिसम्म साधारण र स्मार्ट मोबाइलका प्रयोगकर्ता बराबर जस्तो थिए । तर, अहिले मोबाइल बोक्ने ७५ प्रतिशत मान्छेका हातमा स्मार्ट फोन रहेको मल्होत्राले बताए ।
कोरोनाकालमा मानिस साधारण फोनमा रमाउन नसकेको तथ्य उनले सुनाए । इन्टरको पहुँच बढेसँगै स्मार्ट फोनको प्रयोगमार्फत विभिन्न सञ्चालमा जोडिएर मानिसले दिन भुलाउन सकेको मोबाइल बिक्रेताहरु बताउँछन् ।
सबैजसो विद्यालयले अनलाइन कक्षा सुरु गरेपछि धेरै अभिभावकले स्मार्ट फोन खरिद गरे । नियमित भइरहने कार्यक्रम स्मार्ट फोनमै जुमजस्ता एप्लिकेसनमार्फत हुन थाले ।
लकडाउनको कुनै महिना १० अर्ब रुपैयाँसम्मको मोबाइल बिक्री भएको मलहोत्राले सुनाए । अरु सामान्य बेलामा २/३ अर्बको मोबाइल बिक्री भइरहेको मल्होत्राको भनाइ छ ।
‘सुरुको १÷२ महिना मोबाइल फोनको डिमान्ड एक्कासि बढ्यो । अनलाइनमार्फत माग हुन थाले । हामीसँग भएको स्टक सबै बेचिसकेका थियौं,’ उनले भने, ‘त्यसपछि चार्टर फ्लाइटमार्फत सामसुङ लगायत धेरै स्मार्ट फोन नेपालमा लकडाउनकै बीच भित्र्याइयो ।’
लकडाउनमा सामान्य समयमाभन्दा झण्डै दोब्बर मोबाइल ब्यापार बढेको उनको भनाइ छ । गण्डकी प्रदेशमा मात्र कोरोनाकालमा पनि आधिकारिक रुपमा प्रतिमहिना १५ करोड रुपैयाँ बराबरको मोबाइलको कारोबार भइरहेको मोबाइल वितरक संघ गण्डकी अध्यक्ष शिव पहारीले बताए ।
कोरोनाकालमा मोबाइल डिमान्ड पूरा गर्न त्यो ठूलो चुनौती रहेको र त्यो पूरा गरेको अर्का मोबाइल आयातकर्ता सञ्जय मल्होत्राले बताए ।
‘डिमान्ड पूरा गर्न ठूलो चुनौती थियो । चाइना, भियतनाम, हङकङबाट लगायतका देशबाट मोबाइल ल्याउँथ्यौं,’ उनले भने, ‘कोरोना कालमा राम्रो व्यापार नगरेको भए अहिले हामीलाई किस्ता तिनै गाह्रो हुने थियो ।’ मोबाइल व्यापारमा कोरोना कालमा फड्को नै मारेको उनको अनुभव छ । कोरोनाको बेला उपभोक्ताले सही मूल्यमा मोबाइल प्राप्त गरेको उनको दाबी छ ।
आधा मोबाइल चोरीका
लकडाउनमा स्मार्ट फोन बिक्री भएको रेकर्ड देखिनुको मुख्य कारण वैध व्यापार हो । आयातकर्ता संघका अध्यक्ष मल्होत्रा भन्छन्, ‘नेपालमा झण्डै ५० प्रतिशत त चोरी, पैठारीका मोबाइल बिक्री भइरहेका छन् ।’
राज्यको विधि मिचेर, भन्सार छलेर ल्याइने मोबाइलले नेपाली बजार कब्जा गरिरहेको मल्होत्राको भनाइ छ । ‘सामसुङ, एमआइ जस्ता स्मार्ट फोन एक्टिभेट भएको बेलाको रेकर्ड हेर्दा कहाँबाट बिक्री भएको मोबाइल हो भन्ने देखिन्छ,’ उनले भने, ‘५० प्रतिशत फोन त चोरीपैठारीबाट आइरहेको छ ।’
लकडाउनमा उकालो लागेको बजार भारतीय नाका भएर मोबाइल तस्करी हुन थालेपछि ओरालो लागेको उनको भनाइ थियो । ‘नेपालमा धेरै कुराको तस्करी हुन्छ तर मोबाइल फोन पनि तस्करी भइरहेको छ भनिरहनु परेको छ,’ उनले भने, ‘अब चोरी, पैठारी बढ्यो, मोबाइल व्यापार घट्यो ।’
दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्ने हो भने स्मार्ट फोन प्रयोगकर्ताको ग्राफ भने बढिरहेको उनी बताउँछन् । ‘वैधानिक व्यापार भने कम भइरहेको छ । मोबाइलको चोरी पैठारी रोकिन सकेको छैन,’ मल्होत्राले भने, ‘ग्राहकले पनि कुन चोरी हो, कुन होइन भन्ने बुझ्दैन ।’
मोबाइल आयात र कारोबारबाट वर्षको २० अर्ब रुपैयाँ राज्यलाई कर बुझाइरहेको उनको दाबी छ । राजस्वको दायराबाट भागेर व्यापार गर्ने काम भइरहँदा पनि आफूहरुले केही गर्न नसकेको उनले बताए । नेपालमा अहिले सबैभन्दा धेरै आयात हुने सामग्रीमा मोबाइल तेस्रो नम्बरमा रहेको उनीहरुको भनाइ छ ।
गण्डकी प्रदेशमा प्रतिमहिना १५ करोडभन्दा बढी मोबाइल कारोबार हुने र त्यसबाहेक ४० प्रतिशत त चोरीकै मोबाइल बिक्री हुने गरेको तथ्यांक प्रदेश अध्यक्ष पहारीले सुनाए । ‘चोरी, पैठारीका मोबाइल कारोबार गरेको देख्दादेख्दै पनि टुलुटुलु हेरे बस्नुपर्ने अवस्था छ,’ पहारीले भने, ‘पोखरामा पनि फलफूल र तरकारीको गाडीभित्र पनि बट्टामा पनि मोबाइल आउने रहेछ ।’
उपभोक्ताले पनि भ्याट बिल चाहिँदैन, सस्तो मोबाइल दिनुस् भन्ने गरेको उनले सुनाए । राजस्व छलेर भारत र अन्य देशबाट आउने मोबाइल वितरकको टाउको दुखाइ बनेको छ ।
नेपालमा स्मार्ट फोनले बजार कब्जा गरिरहेको भए पनि यसको प्रयोगमा अझै स्मार्ट हुन नसकेको उनीहरुको भनाइ छ । काठमाडौं अपराध महाशाखामा समेत काम गरेकी वडा प्रहरी कार्यालय बैदामकी डिएसपी चिनीमाया तामाङ चोरीका मोबाइल प्रहरीको पनि टाउको दुखाइ बनेको बताउँछिन् ।
‘पोखरामा चोरी भएको मोबाइल काठमाडौंमा चल्छ, नेपालमा चोरी भएको मोबाइल भारतमा चलिरहेको हुन्छ । चोरी पैठारी प्रहरीकै टाउको दुखाइ बनेको छ,’ तामाङले भनिन् ।
स्मार्ट मोबाइलका प्रयोगकर्तालाई त्यसको सदुपयोग पनि स्मार्ट बनाउन अझै शिक्षा दिनुपर्ने सरोकारवाला बताउँछन् । ‘हेलो भन्न, एसएमएस पठाउन, फेसबुक र युट्युब हेर्नमात्रै होइन । यसको विभिन्न सुविधाको प्रयोगलाई पनि स्मार्ट बनाउनुप¥यो,’ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले भने ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया