किशोर साहित्य नलेखेको पश्चातापमा नयनराजको यात्रा

समाधान संवाददाता २०७७ फागुन १० गते २०:०७

पाेखरा

विश्व सिग्देल आफ्ना किशोरवय सम्झँदा किताबहरु खासै सम्झन पाउँदैनन् । हुन पनि उनका पालामा बालबालिका र किशोरकिशोरीले पढ्ने किताबै पाइनन्थ्यो ।

भन्छन्, ‘आसामका नेपालीले लेखेका किताब लाहुरेहरुले ल्याउँथे । एउटै किताब दसौं हजारले पढ्थे ।’ सिग्देल आफ्ना पालामा मधु मालतीका कथा, सुब्बा होमनाथ र केदारनाथहरुले लेखेका धार्मिक किताब आफ्ना बाबुले पेटारोमा राख्ने गरेको सम्झन्छन् ।

Advertisement

उहिलेका हैन अहिलेका किशोरका लागि पनि किताब पाइन्न भन्छन् लेखक नयनराज पाण्डे । चर्चित उपन्यासकार उनी अहिले आफू लेखक भएर पनि किशोर साहित्य नलेखेको पश्चातापमा छन् ।

त्यही पश्चताप स्वरुप आफू एउटा यात्रामा रहेको उनले सुनाए । उनकै भनाइमा त्यो यात्रा कृष्णदीप सिग्देलसँगको यात्रा हो । सिग्देलले एउटा उपन्यास लेखेका छन्, सेकुवा ।

Advertisement

किशोर साहित्य हो यो । यही किताबको ब्रान्ड एम्बेस्डर जस्तै बनेर आफू काठमाडौंबाट धादिङ, पोखरा लगायत ठाउँमा निस्किएको उनले सुनाए । सोमबार विश्व सिग्देल र पाण्डे त्यही किशोर उपन्यास सेकुवाको परिचर्चामा पोखरामा बोल्दै थिए ।

‘किशोर साहित्यको अभाव पूर्तिका लागि मैले किन लेख्न सकिनँ भनेर पश्चातापमा छु, त्यसैले यो यात्रामा छु,’ नयनले भने । उनले कृष्णदीपसँग बालसाहित्य र किशोर साहित्यका धेरै औजार सिकेको पनि सुनाए । अनि फेरि भने, ‘यो यात्रा शिष्य यात्रा पनि हो ।’

किशोर साहित्य लेख्ने प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । कृष्णदीपको उपन्यास सेकुवामा जनावार पात्रलाई मानवीकृत गरिएको उनले खुलाए । किशोर साहित्व वा बालसाहित्य लेखन सजिलो नभएको उनको भनाइ थियो । तर उनकै भनाइमा किशोर साहित्यका बारेमा प्राज्ञहरुको बुझाइ पनि बडो दयनीय छ ।

‘हामीले किशोरका निम्ति पढ्ने अभ्यास गराउने, पढेर ज्ञान लिने, उत्पादकत्वको साधन बनाउने गरी हाम्रा लेखकको ध्यान गएन, हाम्रो राज्यको ध्यान गएन,’ विश्वले बताए, ‘हामी अभिभावकको पनि कमजोरी छ, हामीले पढ्नका निम्ति प्रेरित गर्न सकेनौं ।’

सेकुवा उपन्यास पुस्तक पढ्ने बानी विकास गर्न कोसेढुंगा प्रमाणित होस् भन्ने शुभेच्छा उनले व्यक्त गरे । ‘यो किताबमा सामान्य कथा छैन, कथा वाचन शैली पनि सामान्य छैन, फरक छ,’ उनले भने, ‘नयाँ प्रयोग छ । उपन्यास विधामा यस्तै प्रयोग मैले अन्त पढ्न पाएको छैन ।’

तमु साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले पनि नयन र विश्वका भन्दा फरक अनुभव साटिन् । पुस्तकालय पस्दा आफ्ना सन्तानका लागि काम लाग्ने किताब भेट्न मुस्किल हुने गरेको उनले सुनाइन् ।

अचेलका बच्चाले अंग्रेजी माध्यम पनि रुचाउने हुँदा नेपाली र अंग्रेजी गरी दुवै भाषामा किताब निकालिनुपर्ने गौरीले सुझाइन् । भद्रकाली माविका सहायक प्रअ राजेन्द्र भण्डारीले सेकुवा उपन्यासमाथि पोखरामा परिचर्चा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उपन्यासकार कृष्णदीप सिग्देलले सेकुवामा मानव पात्र नभएको जानकारी दिए । कथा र विषयका हिसाबले आफ्नो उपन्यास बाल साहित्य नै भएको उनले जनाए । स्वैरकल्पना गरी लेखेको उपन्यास परीक्षणका रुपमा ल्याएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया