क्यानडा उडाउन दिल्ली कनेक्सन

क्यानडा पठाइदिन्छु भन्दै ३३ जनाबाट ९० लाख रुपैयाँ असुले, पैसा भारत पुर्याउने भण्डारीलाई प्रहरीले भेटेन
अनिष भट्टराई, पोखरा
पर्वत मोदी–७ का धीरज विक वैदेशिक रोजगारीका लागि ओमानमा थिए । त्यहाँ हुँदा उनको भेट भीमबहादुर सुनारसँग भयो । सुनारसँग धीरजको कुराकानी बाक्लो हुन्थ्यो ।
बढ्दो निकटता पछि सुनारले अनलाइनमार्फत भिसा अप्लाई गरेर भारतको बाटो हुँदै नेपालीलाई क्यानडा लैजाने गरेको धीरजले थाहा पाए ।
धीरजलाई सुनारले ‘अफर’ गरे । प्रत्येक व्यक्तिसँग १५ लाख लिएर क्यानडा लैजाने र सोबापत् धीरजलाई २ लाख ५० हजार रुपैयाँ दिने प्रस्ताव सुनारको थियो । धीरजले प्रस्ताव स्वीकारे । उनलाई अब धेरैभन्दा धेरै मान्छे क्यानडा जान फकाउनुपर्ने थियो ।
धीरजले आफ्ना साथी दीपक कार्कीलाई अफर गरे । दीपकले क्यानडा जान मान्छे खोजेबापत् ५० हजार रुपैयाँ दिने धीरजको आश्वासन थियो । युनियन लाइफ इन्सोरेन्समा कार्यरत दीपक पनि क्यानडा जान मानिसलाई प्रलोभनमा पार्न थाले ।
धीरजकै भनाइमा सुनार दिल्लीमा बस्थे । सुनारलाई यहाँबाट पैसा पठाउन बुटवलका शिक्षादेव भण्डारीले सहयोग गरे । अनि सुरु भयो मानिसलाई झुक्काउने खेल ।
२ वर्षबाट सुरु भएको यो खेलको सिकार धेरै बने । प्रहरीलाई जाहेरी पाएपछि खुल्न थालेको यो खेलको पर्दा विस्तारै उघ्रदैछ ।
माघ दोस्रो साता कास्की प्रहरीले ठगी मुद्दामा पर्वतका धीरजलाई पक्राउ ग¥यो । पोखरा–३० सिसुवा बस्दै आएका ३८ वर्षीय धीरजलाई ३३ जनाबाट ९० लाख ७१ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्रियो ।
धीरजलाई ३३ जनामध्ये कोहीले व्यक्तिगत त कोहीले संयुक्त जाहेरी दिएका थिए । ३३ जनासँग धीरजले १ लाख देखि १५ लाखसम्म लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा १० जनाले संयुक्त जाहेरी दिएका थिए । भेषबहादुर पुन मगर, बिलबहादुर पुन मगर, चोलाकान्त सुवेदी, उत्तम तिवारी, इमानबहादुर भुजेल, निरल अर्याल, सुरेन्द्र पौडेल, ढुण्डिराज ढकाल, नन्दबहादुर घर्ती र भक्तबहादुर घर्तीले आफूहरुलाई धीरजले ठगी गरेको भन्दै एकमुष्ठ १७ लाख ४६ हजार बिगो असुल्नु पर्छ भनी जाहेरी दिएका थिए ।
अर्का जाहेरवाला उमेश थापालाई उनले पटकपटक गरी १५ लाख रुपैयाँ ठगेको जनाइएको छ । करिब ३ महिना अगाडि आफूलाई १५ लाखमा युरोपेली देश पठाउँछु भनेपछि आफूले सो रकम तिर्न तयार भएको बताएका थिए । थापाबाट सुरुमा धीरजले ३ लाख नगद पेश्की लिएका थिए । पछि भिसा आयो भनेर ७ लाख नगद र ५ लाखको चेक विकले लिए ।
थापालाई १५ लाख ठगेका धीरजले अर्का व्यक्ति विक्रम कार्कीबाट करिब ११ लाख रुपैयाँ ठगी गरे । विक्रमबाट धीरजले १० लाख ३६ हजार रुपैयाँको चेक लिएका थिए ।
योबीचमा धीरजले अन्य व्यक्तिबाट पनि रकम असुलेका थिए । उनले सबैको विश्वास जित्न विभिन्न बैंकका चेक दिए । उनले प्रहरीसमझ बयानमा भनेका छन्, ‘विक्रमबाट लिएको पैसा उमेशलाई चेक दिएँ र उमेशबाट लिएको पैसालाई देखाएर विक्रमलाई चेक दिएँ ।’
प्रहरीले आइतबार धीरजलाई कास्की अदालतको कठघरामा उभ्यायो । अदालतमा उनले आफूले ठगी नगरेको र साँच्चिकै भिसा लगाइदिने गरेको बताए । उदाहरणमा उनले उमेश थापा र विक्रमको भिसा एप्रुभ भइसकेको समेत बयान दिए ।
‘मैले विक्रम र उमेशको भिसा एप्रुभ भएको जानकारी घरमै गएर दिएको हुँ, अरुको पनि काम हुँदै थियो, कोरोनाले रोकिदियो,’ अदालतमा उनले भने । दुईजनाको भिसा लगाइसकें भन्ने धीरजको आफ्नै वैध म्यानपावर कम्पनी भने छैन ।
धीरजले सबै व्यक्तिको नागरिकताको प्रतिलिपि, फोटोहरु कुरियरमार्फत भीमबहादुर सुनारलाई पठाउने गर्थे । सुनार दिल्लीमा बस्ने डेरामै कागजात पठाउने गरेको उनको दाबी छ । ‘३३/३४ जनाको डकुमेन्ट स्क्यान गरेर भारत नै पठाउने गरेका थियौं, कुरियर र कहिलेकाहीँ शिक्षादेवले नै लैजाने गर्थे,’ उनले अदालतमा भनेका थिए ।
धीरज आफूले लिएको रकम फिर्ता गरिसकेको र धेरै जनाबाट दीपक कार्कीले नै रकम असुलेको बयान दिए । आफूबाट दीपक कार्कीले अहिलेसम्म १८ लाख रुपैयाँ कमिसन लिएको र आफूले दिन भए जति सबैलाई फिर्ता दिइसकेको उनले अदालतसमक्ष बताएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी नील पनेरुले बताए ।
१८ लाख दीपकले र बाँकी पैसा भीमबहादुर सुनारले लिएको उनको बयान थियो । उनले दिएको बयान अनुसार शिक्षादेव भण्डारीमार्फत् धीरजले एकपटकमा ४२ लाख र अर्को पटकमा ३२ लाख ६५ हजार रुपैयाँ सुनारलाई पठाएका थिए ।
तर अदालतमा दीपक कार्कीले बयान दिँदा आफूले धीरजबाट एक रुपैयाँ नलिएको र उल्टै ९० हजार रुपैयाँ धीरजबाट लिन भएको बताएका थिए । सुरुमा आफूले ५÷७ जनालाई धीरजसँग भेट गराइदिएको भने उनले स्वीकारेका छन् ।
धीरजले भनेअनुसार बुटवलका शिक्षादेव भण्डारी प्रहरीले भने फेला पारेको छैन ।
धीरजले प्रहरी र अदालतमा शिक्षादेव भण्डारीमार्फत पैसा पठाउने गरेको बताए पनि ती मान्छे आफूहरुले नभेटेको कास्की प्रहरीका प्रवक्ता सुवास हमाल बताउँछन् । साथै भीमबहादुर सुनार दिल्ली बस्ने भनिए पनि नेपालमै रहेको हुनसक्ने र भण्डारीलाई ‘भरिया’ का रुपमा प्रयोग गरिएको हुनसक्ने प्रहरीको आँकलन छ ।
‘भीमबहादुरको घर गुल्मी भएको बताइएको छ, कहाँ बस्छ भन्ने नै धीरजले खुलाउँदैन, शिक्षादेव भनिने मान्छे सम्पर्कमै छैन,’ हमालले भने ।
९० लाख ठगी अभियोगमा जेल चलान
कास्की जिल्ला अदालतले क्यानडा लैजाने भनेर थुप्रै व्यक्तिलाई ठगेको अभियोगमा धीरज विकलाई कारागार पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विश्वकर्मालाई कारागार पठाउन आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुका अनुसार आइतबारको पेसीमा बहस गर्दा धीरजलाई कारागार पठाउने आदेश आएको हो ।
‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को अवस्था देखिँदा प्रमाण बुझ्दै जाँदा ठहरेबमाजिम हुने गरी हाललाई कानुन बमोजिम सिधा खान पाउने गरी कारागार पठाइदिनू,’ भनी आदेश गरिएको पनेरुले बताए ।
दीपक भनिने भोजबहादुर कार्कीलाई अदालतले १८ लाखको धरौटी बुझाउन आदेश गरेको छ । कार्कीले धिरजबाट केही रकम लिएको स्वीकारेको हुँदा प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी धरौटी माग गरिएको हो ।
उनले धरौटी रकम नबुझाएपछिझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी धरौटी माग गरिएको हो । धरौटी रकम नबुझाएपछि कार्कीलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी पनेरुले बताए ।
तपाईको प्रतिक्रिया