ओली जी, पार्टी अध्यक्षबाट पनि राजीनामा दिनुस्

समाधान संवाददाता २०७७ फागुन १२ गते १२:२४

रामकृष्ण ज्ञवाली

यतिबेला सञ्चार माध्यम र सामाजिक सञ्जालका भित्ताहरु देशको पछिल्लो राजनीतिको क्रियाप्रतिक्रियाले भरिएका छन् । सर्वोच्चले गरेको फैसलापछि खुसी मनाउनेहरु बुरुक्कै उफ्रिएका छन् । उनीहरुको खुट्टा अहिले त भुइँमा छैनछैन, हेर्दा यस्तो लाग्छ अब कहिले पनि भुइँमा ओर्लिनै पर्दैन ।

अर्कोतिर मातम मनाउनेहरु छन् । उनीहरु कि त चुपचाप छन्, कि विभिन्न बहाना बनाएर बदलाको भाव पोखिरेका छन् । सर्वोच्चको फैसलाले दिएको पीडाको आगो ओकलिरहेका छन् ।

Advertisement

सर्वोच्चको यो फैसलालाई पक्ष र विपक्षमा ब्याख्या गरेर जीत र हारको श्रेय लिने र दिने होडबाजी भइरहेको छ । यहाँ देशले जित्ने र हार्नेभन्दा पनि झुण्ड वा समूहको जीत र हारलाई प्रतिष्ठाको विषय बनाइँदैछ ।

यो फैसलाले उनको व्यक्तित्वमा ठूलो क्षति पुगेको सत्यलाई स्वीकार गर्नैपर्छ । राजीनामा दिएर तत्काल संसद अधिवेशन बोलाउन सिफारिस गर्ने कदमले यो क्षतिको केही मात्रामा पूर्ति गर्नेछ भने खस्केको व्यक्तित्वलाई अलिकति उचो पार्नेछ ।

Advertisement

सर्वोच्चको फैसलापछि अब के हुन्छ भन्ने प्रश्न सबैभन्दा बढी सोधिएको छ । मातम मनाउनेहरुले यसको जवाफ यसरी दिइरहेका छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिनै हुन्न, दिनु हुन्न । संसदको फेस गर्नुपर्छ, गर्नुहुन्छ ।’ विजयउत्सव मनाउनेहरुले भनिरहेका छन्, ‘अब ओलीसँग छलफलै हुन्न, उनलाई गलहत्याइन्छ ।’

केपी ओली, पार्टी र देशको भलो चिताउनेले होइन, कूभलो चिताउने र आफ्नो मात्र स्वार्थ हेर्नेहरुले भनिरहेका छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिन हुन्न, संसदको सामना गर्नुपर्छ ।’ यो प्रवृति नमरुन्जेलसम्म खुट्टा तन्काउने प्रवृति हो । रातपछि दिन आउँछ भन्ने ध्रुव सत्यलाई पनि विश्वास गर्न नसक्ने कमजोर र कायरहरुको तर्क हो ।

राजनीतिमा नैतिकताले ठूलो अर्थ राख्छ । केपी ओलीलाई योभन्दा ठूलो नैतिक संकट न हिजो परेको थियो, न भोलि पर्नेछ ।

यो फैसलाले उनको व्यक्तित्वमा ठूलो क्षति पुगेको सत्यलाई स्वीकार गर्नैपर्छ । राजीनामा दिएर तत्काल संसद अधिवेशन बोलाउन सिफारिस गर्ने कदमले यो क्षतिको केही मात्रामा पूर्ति गर्नेछ भने खस्केको व्यक्तित्वलाई अलिकति उचो पार्नेछ ।

आफ्नो विरासतलाई पुन फर्काउने अठोट लिने हो भने केपी ओलीले अझै ठूलो छाती बनाएर पार्टी अध्यक्षबाटसमेत राजीनामा दिएर तत्काल महाधिवेशनको माग गर्नु पर्छ ।

ओली, पार्टी र देशकै लागि यो सबैभन्दा उत्तम विकल्प यही हो । यसो गर्दा पार्टी पनि जोगिन्छ र कार्यकर्ताले विश्वास गरे फेरि सिंगै नेकपाको अध्यक्ष बन्न सक्ने बाटो खुलै रहन्छ ।

आज जोजोले केपी ओलीलाई भेट्नु हुन्छ, उहाँको भलो चाहाने हो भने यही सल्लाह दिनु होला । अलि विशेष छलफल गर्नु होला । प्रधानमन्त्री बोलेको मात्र सुनेर नफर्किनु होला ।

अरु थप क्षति हुनबाट रोक्नु होला । पार्टीको सर्वोच्च निकाय महाधिवेशन हो, त्यहीँ जाऔं, अहिलेलाई हार स्वीकारौं भन्ने सुझाव दिन सक्नु भएन भने तपाईहरुसंग भविष्यमा पछुताउनुबाहेक कुनै विकल्प बाँकी रहनेछैन ।

तपाईको प्रतिक्रिया