पोखरा प्रज्ञा प्रतिष्ठानमा ढकाल कुलपति

समाधान संवाददाता २०७७ फागुन १२ गते १५:३४

समाधान संवाददाता, पाेखरा

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानमा ७ जना नियुक्त भएका छन् । मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा सदस्य चयन गरेका हुन् ।

प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन् । सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक चुनिएका छन् । सबैलाई मेयर जिसीले बुधबार नियुक्ति दिएका हुन् । उपकुलपति चुनिन भने बाँकी छ ।

Advertisement

प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए ।

११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।

Advertisement

समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा परेकामध्ये लोकप्रिय गायक धनबहादुर गायकको माघ १२ गते निधन भएको थियो । महानगरपालिकाले उनका छोरा दिलीप गायकलाई महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेको छ । सिफारिस समितिसँगको सल्लाहमै दिलीप नियुक्त भएका हुन् ।

सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ ।

ती ८ जनाबाटै २ जनाचाहिँ कुलपति र उपकुलपति चयन हुने छन् । तिनै ८ जनाबाट अरु २ जना परिषद सदस्य हुनेछन् । ४ जनाचाहिँ सभा सदस्य हुन्छन् ।

प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य सचिव रहने व्यवस्था भएकाले महानगर प्रमुख जिसीले कार्यपालिका सदस्य २ जनालाई पनि सदस्यका रुपमा नियुक्त गर्नेछन् । मानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।

कुलपतिमा सम्भावित लोकगायक ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन् । लेखनाथ साहित्य प्रतिष्ठानका उनी पूर्वअध्यक्ष हुन् ।

सदस्य नियुक्त सरस्वती श्रेष्ठ सरु कवि हुन् । उनी अत्यन्त्रै क्रियाशील स्रष्टा हुन् । साहित्य सेवामा खटिँदै आएका प्रकाश ज्ञवाली पोखराको सबैभन्दा पुरानोमध्येको एक साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष छन् । उनको गजल संग्रहको एउटा कृति प्रकाशित छ ।

मीलन शेरचन चित्रकार हुन् । ललितकलाका अलाबा उनी जापानी चित्रकला हानानो ओसिनावामा पनि पारंगत छिन् । जीवन दाहाल लोकदोहोरी गायक हुन् । कृष्णप्रसाद भण्डारी लोकदोहोरी गाउँछन् ।

तपाईको प्रतिक्रिया