प्रदेशस्तरीय लोकदोहोरी स्पर्धा हुने

समाधान संवाददाता २०७७ फागुन १४ गते १५:०९

समाधान संवाददाता, पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले कोरोना कहरका कारण ठूूला मेला, महोत्सवको सट्टामा साना स्तरको लोक दोहोरीका कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले विगतदेखि गर्दै आएको वृहत लोक साँस्कृतिक महोत्सवलाई कोरोनाको प्रकोप नियन्त्रणमा नआएका कारण दोहोरी गीत प्रतियोगितामा रुपान्तरण गरेको जानकारी दिए ।

Advertisement

सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा प्रतिष्ठानले प्रदेशका जिल्लास्तरमा प्रतिनिधि छनौट गर्ने जानकारी दिए । उनले जिल्लाबाट आएका प्रतियोगी तथा प्रदेशको १ टिम गरी १० टिमबीच फागुन २५ गतेभित्र प्रदेशले क्वाटरफाइनल प्रतिस्पर्धा गर्ने बताए ।

दोहोरी गीत प्रतिष्ठानको स्थापना दिवस ‘लोक दोहोरी दिवस’ अवसर पारेर फागुन २९ गते सेमीफाइनल र फाइनल प्रतिस्पर्धा गराई सोही दिन पुरस्कार वितरणसहित समापन गर्ने उनले जानकारी दिए ।

Advertisement

‘कोरोनाको संक्रमण तथा प्रकोप पूर्ण रुपमा नियन्त्रण नआएका कारण सकभर साना साना स्तरका कार्यक्रम गर्ने योजना बनाएका छाैँ,’अध्यक्ष गुरुङले भने, ‘निश्चित व्यक्तिलाई भिआइपी पास दिएर नेपाल पर्यटन बोर्डको सभाहलमा प्रतियोगिताको फाइनल गर्नेछौं ।’

उनले प्रतियोगिताको लागि जुरी निर्णायक, प्राविधिक निर्णायक टिम बनाएको जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा द्वितीय हुनेले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने समूहलेनगद ११ हजार १सय ११ सहित प्रमाणपत्र, पुरुषतर्फ राम्रो गायकलेनगद ५हजार ५ सय ५५ रुपैयाँ र महिलातर्फ राम्रो गायिकाले नगद ५हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र पाउने छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले कोरोना कहर अझै बाँकी रहेको परिप्रेक्ष्यमा प्रतिष्ठानले ‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’को नारा तय गरेको जानकारी दिए ।

उनले गीत संगीतलाई जीवनको अपरिहार्य औषधी मानेको उल्लेख गरे । उनले अग्रजको सम्मान र अनुजलाई प्रोत्साहन गर्ने अवधारणा कार्यान्वयन गर्न नयाँ र पुराना कलाकारको पुनर्मिलन गर्नुपर्ने खाँचो औंल्याए ।

तपाईको प्रतिक्रिया