सहारालाई लुम्बिनी बैंकको २ लाख सहयोग

समाधान संवाददाता २०७७ फागुन १५ गते ६:५८

समाधान संवाददाता, पोखरा

लुम्बिनी विकास बैंकले सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ बालकलाई १ वर्षको खाजाका लागि आवश्यक रकम बैंकले सहयोग गरेको हो ।

बैंकको तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, मुख्य प्रबन्धक दीपक खनाल, प्रबन्धक सुकदेव पहारी, पोखरा रामबजार शाखा प्रवन्धक बालकृष्ण बन, न्युरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगायतले सहारा क्लबका अध्यक्ष केशव थापालाई सो रकमको चेक हस्तान्तरण गरे ।

Advertisement

सामाजिक उत्तरदायित्व अन्तर्गत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए । ‘बैंकले सहारा क्लबलाई ३ वर्षदेखि सहयोग गर्दै आएको छ,’ सिग्देलले भने ‘यस फुटबल विकासमा टेवा पुग्नेछ ।’ उनले बैंकले सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य ठाउँमा पनि सहयोग गर्दै आएको बताए ।

‘आमा बाबु नभएका बालकलाई अभिभावकत्व दिनु सहज छैन,’ उनले भने ।

Advertisement

क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको बताए । पूर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समयदेखि बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको स्मरण गरे ।

कार्यक्रममा सहारा क्लबका सचिव सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमीका बारेमा जानकारी दिएका थिए । क्लबले २०६१ सालबाट एकेडेमी सञ्चालन गरेको हो । एकेडेमीमा अहिले २४ कठिन परिस्थितिका बालक आश्रित छन् ।

‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ एटिएमबाट सेवा प्रदान गर्दै आएका छ । बैंकले विभिन्न प्रकारका निक्षेप, कर्जा, एबिबिएस सेवा, मोवाइल बैंकिङ, एटिएम, लकर लगायतका सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया