पोखराको हङकङ बजार र श्री कम्प्लेक्समा अब मोबाइलबाटै भुक्तानी, ट्याक्सीमा छिट्टै

समाधान संवाददाता २०७७ फागुन १५ गते ७:०३

समाधान संवाददाता, पोखरा

माछापुच्छ्रे बैंकले पोखरामा क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार पृथ्वीचोकस्थित हङकङ बजार, सिद्धार्थचोकस्थित श्री कम्प्लेक्स र पोखराका ट्याक्सीमा मोबाइलबाटै भुक्तानी गर्न सकिने गरी यो सेवा विस्तार गरेको हो ।

हङकङ बजारका २ सय सटर, कम्प्लेक्सका ४० सटरमा क्यूआरबाटै भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।

Advertisement

पोखरेली ट्याक्सी सेवा प्रालिका १६ ट्याक्सीमा पनि डिजिटल भुक्तानी गर्न सकिने गरी शुक्रबारदेखि सेवा सुरु गरिएको बैंकका प्रदेश प्रबन्धक दिनेश दवाडीले जानकारी दिए ।

‘पहिलो चरण ट्याक्सी सेवा प्रालिका पदाधिकारीको ट्याक्सीमा क्यूआर प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाएका छौं । बाँकीमा पनि छिट्टै हुन्छ,’ उनले भने ।

Advertisement

अब हङकङ बजार, श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरि छिट्टै पोखरका ट्याक्सीचढ्ने यात्रुले नगदको सट्टामा क्यूआर कोडको प्रयोग गरी भाडा तिर्न सक्नेछन् ।

शुक्रबार आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले सर्वसाधारण पनि त्यही अनुसार अघि बढ्नुपर्ने बताए । मोबाइल साथमा भएपछि पैसा बोक्नुपर्ने झन्झट नहुने भन्दै उनले हरेक कारोबार डिजिटल माध्यमबाटै गर्न उपभोक्तालाई आग्रह गरे ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने अभियानलाई मूर्त रुप दिन आफूहरुले पनि सक्दो सहयोग गरिरहेको बताए ।

ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग पछिल्ला वर्षमा बढ्दै गएको छ ।

पोखरामा सुरु गरिएको क्यूआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानको सङ्ख्या ९ हजार पुगेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया