हिउँद सकियो, परेन हिउँ

समाधान संवाददाता २०७७ फागुन १५ गते ७:१४

मौसममा हिउँ नपरेपछि मुस्ताङका हिमशृखंला कालापत्थर जस्ता देखिएका छन् ।

एसके थकाली, जोमसोम

हिमालमा हिउँ पर्नु अस्वभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला मुस्ताङमा हिउँ पथ्र्याे । तर, यो वर्षको हिउँदमा पुरानो क्रम भंग भएको छ ।

Advertisement

अक्सर पुस र माघ महिनामा मुस्ताङमा ४/५ पटक बाक्लो हिउँ पथ्र्यो । हिउँ परेपछि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका डाँडाकाँढा, खर्क र बेसी चाँदीझै हिउँले सेताम्मे हुन्थे । हिउँ पर्ने महिना सकिए पनि यसपालि मुस्ताङमा हिउँ पर्ने छेकछन्द छैन ।

हिमपातसँगै मुटु काम्ने ठिही यसपालि आएन । मुस्ताङमा विस्तारै गर्मी बढेको छ । हिउँदमा यहाँका तापक्रम माइनस २० डिग्रीसम्म झथ्र्याे ।

Advertisement

११ महिनासम्म कोरोनाबाट थलिएको मुस्ताङमा पर्यटकीय चहलपहल बढेको छ । हिउँ हेर्न र हिउँसग रमाउन सयौं आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ आउँथे ।

पछिल्लो समय हिउँद तथा वर्षा दिन बदलिन थालेका छन् । गर्मी हुने दिन बढ्न थालेका छन् । हावापानी तथा तापक्रममा आएको भिन्नताले जलवायु चक्रमा परिवर्तन ल्याएको छ ।

घरपझोङका ७० वर्षीय तेजबहादुर थकाली पुस र माघ महिनामा थेग्नै नसक्ने गरी हिउँ परेको सम्झन्छन् । उनी भन्छन्, ‘लेक, खर्क र बस्ती सबै हिउँले सेताम्मे हुन्थ्यो । खै किन हो, यो वर्ष हिउँको दर्शनसमेत गर्न पाइएन ।’

यसपालि तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा हिउँ परेन तर उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा भने एक÷दुई पटक आशिंक हिउँ प¥यो । धार्मिक परम्परा अनुसार मुस्ताङको लेते र ठिनी गाउँका स्थानीयले हिउँ पूजा गरे । मुस्ताङमा जलवायु परिवर्तनको प्रभावले हिउँ नपरेको स्थानीय महेन्द्र थकाली बताउँछन् ।

विश्वमै बढ्दै गएको हरितगृह ग्याँस उत्र्सजनका कारण मुस्ताङमा जलवायु परिवर्तन भएको अनुमान धेरैले गरेका छन् । यहाँ गएको दशकदेखि असमान प्रकारको हिमपात हुने गरेको छ ।

मौसममा हिउँ नपरेपछि मुस्ताङका हिमशृखंला कालापत्थर जस्ता देखिएका छन् । पूर्वको नीलगिरि हिमाल र पश्चिमको धौलागिरि सौन्र्दय विहीन बनेका छन् ।

हिउँ नपरेपछि कृषि र पर्यटन क्षेत्रमा असर पुगेको थासाङ १ टुकुचेका किसान राजन शेर्पाले बताए । यहाँका किसानका लागि हिउँ उपहार हो । हिउँदमा जमिनको सतह चिसो हुने र सो समय हिउँ पर्दा जमिनको भित्री तहसम्म चिसो पुग्ने भएकाले कृषकले लगाएको अन्नवाली सप्रन्छन् ।

हिउँले स्याउ, उवा, फापर लगायतका अन्नबाली सप्रिनुका साथै फलफूल तथा अन्नबालीमा लाग्ने विभिन्न रोगको प्रकोप नियन्त्रण गर्छ । अब गर्मी बढिसकेकाले अब हिउँ परे पनि फलफूल तथा अन्नबालीलाई खाँसै फाइदा नहुने स्याउ किसान सोजन हिराचन बताउँछन् ।

तपाईको प्रतिक्रिया