जनसभा भएन, कार्यकर्ता प्रशिक्षणमा आउँदै ओली

समाधान संवाददाता २०७७ फागुन १५ गते ७:००
KP Sharma Oli. Post/Photo: Anish Regmi

समाधान संवाददाता, पोखरा

नेकपा ओली पक्ष शुक्रबार पोखरामा मार्चपास गर्ने तयारीमा थियो । १५ फागुनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको समर्थनमा आयोजना हुनेजनसभाका लागि कार्यकर्ता तम्तयार थिए । त्यसैको वार्मअप स्वरुप मार्चपासको तयारी थियो ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै १३ फागुनको मोटरसाइकल र्‍याली, १४ को मार्चपास र १५ को आमसभा रद्द भए । पूर्वनिर्धारित र्‍याली र सभा नभए पनि ओली १७ फागुनमा पोखरा आउँदै छन् । उनी जनसभालाई सम्बोधन गर्न होइन, प्रतिनिधिसभा पुनःस्थापनासँगै निराश नेता, कार्यकर्तालाई ढाडस दिन पोखरा आउन लागेका हुन् ।

Advertisement

पोखरा सभागृहमा हुने प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री ओली आउन लागेको नेकपा (ओली पक्ष)का प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए । यो प्रशिक्षणमा प्रदेशका ११ जिल्लाबाट १ हजार २ सय हाराहारीमा कार्यकर्ता उपस्थिति हुने छन् ।

पार्टीप्रशिक्षण १७ गते सोमबार हुने भए पनि १ लाख मानिस उतार्ने दाबीसहित तयारी गरिरहेको जनसभा हुन नसकेकोमा कार्यकर्तामा भने निराशा देखिएको छ । कार्यकर्ता निराशा हुनु स्वाभाविक भएको तर पार्टी अध्यक्षको सम्बोधनले त्यो निराशा हट्ने गरी सम्बोधन गर्नुपर्ने एक कार्यकर्ता बताउँछन् ।

Advertisement

१७ फागुनमा हुने प्रशिक्षणमा प्रधानमन्त्री ओलीले के गर्नुपर्ला? ती कार्यकर्ता भन्छन्, ‘सूर्यचिह्न कता होला, निर्वाचन आयोगले कसलाई आधिकारिकता दिन्छ भन्ने द्विविधा छ । अध्यक्षज्यूले योयो कारणले मूल पार्टी हामी हौं भनेर स्पष्ट भन्नुपर्छ । नेता, कार्यकर्ता निशास हुने कुरा बोल्नु भएन ।’

१५ फागुनको आमसभाका लागि पार्टी इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा मूल व्यवस्थापन समिति, अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा जनपरिचालन समिति बनाइएको थियो । तर संसद पुनःस्थापनासँगै गुरुङद्वय र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी लगायत काठमाडौं गएका थिए ।

खगराज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार समिति र अन्य १२ वटा समिति र ती समिति अन्तर्गतका उपसमिति ‘जतिसक्दो धेरै जनता उतार्ने ध्येय’ साथ जुटेका थिए । आमसभा सफल बनाउन युवा, विद्यार्थी तथा खेलाडी परिचालन समिति संयोजकको जिम्मेवारी लिएका नेता राजीव पहारीले दाबी गरेका थिए,‘१ लाखजना उतार्छौं ।’

उनै पहारी भव्य तयारी गरेको कार्यक्रम राजनीतिक घटनाक्रमका कारण हुन नसके पनि प्रधानमन्त्रीमा रहेको आत्मविश्वासले आफूहरुमा काम गर्ने हौसला बढेको बताउँछन् ।

‘नेकपाका नेता, कार्यकर्ता त्यो कार्यक्रम नभएर दुःखी छैनौं । आमसभा हुन सकेन, पछि हुन्छ,’ प्रदेश सांसदसमेत रहेका पहारीले भने, ‘अध्यक्षज्यूसँग भेट पनि भयो । उहाँले वर्तमान परिस्थितिबारे प्रशिक्षणमा बताउँछु भन्नुभएको छ ।’

नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ, केन्द्रीय सदस्य राजीव पहारी लगायतले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेटेका थिए । पार्टी अध्यक्ष ओली विचलित नदेखिएको र अझै २ वर्ष ओली नेतृत्वकै सरकार रहने पहारीले दाबी गरे ।

विराटनगर, धनगढी र बुटवलमा गरिएको जनसभाभन्दा ओलीको गढ मानिने गण्डकीको जनसभामाधेरैको चासो थियो । तुलनात्मक रुपमा गण्डकी र लुम्बिनी प्रदेशमा ओली पक्ष बलियो रहेकाले यहाँ जतिसक्दो ठूलो जनसभा गर्न प्रदेशस्तरीय नेताहरुको जोड थियो ।

१ लाख १९ हजार मानिस आउने अनुमानसहित पार्टी प्रदेश कमिटीले ‘जिल्लागत सूची’ तयार पारेको थियो । सबैभन्दा धेरै कास्कीबाट ६० हजारलाई सहभागी गराउने योजना पार्टीले बनाएको थियो ।

स्याङ्जाबाट १५ हजार, तनहुँबाट १० हजार, बागलुङबाट ८ हजार, नवलपुरबाट ७ हजार, लमजुङ, गोरखा र पर्वतबाट ५/५ हजार, म्याग्दीबाट ३ हजार, मनाङ र मुस्ताङबाट ५/५ सय १५ फागुनको जनसभामा सहभागी हुनेअनुमान थियो ।

पार्टीका प्रदेश सचिव गोविन्दबहादुर नेपालीले१७ फागुनको प्रशिक्षणपछि जिल्लाजिल्लामा जनतासम्म पुग्ने गरी कार्यक्रम गर्ने सुनाए ।

‘कोहीले विजय मनाउने, कोहीले शोक मनाउने खालको फेरबदल त भएको होइन, तर घटनाक्रम परिवर्तन हुँदा पूर्वनिर्धारित कार्यक्रम हुन सकेन,’ नेपालीले भने, ‘पोखराको प्रशिक्षणपछि जिल्ला र पालिकास्तरमा कार्यक्रम गरेर जनसभाको रुपमा त्यसलाई अगाडि बढाउँछौं ।’

पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड नै बनाएको छ ।

पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् । त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

तपाईको प्रतिक्रिया